+
+

के मतपेटिका साट्न सम्भव हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते १८:४९

३ मंसिर, काठमाडौं । निर्वाचनका क्रममा कतिपय दलका नेता तथा उम्मेदवारहरुले मतपेटिका साटिने गरेको आरोप लगाउँछन् । मतदाताहरुले समेत मतपेटिका साटिने हो कि भनी शंका गर्छन् ।

निर्वाचनको निष्पक्षता र स्वच्छतामा नै प्रश्न उठ्ने गरी हुने यो खालको टीकाटिप्पणीबारे हामीले निर्वाचन आयोगका अधिकारीहरुलाई सोधेका छौं ।

मतदान हुनुअघिदेखि मतगणनासम्म विभिन्न सुरक्षा र विश्वसनीयताका उपाय अपनाइने भन्दै निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यस्तो कल्पनासम्म पनि गर्न असम्भव हुने बताए । उनका अनुसार सबै संयन्त्र आफ्नो पक्षमा पारे पनि मतपेटिका साट्न र मत बदल्न सम्भव हुँदैन ।

उनले मतपेटिका साटिन्छ कि भनेर शंका गर्नुपूर्व मतपेटिका, त्यसको सुरक्षा र मतदान सुरु गर्नुअघिको कार्यविधि जान्नुपर्ने बताए । आयोगका उपसचिव समेत रहेका अर्यालका अनुसार मतपेटिकामा दुईथरी बिर्को हुन्छ । एउटा ठूलो बिर्को पूरै खोल्न मिल्छ भने अर्को बिर्कोभित्र सानो प्वाल हुन्छ, त्यहाँबाट मतदाताले आफूले छाप लगाएको मत खसाउन मिल्छ तर निकाल्न नमिल्ने गरी बनाइएको हुन्छ । ठूलो अर्थात् मुख्य बिर्कोमा चारवटा सिल लगाउन मिल्छ । मतपत्र घुसार्ने सानो प्वालको बिर्कोमा पनि अर्को सिल लगाउन मिल्छ ।

निर्वाचनसम्बन्धी कार्यविधि अनुसार मतदान गर्नुअघि सम्भव भएसम्म सबै दलका प्रतिनिधिहरुलाई साथमा राखेर मतदान अधिकृतले रित्तो मतपेटिका घोप्टो पार्छन्, ताकि मतपेटिकामा पहिले केही राखेको भए खसोस् र रित्तो भएको सुनिश्चित होस् । त्यसपछि बिर्को लगाइन्छ र बिर्कोमा चारवटा सिल लगाइन्छ ।

निर्वाचन आयोगले मतपेटिकामा लगाउने सिल प्लाष्टिकको हुन्छ । सिल लगाएर तानेपछि त्यो कसिन्छ तर फुस्काउन मिल्दैन । सिल तोड्नका लागि कैंचीले सिलको बाहिरको भाग काटेर तोड्नुपर्छ । हरेक सिलमा सिरियल नम्बर हुन्छ र कुनै पनि सिलको सिरियल नम्बर दोहोरिंदैन । दलका प्रतिनिधिले सिल लगाएपछि मुचुल्कामा हस्ताक्षर गर्नुपर्छ । त्यसक्रममा सिलको सिरियल नम्बर पनि मुचुल्कामा लेखिन्छ । उनीहरुले चाहेमा मुचुल्काको फोटो खिचेर लैजान पाउछन् ।

बिहान ७ बजेदेखि दिनभर मतदान हुँदा मतपेटिकाको मुख्य बिर्को सिलबन्दी गरिएको हुन्छ र माथिबाट पट्याएको मतपत्र खसाल्ने प्वाल मात्रै खुला हुन्छ, त्यहाँबाट मतपत्र निकाल्न मिल्दैन । बेलुकी ५ बजे मतदान सकिएपछि मतदान अधिकृतले सबै दलका प्रतिनिधिलाई बोलाउँछन् । उनीहरुको प्रत्यक्ष उपस्थितिमा मतदान अधिकृतले मतपेटिकाको बिर्कोमा रहेको मत खसाल्ने प्वालमा पनि अर्को सानो बिर्को लगाउछन् र सिलबन्दी गर्छन । मतपेटिका पूरै सिलबन्दी भएपछि त्यो सुरक्षाकर्मी र मतदान अधिकृतको जिम्मामा रहन्छ ।

मतदान केन्द्रदेखि निर्वाचन अधिकृतको कार्यालयमा गएर सिलबन्दी भएको मतपेटिका र मुचुल्का बुझाउँछन् । दलका प्रतिनिधिहरुले मतदान हुने ठाँउदेखि निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिका लैजाँदा धाँधली हुने, मतपेटिका साटिने आशंका गर्छन् ।

आयोगले सम्भव भएसम्म दलका प्रतिनिधिहरुलाई पनि मतपेटिकाका साथमा लैजाने व्यवस्था मिलाउनु भनेको हुन्छ । व्याहारिक रुपमा सम्भव नहुने र धेरै उम्मेदवार भएका ठाँउमा दलका प्रतिनिधिहरु मतपेटिका बोलेका सवारीसाधनसँगै अर्को सवारीसाधनमा बसेर आउने व्यवस्था हुन्छ । दुर्गममा समेत हेलिकप्टरबाट मतपेटिका ओसार्दा पनि आयोगले दलका प्रतिनिधिहरुलाई सम्भव भएसम्म साथमा लैजान निर्देशन दिएको छ ।

मतदान अधिकृतले निर्वाचन अधिकृतलाई मतपेटिका बुझाइसकेपछि तिनलाई एकैठाँउमा संकलन गर्छन् । मतपेटिका कुनै ठाँउमा भण्डारण गरेर रातभर राख्नुपरेमा कोठाका सबै झ्याल र प्वालहरु बन्द गरिन्छ अनि ढोका लगाएर सिलबन्दी गर्ने चलन हुन्छ । त्यसमा पनि विश्वास नगर्ने पक्षको प्रतिनिधिलाई ढोकाबाहिर सुरक्षाकर्मीको छेवैमा बस्ने वा सुत्ने व्यवस्था गरिदिने चलन छ ।

सबैतिरबाट मतपेटिका संकलन भएपछि मात्रै मतगणनाको काम सुरु हुन्छ । त्यसक्रममा मतपेटिकाको बिर्कोको सिल तोडनुअघि सुरुको मुचुल्कामा लेखेको नम्बर र सिलमा रहेको सिरियल नम्बर रुजु गरिन्छ । त्यसपछि दलका प्रतिनिधिहरुको रोहवरमा मतपेटिकाबाट मतपत्र निकालेर गणनाको काम सुरु हुन्छ । विश्वसनीयता र गोपनीयताका लागि प्रायः दुईभन्दा बढी मतदान स्थलका मतपत्र मिसाएर गन्ने चलन हुन्छ ।

मतपत्रमा अन्य सुरक्षा फिचर र मतदान अधिकृतको दस्तखतका कारण पनि मतपेटिका साटिन सम्भव नहुने उपसचिव अर्याल बताउँछन् । मतपत्रको बीचमा विशेष सुरक्षा संकेत राखिएको हुन्छ, जुन निर्वाचन आयोगका दुई अधिकारीहरु बाहेक तेस्रो व्यक्तिलाई समेत थाहा हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?