+
+
एक्जिट पोल ३ :

घण्टी मैदानमा नहुँदा गगन धेरै अगाडि

सर्वेक्षणमा सहभागीमध्ये ३९.२ प्रतिशत मतदाताले सत्तारुढ गठबन्धनबाट उम्मेदवार थापालाई मत दिएको बताएका छन् । एमाले उम्मेदवार राजन भट्टराईलाई भने १५.७ प्रतिशतले मात्र मत दिएको बताएका छन् ।

अनलाइनखबर टिम अनलाइनखबर टिम
२०७९ मंसिर ४ गते २०:२९

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं–४ बाट जित्ने संभावना बढी देखिएको छ । मतदाताहरुसँग अनलाइनखबरले गरेको सर्वेक्षण अनुसार, नेकपा एमालेका डा.राजन भट्टराई भन्दा गगन थापा धेरैले अगाडि छन् ।

सर्वेक्षणमा सहभागीमध्ये ३९.२ प्रतिशत मतदाताले सत्तारुढ गठबन्धनबाट उम्मेदवार थापालाई मत दिएको बताएका छन् । एमाले उम्मेदवार भट्टराईलाई भने १५.७ प्रतिशतले मात्र मत दिएको बताएका छन् ।

१९.६ प्रतिशतले कसलाई मत दिएको भन्ने खुलाउन चाहेनन् । यदि यो सबै मत राजनलाई जाने हो भने पनि गगनले नै जित्ने छन् । किनकी भट्टराईलाई मत दिए भन्ने र खुलाउन नचाहनेको संख्या जोड्दा ३५.३ प्रतिशत मात्रै पुग्छ ।

सर्वेक्षणका क्रममा १८.८ प्रतिशतले भने अन्य उमेदवारमा मत दिएको बताएका छन् । त्यसमध्ये ५.९ प्रतिशतले राप्रपालाई मत दिएको बताएका छन् । यो क्षेत्रमा राप्रपाबाट सशस्त्र प्रहरी बलका पूर्व एआईडी ठाकुरमोहन श्रेष्ठ उम्मेदवार छन् ।

यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाका वडा नम्बर १, ७, ८ र ३०, बुढानीलकण्ठ नगरपालिकाको वडा नं ३ देखि ७ सम्मका बाहेकका वडा पर्छन् । यी क्षेत्रको प्रतिनिधित्व हुने गरी गरिएको सर्वेक्षणले देखाएको नतिजा पुष्टि हुँदा गगन थापाले ‘ह्याट्रिक’ जित निकाल्ने छन् । २०६४ मा समानुपातिक तर्फबाट सांसद बनेका थापाले २०७० र ०७४ को चुनाव जितेका थिए ।

यसपटक थापाले पाउने मतको ७७ प्रतिशत कांग्रेसका परम्परागत मतदाता छन् । उनीहरुले अघिल्लो निर्वाचनमा पनि कांग्रेसलाई नै मत दिएको बताएका छन् । यसका अतिरिक्त उनले एमालेकै पनि यसपटक मत पाउने देखिन्छ ।

यसअघिको चुनावमा एमालेलाई मत हालेका ११ प्रतिशतले यो पटक गगनलाई मत दिएको बताए । यसबाहेक राप्रपाका ३ प्रतिशत, माओवादी केन्द्रका २ र विवेकशील साझा पार्टी पृष्ठभूमिका १ प्रतिशत मतदाताले गगनलाई मत दिएका छन् । जबकी उनका प्रतिस्पर्धी एमाले उम्मेदवार राजनले यसअघि एमालेलाई दिनेहरुको ४८ प्रतिशत मत मात्रै जोगाउन सकेका छन् । बाँकी मतदाताले यसपटक राजनलाई मत नदिएको बताएका छन् ।

गगनले मत पाउनुको चार कारण

सर्वेक्षणका क्रममा मतदाताहरुले गरेको तर्क अनुसार, गगन थापाले धेरै मत पाउनुमा चार कारण देखिएको छ ।

पहिलो कारण, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार नहुनु हो । घण्टी चिह्न मैदानमा नहुनुको लाभ राजनले भन्दा गगनले धेरै उठाएका छन् । काठमाडौं–४ बाट घण्टी चिह्न लिएर अरुण श्रेष्ठले २३ असोजमा उम्मेदवारी दर्ता गराएका थिए, तर श्रेष्ठले तयारी नपुगेको भन्दै २६ असोजमा उम्मेदवारी फिर्ता लिए ।

उम्मेदवारी फिर्ता लिने क्रममा गगन थापा संसदमा चाहिने तर्क अरुणले गरेका थिए । श्रेष्ठको त्यही सार्वजनिक तर्ककै कारण धेरै मतदाताले गगन थापालाई मत दिएको बताएका छन् । उनीहरुले समानुपातिकतर्फ मत भने घण्टीमै मत हालेका छन् ।

गगनलाई मत दिनेहरुमध्ये धेरै युवा देखिनुले पनि घण्टीको उम्मेदवार त्यहाँ नहुँदाको लाभ उठाएको अनुमान गर्न सकिन्छ । गगनलाई मत दिएको बताउनेमध्ये ४४ प्रतिशत मतदाता उनकै उमेर समूह अर्थात् ५५ वर्षमुनिका छन् ।

दोस्रो, एमाले विभाजनको असर हो । ०७४ को चुनावमा काठमाडौं–४ बाट गगन थापाले जित्दा प्रदेशसभाको (२) केन्द्रबाट तत्कालीन एमालेका कुसुमकुमार कार्कीले जितेका थिए । २ भदौ २०७८ मा एमाले विभाजन हुँदा कार्की नेकपा एकीकृत समाजवादीतिर लागे । उनी अहिले पनि प्रदेशसभा (२) मा उम्मेदवार छन् ।

बुढानीलकण्ठ नगरपलिका क्षेत्रमा पर्ने यो केन्द्रमा कार्कीलाई उम्मेदवार बनाउनुको मत गगनले पाएका छन् । पूर्व गाविस उपाध्यक्ष, अध्यक्ष हुँदै प्रदेशसभा सदस्य जितेका कार्कीको बुढानिलकण्ठ क्षेत्रमा राम्रै प्रभाव छ । ‘कुसु’ नामले चिनिने कार्कीकै कारणले अघिल्लो चुनावमा एमालेलाई मत दिएकाहरुले यसपटक गगनलाई मत दिएको बताएका छन् ।

बुढानीलकण्ठ–१० का एक स्थानीयका अनुसार, कांग्रेस र एकीकृत समाजवादीबीच मत ट्रान्सफर गराउन स्थानीय नेताहरुले ठूलै मेहनत गरेका थिए । बुढानीलकण्ठमा एमाले बलियो रहेकाले गगन थापाले पनि यो क्षेत्रलाई प्राथमिकतामा राखेका थिए ।

गगनले धेरै मत पाउनुको तेस्रो कारण भने प्रधानमन्त्री कार्ड हो । यसअघि दुई पटक सांसद जित्दा गगनले राम्रो काम गरेकाले भन्दा पनि देशकै प्रधानमन्त्री बन्ने संभावना भएकाले मत दिएको धेरै मतदाताले बताएका छन् । उम्मेदवारी दिएदेखि नै उनले सांसद जितेपछि कांग्रेस संसदीय दलको नेताको चुनाव लड्ने बताउँदै आएका छन् । प्रधानमन्त्रीकै रुपमा आफूलाई अगाडि बढाउने क्रममा गगनले यसअघिबाटै विभिन्न गतिविधि गर्दै आएका थिए ।

६० विज्ञ राखेर ३१ विधामा प्रोजेक्ट गभर्नमेन्टको काम गरेका गगनले चुनावी प्रचारको मुख्य एजेण्डा नै प्रधानमन्त्री बनाएका थिए । त्यसका लागि गगनले ‘मिसन पीएम’ नामको फेसबुक, टिकट लगायत सामाजिक सञ्जाल सञ्चालनमा ल्याएका थिए । आइतबार पनि मतदानपछि भनेका थिए, ‘सांसद भएपछि भोलिपल्टबाट संसदीय दलको निर्वाचनको तयारी गर्ने हो, संसदीय दलको निर्वाचन जित्ने हो र ड्राइभिङ सिटमा बसेर देश हाँक्ने मेरो संकल्प हो ।’

निर्वाचनमा त्यसको प्रभाव प्रष्ट देखिएको छ ।

चौथो कारण, एमालेप्रतिको असन्तुष्टि हो । ०७४ को चुनावबाट झण्डै दुई तिहाइ नजिकको बहुमत पाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान विरोधी काम गरेको उनीहरुको आरोप छ । सरकार सञ्चालनका क्रममा जनताको भावना विपरीत ओलीले अहम् देखाएकाले पार्टी नै बदल्न परेको कतिपय मतदाताले तर्क गरेका छन् ।

आकर्षण होइन, विकल्प

दुईपटक यो क्षेत्रबाट चुनाव जितिसकेका गगन थापाप्रति पनि मतदाता खुशी चाहिँ देखिएका छैनन् । केन्द्रीय राजनीतिमा जस्तो भूमिका भएपनि मतदाताको समस्यामा राजन बढी घुलमिल हुने गरेको उनीहरुमा गुनासो छ । विशेषगरी बुढानिलकण्ठ नगरपालिकाका क्षेत्रका मतदातामा यस्तो गुनासो धेरै छ ।

सधैं कांग्रेसलाई भोट दिने बताउने एक मतदाताले त कोरोनामा मास्क लिएर आएको बाहेक गगन थापालाई आफ्नो टोलमा कहिल्यै नदेखेको प्रतिक्रिया दिएका छन् । यो क्षेत्रमा एमाले मात्रै नभएर राजनप्रति समेत रुझान देखिन्छ । अन्य जिल्लाहरुबाट आएर बसोबास गर्नेहरुको बाहुल्य रहेको यो क्षेत्रमा तुलनात्मक गगन थापाको मत कम आउने संभावना समेत छ ।

तथ्याङ्कले पनि त्यही देखाएको छ । यसअघि गगनलाई मत दिएकामध्ये ३ प्रतिशतले यसपटक अरुलाई नै मत दिएको बताए । गगनलाई यसपटक मत नदिएका १२ प्रतिशतले कसलाई मत दिए भन्ने खुलाउन चाहेनन् भने ४ प्रतिशतले राप्रपालाई मत दिए । एक प्रतिशत मतदाताले भने ‘नो भोट’ गरेको बताएका छन् ।

समानुपातिकमा घण्टी र राप्रपा

समानुपातिकतर्फ भने काठमाडौं–४ मा यसपटक रािष्ट्रय स्वतन्त्र पार्टीले राम्रै मत पाउने देखिएको छ । सर्वेक्षणको नतिजा अनुसार, कांग्रेस र रास्वपाले हाराहारीको मत पाउनेछन् ।

भर्खरै खुलेको रास्वपाको घण्टीमा कांग्रेससँग बराबर १९.६ प्रतिशत मतदाताले मत दिएको बताएका छन् । तेस्रो धेरै मत राप्रपाले पाउने देखिन्छ । मत सर्वेक्षणमा सहभागी भएकामध्ये १७.६ प्रतिशतले समानुपातिकमा राप्रपालाई मत दिएको बताएका छन् । यसपछि मात्रै एमाले छ । एमालेको सूर्य चिह्नमा १४.१ प्रतिशतले मत हालेको बताएका छन् ।

अन्यमा १३.३ छन् भने माओवादी केन्द्रले १.६ प्रतिशतले मत हालेको बताएका छन् । खुलाउन नचाहेनको संख्या १४.१ प्रतिशत छ । सर्वेक्षणमा सहभागीमध्ये ११.८ प्रतिशतले मात्रै पहिलोपटक मत हालेको बताएका छन् । यसको अर्थ यो चुनावमा काठमाडौं–४ पुरानै मतदाताले समानुपातिकतर्फ मत बदलेका छन् भने प्रत्यक्षतर्फ अघिल्लो नतिजालाई निरन्तरता दिएका छन् ।

सइन्द्र राई, रवीन्द्र घिमिरे, रघुनाथ बजगाईं, पुष्पराज चौलागाईं, नवीन ढुंगाना, सुमित्रा लुइँटेल र शाश्वत पन्तको रिपोर्टिङ

तस्वीर : विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?