+
+
ललितपुर २ :

विकल्प खोज्ने मतदाता घण्टी र लौरोमा बाँडिदा एमालेलाई सहज

दिपेश शाही दिपेश शाही
२०७९ मंसिर ५ गते २०:४६

५ मंसिर, काठमाडौं । नेकपा एमालेले ललितपुर-२ लाई यसपटक करिब आश मारिसकेको थियो । कारण थियो, अघिल्लो पटक पार्टीबाट विजयी भएका सांसद कृष्णलाल महर्जन एकीकृत समाजवादीमा लाग्नु र उनी सत्ता गठबन्धनका तर्फबाट अहिले पुनः उम्मेदवार बन्नु । त्यसका साथै घण्टी र लौरो चुनाव चिह्न भएका नयाँ राजनीतिक दलले नयाँ मतदाताको मत खाँदा यो क्षेत्र जित्न सहज नभएको एमाले नेताहरुले स्वीकार गरेका थिए ।

तर मतगणनाको परिणामले एमालेलाई उत्साहित बनाएको छ । ललितपुरको महालक्ष्मी नगरपालिकाका एमाले ईन्चार्ज राजकुमार सिलवाल संगठनको बलमा बलियो मत आउँछ भन्ने विश्वासमा भए पनि जित हुन्छ भन्नेमा विश्वस्त हुन नसकेको स्वीकार गर्छन् । तर कुल ८१ हजारमध्ये खसेको ५१ हजार मतको आधाभन्दा बढी मतगणना सकिसक्दा उनी उत्साहित देखिएका छन् ।

‘हाम्रो मत काटिन सक्ने सम्भावना भएका स्थानको मत गणना चलिरहँदा हामी ठूलो मतले अगाडि छौं । अन्य चारवटा दलका उम्मेदवार करिब बराबरीमा प्रतिस्पर्धा गरिरहेका छन्,’ उनले भने, ‘यसपछि रिङरोडभन्दा भित्रको हामी संगठनका हिसाबले बलियो भएको क्षेत्रमा गन्दा अन्य तीनमध्ये दुईजना प्रतिस्पर्धी सँगै आउने देखिन्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीको लहर भएको र हाम्रो नेपाली पार्टीका उम्मेदवारको पनि प्रभाव रहेका कारण रिङरोड भित्रका क्षेत्रमा भने मतगणना हुँदा उनीहरु प्रतिस्पर्धामा आउनसक्ने बताए ।

सार्वजनिक भएको मत परिणामअनुसार एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनको अग्रता सुरूदेखि नै कायम छ । उनलाई लौरो चुनाव चिह्न भएका हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले पछ्याइरहेका छन् । त्यसपछि गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार तथा निवर्तमान सांसद कृष्णलाल महर्जन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बुद्धरत्न महर्जन थोरै मतान्तरले अघिपछि छन् । त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवर राज थापाले पछ्याइरहेका छन् ।

यो समाचार तयार पार्दासम्म एमालेका प्रेमबहादुरले ७,६७८ ले अग्रता लिइरहँदा हाम्रो नेपाली पार्टीका सुदिनले ६,७०० मत पाएका छन् । त्यसपछि एकीकृत समाजवादीका उम्मेदवार कृष्णलालले ४,८२८ मत, रास्वपाका बुद्धरत्न ४,६६२ र राप्रपाका रघुवरले ३,८३४ मत प्राप्त गरेका छन् ।

अर्थात पुराना राजनीतिक दलहरूसँग बिच्किएको मत यसपटक नयाँ दलका उम्मेदवारसँग आकर्षित भएको स्पष्ट छ । त्यसपछि कांग्रेसको मत गठबन्धनका उम्मेदवार महर्जनको साटो उनीहरुतिर गएको छ । तर त्यो मत रास्वपा, हाम्रो नेपाली र राप्रपातिर बाँडिदा एमालेलाई सहज भएको छ ।

एमाले उम्मेदवार प्रेमबहादुर आफूले अपेक्षा गरेको क्षेत्रमा अझै मतगणना हुन बाँकी रहेकाले जित निश्चित रहेको बताउँछन् । आफू नयाँ अनुहार भएको र संगठनको मत एकाकार भएर खसेकाले उनको बुझाइ छ ।

‘जितिन्छ भन्ने त सबैलाई लाग्छ । तर जित्न पनि उत्तिकै गाह्रो हुन्छ । बलियो संगठन र म चुनावका लागि नयाँ अनुहार भएको हुनाले पनि मत पाएको हुँ भन्ने लागेको छ,’ उनले अनलाइनखबरसँग भने, ‘जनताले नयाँ अनुहार खोजेका छन् भन्ने त मसँग कसको प्रतिस्पर्धा भइरहेको छ भन्ने हेर्दा पनि थाहा हुन्छ । यससँगै गठबन्धनको अवस्था कस्तो छ भन्ने पनि यसले देखाउँछ ।’

उनले गठबन्धन दलहरूबीच इमान्दार सहकार्य हुन नसक्नु र नयाँ दलका उम्मेदवार बाँडिनुले पनि आफूलाई सहज भएको स्वीकार गरे ।

आ-आफ्ना क्षेत्रमा प्रतिस्पर्धा, एमाले सबैतिर उस्तै

यो मतपरिणाम सार्वजनिक हुनेबेलासम्म ललितपुर निर्वाचन क्षेत्र नम्बर २ को मत गणना करिब आधाभन्दा बढी सकिएको छ ।

यतिबेलासम्म एमालेका उम्मेदवार प्रेमबहादुरले मत बढाउन सक्ने क्षेत्रमा अझैं मत गणना भइसकेको छैन । हालसम्म राप्रपा, रास्वपा र एकीकृत समाजवादीका उम्मेदवारले मत प्राप्त गर्नसक्ने सम्भावित क्षेत्रको मत गणना सकिसकेको छ । यसपछि एमाले र हाम्रो नेपाली पार्टीका उम्मेदवारको प्रभाव क्षेत्र आउने छ । जहाँ दुई पक्षबीच चर्को प्रतिस्पर्धा हुने देखिन्छ ।

एमालेको पार्टी संगठन बलियो छ भने हाम्रो नेपाल पार्टीका शाक्यको व्यक्तिगत मत आउने सम्भावना छ । शाक्य यो क्षेत्रमा लामो समयदेखि दन्त चिकित्सकका रूपमा सेवा गरेको क्षेत्र हो । त्यस्तै यही क्षेत्रमा एमाले उम्मेदवारको पनि बसोबास भएको क्षेत्र हो । यसका साथै सहरी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मत प्राप्त गरिरहेको हुँदा उनलाई पनि केही मत परेको हुनसक्छ ।

यसभन्दा अघि बिहान पहिलोपटक सार्वजनिक भएको मत परिणामअनुसार ४ हजार ७८८ मतगणना हुँदा एमाले उम्मेदवार प्रेमबहादुरले १ हजार ३१७ मत ल्याएका थिए । उनलाई पछ्याउँदै सुदिनले १ हजार ९७ मतसहित पछ्याइरहेका थिए । त्यसपछि एकीकृत समाजवादीका उम्मेदवार कृष्णलालले ८७७ मत र रास्वपाका उम्मेदवार बुद्धरत्नले ७९० र राप्रपाका रघुवरले ६७६ मत ल्याएका थिए ।

यो नतिजा सार्वजनिक हुँदासम्म राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव रहेको क्षेत्रको मत गणना भइरहेको थियो । महालक्ष्मी नगरपालिका र ललितपुर महानगरका वडाहरूको मतगणना सँगसँगै भइरहेको हुँदा मत परिणाम मिश्रित आएको थियो ।

त्यसपछि दोस्रोपटक १० हजारभन्दा बढी मतगणना सकिएपछि सार्वजनिक भएको मतअनुसार पनि प्रेमबहादुरले २ हजार ९८० मत ल्याउँदा उनलाई पछ्याउँदै हाम्रो नेपाली पार्टीका उम्मेदवार सुदिनले २ हजार ४९७ मतसहित पछ्याइरहेका थिए । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्नले १ हजार ४९० मत र उनलाई पछ्याउँदै एकीकृत समाजवादीका उम्मेदवार कृष्णलालले १ हजार ४७७ मत ल्याएका थिए । राप्रपाका रघुवरले १ हजार ४२६ मत ल्याएका थिए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्नको बसोबास र व्यक्तिगत प्रभाव भएको क्षेत्र सानोगाउँ हो । यही क्षेत्रको मत गणना गर्दा उनले एकीकृत समाजवादी र राप्रपा उम्मेदवारलाई उछिनेका छन् ।

मध्यान्ह तेस्रो पटक २१ हजार मत गणना सकिएपछि सार्वजनिक भएको मतमा पनि मत परिणामको अनुपात यही छ । एमालेका प्रेमबहादुरले ५ हजार ७७८ ल्याउँदा उनलाई हाम्रो नेपाल पार्टीका सुदिनले ४६ सय मत ल्याएका थिए । त्यसपछि राप्रपाका रघुवरले ३ हजार ४३४ मत ल्याएका थिए । उनीपछि राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्नले ३ हजार २६२ मत ल्याएका थिए । गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार कृष्णलाल भने २ हजार ८२८ सय मतसहित पछाडि थिए ।

महालक्ष्मी नगरपालिकाका सानोगाउँ, टीकाथली, लुभु, इमाडोल, लाकुरी भञ्ज्याङ र सांगाथलीलगायत स्थान यो क्षेत्रमा पर्छन् । यीमध्ये इमाडोल राप्रपा उम्मेदवार रघुवरको बसोबास र व्यक्तिगत प्रभाव भएको क्षेत्र हो । यतिबेला भने थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई उछिनेका छन् ।

एमाले थप आशावादी

एमाले उम्मेदवार प्रेमबहादुरसँग निकटतम प्रतिस्पर्धामा हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले करिब ९ सय मतले पछ्याइरहेका छन् । तर यो क्षेत्रमा पुग्दा शाक्यको बसोबास र बढी प्रभाव हुनसक्ने सम्भावना भएको क्षेत्रको मत गणना सकिसकेको छ ।

उनले सबभन्दा बढी प्राप्त गरेको क्षेत्र नागबाल, धौगल, मंगलबजार, दरबार स्क्वायर र दहबाललगायत स्थानबाट हो । जहाँको मत गणना भइसकेका कारण उनले अन्य उम्मेदवारलाई धेरै पछाडि छाडेर एमाले उम्मेदवारसँग पछ्याइरहेका छन् ।

यसपछि अब अहिले मत गणना भइरहेको महानगरका ६, ७, ८, ९ र ११ नम्बर वडामा एामलेको राम्रो प्रभाव छ । उनको बसोबास रहेको र एमालेको संगठन समेत उक्त क्षेत्रमा बलियो रहेकाले अब प्रेमबहादुर महर्जलाई कम चुनौती रहेको मान्न सकिन्छ ।

उनी बस्ने गुइटोल, पिछे, सुवात, चपट र सक्वोलगायत क्षेत्रमा मतगणना हुनै बाँकी छ । आफ्नो बलियो क्षेत्रको मतगणना बाँकी रहनु र प्रतिस्पर्धीलाई धेरै मतले पछाडि छोड्नुले उनका लागि सुविधाजनक जितको सम्भावना रहेको देखिन्छ ।

कांग्रेसको मत गठबन्धनलाई होइन, नयाँ दललाई

गत वैशाखको स्थानीय निर्वाचनलाई हेर्दा यो क्षेत्रमा कांग्रेसले १९ हजार ८८२ मत प्राप्त गरेको थियो । यसपछि एमाले १५ हजार ७१० मत, माओवादी केन्द्रले ५ हजार ०२३, राप्रपाले ३ हजार ४९५, एकीकृत समाजवादीले, ३ हजार १९२ र स्वतन्त्रले १ हजार ४३१ मत प्राप्त गरेका थिए ।

यसअघि २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट एमालेका उम्मेदवार बनेका महर्जनले २७ हजार ७१३ मत ल्याएर कांग्रेसका उम्मेदवार चन्द्र महर्जनलाई पराजित गरेका थिए । उनले १६ हजार ९४५ मत प्राप्त गरेका थिए । त्यतिबेला चर्चामा रहेको विवेकशील साझा पार्टीले ५,४०८ मत, नयाँ शक्ति पार्टी नेपालले ९६३ र संघीय समाजवादी फोरमले ९६० मत प्राप्त गरेका थिए ।

यसपटकको स्थानीय तह निर्वाचन र ०७४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणाम हेर्दा कांग्रेस र एमाले करिब हाराहारीका शक्ति हुन् । त्यसैमा अघिल्लो संघीय निर्वाचन जितेका र उस्तै अर्को हाराहारीको शक्तिसँगै अन्य दलको पनि सहयोगमा चुनावी मैदानमा उत्रिएका कृष्णलाललाई यो पटक जित निकाल्न थप सहज हुनुपर्थ्यो । तर नतिजा उल्टो भएर आइदियो ।

बरु अघिल्लो पटक पनि नयाँ दलका उम्मेदवारले सम्मानजनक मत ल्याएकोमा यसपटक त्यो थप बढेर गएको देखियो । हाम्रो नेपाली पार्टीका शाक्य र राष्ट्रिय स्वतन्त्र पार्टीका महर्जनले प्राप्त गरेको मत त्यस्को अभिव्यक्ति भएको बुझ्न कठिन छैन । बरु अघिल्लोपटक एमाले हुँदा सहयोग गरेको माओवादीले यसपटक पनि एकीकृत समाजवादीलाई मत दिएको अनुमान गर्न सकिन्छ ।

कृष्णलालप्रति एमालेसँगै अन्य मतदाताको पनि असन्तुष्टि रहेको देखियो । जितको नजिक रहेका एमाले उम्मेदवार प्रेमबहादुरले भनेजस्तै पुराना नेतासँग कहीँ न कहीँ मतदाताको चित्त नबुझेकाले नै नयाँ दलका नयाँ अनुहारहरू गतिलो मतसहित चुनौती दिइरहेका छन् ।

गणनास्थलमा उत्साह

ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको कार्यालय बाहिर करिब दुई सयभन्दा बढीको भीड छ । सबैमा उत्साह र खुसी देखिन्छ । दिउँसो साढे ३ बजेसम्म चारपटक मतपरिणाम सार्वजनिक हुँदैगर्दा एमालेबाहेक अन्य दलका कार्यकर्ता मतगणनास्थल छाडेर बाहिरिसकेका छन् । मतगणना स्थल प्रवेश गरेका कुनै पार्टीका प्रतिनिधिहरू पनि बाहिर आइरहेका थिएनन् । एमालेका प्रतिनिधि किसन महर्जन भने घरि बाहिर र घरि भित्र गरिरहेका थिए ।

उनी भवनको ढोकाबाट बाहिर निस्किन नपाउँदै सबै गेटमा भेला भइसक्छन् । ‘जित निश्चित हो, मतान्तर कति भन्ने मात्रै बाँकी छ’, उनी छेवैको पसलमा पुगेर सबैलाई सुनाउँछन् । उनले कागजको टुक्रामा बोकेर ल्याएको मतपरिणाम देखाउँछन् । समान अनुपातमा अघि बढिरहेको मतपरिणामले एमाले कार्यकर्ताको संख्या मतगणनास्थल बाहिर थपिने क्रम बढिरहेको छ भने अरू बाहिरिने क्रम चलिरहेको छ ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?