+
+

गण्डकीको प्रदेशसभामा कुन दलले कति सिट जिते ?

विकास रोकामगर विकास रोकामगर
२०७९ मंसिर ८ गते १७:५०

८ मंसिर, पोखरा । गण्डकी प्रदेशसभातर्फ हालसम्म २७ ठाउँको नतिजा सार्वजनिक भएको छ । पछिल्लो नतिजाअनुसार नेपाली कांग्रेस १४ ठाउँमा चुनाव जित्दै पहिलो स्थानमा छ ।

६० सिट भएको गण्डकी प्रदेश सभामा प्रत्यक्षतर्फ ३६ सिट छन् । जसमध्ये ७ सिट जित्दै नेकपा एमाले दोस्रो स्थानमा छ । नेकपा माओवादी केन्द्रले ४ सिट जितेको छ । नेपाल समाजवादी पार्टी र स्वतन्त्रले १/१ ठाउँमा जितेका छन् ।

नेपाली कांग्रेसले मुस्ताङका दुवै क्षेत्रमा जित निकालेको छ । मनाङ प्रदेश (१) मा कांग्रेसकै मुनिन्द्रजंग गुरुङले जित निकाले भने प्रदेशसभा (२) तर्फ स्वतन्त्र उम्मेदवारी दिएका गण्डकीका खेलकुदमन्त्रीसमेत रहेका राजीव गुरुङ ‘दीपक मनाङे’ निर्विरोध निर्वाचित भएका थिए ।

गोरखामा नेपाल समाजवादी पार्टी र माओवादीले एक/एक क्षेत्र र कांग्रेसले २ क्षेत्रमा जित निकोलेको छ । त्यस्तै, लमजुङको २ निर्वाचन क्षेत्रमा पनि कांग्रेसले क्लिन स्वीप गरेको छ ।

तनहुँ क्षेत्र नम्बर २ (१) मा एमाले र (२) मा कांग्रेसले जित निकालेको छ । तनहुँ क्षेत्र नं. १ को अन्तिम नतिजा सार्वजनिक आइसकेको छैन । तर, पछिल्लो गणनाअनुसार प्रदेश क्षेत्र १ मा नेपाली कांग्रेस र २ मा नेकपा माओवादी केन्द्रको अग्रता छ ।

स्याङजा १ (१) मा एमालेले जित निकालेको छ भने प्रदेश तर्फ (२) को नतिजा आइसकेको छैन । तर, स्याङ्जाकै क्षेत्र नं. २ मा अझै मत गणना हुन सकेको छैन । स्याङ्जा चापाकोटका ४ वटा मतदान केन्द्रमा धाँधली भएको भन्दै पुनः मतदान गर्न नेकपा एमालेले माग गरेको छ । सत्तारुढ ५ दलीय गठबन्धनले बुथ कब्जा गरेर मृत्यु तथा विदेश भएकाको नाममा पनि भोट हालेको भन्दै एमालेले निर्वाचन आयोगमा उजुरी दिएको छ । आयोगले पुनः मतदान गर्ने वा मतगणना गर्ने निर्णय दिइसकेको छैन ।

प्रदेश सभातर्फ कास्कीमा ६ सिट छ । जसमध्ये ३ वटाको नतिजा आइसकेको छ । २ सिट एमाले र एक सिट कांग्रेसले जित निकालेको छ ।

नतिजाअनुसार कास्की क्षेत्र नं. २ (१) र कास्की १ (२) मा एमाले र कास्की २ (२) मा कांग्रेसले जित निकालेको छ । बाँकी मतगणना भइरहेको ३ वटा सिटमा समाचार तयार पार्दासम्म एउटामा कांग्रेस र २ वटामा नेकपा एमालेको अग्रता छ ।

म्याग्दीबाट प्रदेश सभा १ र २ दुवैमा माओवादीले जित निकालेको छ । बागलुङमा रहेको ४ प्रदेश सिटमा सबैमा कांग्रेसले जित निकालेको छ ।

०७४ को निर्वाचनमा बाम गठबन्धन गरेर एमाले र नेकपा माओवादीले प्रदेश सभामा बहुमत ल्याएका थिए । तत्कालीन समयमा प्रदेश सभामा एमालेले समानुपातिकसहित २७ र माओवादीले १२ सिट जितेको थियो ।

पछि त्यही बामगठबन्धन एकीकृत भएर नेकपा बनेपछि प्रदेश सभामा एकछत्र राज चल्यो । प्रदेश सभामा नेकपाको ४० सिट बन्यो । त्यसको नेतृत्व लमजुङबाट चुनाव जितेका पृथ्वीसुब्बा गुरुङले गरे ।

मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका राजीव गुरुङ ‘दीपक मनाङे’ को साथ पाएपछि प्रदेश सरकारमा तत्कालीन नेकपाको दुई तिहाई बन्यो । तर, प्रतिनिधिसभा विघटनपछि पार्टी विघटन र सत्ता रस्साकस्सी हुँदा पृथ्वीसुब्बा नेतृत्वको प्रदेश सरकारबाट एमाले बाहिरिनु पर्‍यो ।

सत्ता साझेदारी नेकपा माओवादी प्रमुख प्रतिपक्षी दलको भूमिका पाएको कांग्रेसलाई साथ दियो । कांग्रेसले प्रदेश सभामा समानुपातिकसहित १५ सिट जितेको थियो । राष्ट्रिय जनमोर्चाले समानुपातिकसहित ३ र तत्कालीन नयाँ शक्ति पार्टीबाट प्रदेश सभामा २ सांसद थिए ।

०७४ मा माओवादीसँग मिलेर बाम गठबन्धन गरेको एमालेले प्रत्यक्षतर्फ १७, नेकपा माओवादीले ९, नेपाली कांग्रेसले ६, जनमोर्चाको २, तत्कालनी नयाँशक्ति र स्वतन्त्रको १/१ सिट थियो ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?