+
+

सुदूरपश्चिममा २५ हजार सुरक्षाकर्मीसहित ५० हजार जनशक्ति परिचालन

जनक विष्ट जनक विष्ट
२०७९ मंसिर ३ गते १२:०९

३ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेशमा आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी लगभग सकिएको छ ।

प्रदेशका ९ वटै जिल्लामा मतदानका लागि आवश्यक पर्ने सामाग्रीसहित कर्मचारी सम्बन्धीत मतदान केन्द्रमा पुगिसकेका छन् भने सुरक्षाकर्मी पनि सबै क्षेत्रमा पुगेका छन् ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले प्रदेशभरका दुई हजार १४६ मतदान केन्द्रमा निर्वाचन सामाग्रीसहित कर्मचारी पुगिसकेको जानकारी दिए ।

भट्टकाअनुसार मतदानका लागि सबै केन्द्रमा गरेर स्वयंमसेवक समेत गरेर करीब २५ हजार कर्मचारी खटाइएको छ ।

प्रदेश राजधानी समेत रहेको कैलालीका ६२९ मतदान केन्द्रमा मात्र पाँच हजार २१ जना कर्मचारी र दुई हजार ५०५ जना स्वयंम सेवक खटिएका छन् भने कञ्चनपुरमा दुई हजार ७७४ कर्मचारी र एक हजार ३८४ जना स्वयंमसेवक परिचालन गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

पहाडी जिल्लामा पनि कम्तीमा नौ सय देखि १७ सय जना सम्म कर्मचारी र स्वयंम सेवक परिचालन गरिएको छ । शुक्रबार नै सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका कर्मचारीहरुले शनिबार मतदान केन्द्रमा मतदानका लागि ठाउँ व्यवस्थापन गर्ने, सर्वदलीय बैठकहरु गरिरहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ सिटका लागि निर्वाचन भइरहेको हो । ९ वटै जिल्लामा १६ लाख ५८ हजार चार जना मतदाता रहेकोमा ८ लाख १५ हजार २१३ पुरुष, ८ लाख ४२ हजार ७७४ महिला र १८ जना अन्य छन् ।

प्रदेशमा २५ हजार सुरक्षाकर्मी

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयसहित बनाउदै शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुदूरपश्चिम प्रदेशमा करिब २५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भोलाबहादुर रावलले ११ हजार ५५९ म्यादी प्रहरीसहित प्रदेशभर सबै सुरक्षा निकायका करीब २५ हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

रावलकाअनुसार नेपाल प्रहरीतर्फ मात्र विभिन्न दर्जाका ६ हजार ४१० जना निर्वाचनका लागि खटिएका छन् भने सशस्त्र प्रहरी र नेपाली सेनाले पनि सोही हाराहारीमा जनशक्ति परिचालन गरेको छ ।

प्रदेशभरका एक हजार १६१ मतदान स्थल मध्ये सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गर्दै सोहीअनुसार सुरक्षा योजना बनाएर लागु गरिएको छ । प्रदेश प्रहरी कार्यालयकाअनुसार सुदूरपश्चिममा ४०५ मतदान स्थल समान्य, ४७४ संवेदनशील र ३५२ अति संवेदनशीलको सूचीमा छन् ।

८८ वटा स्थानीय तहमा १७७ मोबाइल टोली, २० वटा रिजर्व फोर्स र आवश्यकता परेमा प्रत्येक बुथमा पुग्ने गरी हवाई गस्तीको पनि व्यवस्था गरिएको एसएसपी रावलले बताए ।

सुरक्षा योजनाअनुसार पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना खटिनेछ । हवाई गस्ती भने नेपाली सेनालले गर्नेछ ।

सशस्त्र प्रहरीतर्फ ९ वटै जिल्लामा साढे पाँच हजार जना खटिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैजनाथ बाहिनीका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक (एसपी) रमेश शाहीले निर्वाचनका लागि प्रदेशभर तीन हजार ५३९ जना सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिए ।

उनले निर्वाचन सुरक्षा योजनाअनुसार सशस्त्र प्रहरीले दोस्रो घेरमा रहेर सुरक्षा दिने बताए । नेपाल प्रहरीमा जस्तै सशस्त्र प्रहरीले पनि मोबाइल टोली, रिजर्व फोर्स गरेर छुट्टाछुट्टै टोली खटाइएको जनाएको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?