+
+

चितवनबाट पूर्वअर्थमन्त्री र अर्थशास्त्रीलाई पन्छाएका हरि

सुवास पण्डित सुवास पण्डित
२०७९ मंसिर ८ गते १९:११

८ मंसिर, चितवन । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति गरेका हरि ढकालले कहिल्यै पनि सोचेका थिएनन् होला, एमाले नेता सुरेन्द्र पाण्डे विरुद्धमा निर्वाचन लड्छु र जित्छु भन्ने कुरा । न त पाण्डेले नै सोचेका थिए । तर राजनीतिमा यी सबै कुरा हुँदो रहेछ भन्ने दृष्टान्त बनेका छन् ढकाल र पाण्डे ।

२०७० र २०७४ सालको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका सुरेन्द्र पाण्डेलाई जिताउन उनै ढकाल चुनावमा खट्ने गर्थे कार्यकर्ताका रुपमा । तर यसपटक उनी प्रतिस्पर्धीका रुपमा मात्रै आएनन् नतिजा नै आफ्नो हातमा पारे । २०४० सालमा जन्मिएका ३९ वर्षीय ढकालका लागि यो जित आफैंका लागि अपत्यारिलो छ । चितवनको राजनीतिमा जमेका सुरेन्द्र पाण्डेलाई तेस्रो जित निकाल्न रोकेका ढकालले सत्तारुढ गठबन्धनको समर्थन पाएका नेपाली कांग्रेसका उम्मेदवार डा. विश्वनाथ पौडेललाई पहिलो जित निकाल्न पनि दिएनन् ।

निर्वाचनअघिसम्म सुरेन्द्र पाण्डेको विकल्प डा. विश्व हुन सक्ने तर हरि ढकाल हुन नसक्ने आँकलनलाई गलत सावित गरिदियो चितवन-१ को चुनावी नतिजाले ।

पाण्डे र पौडेल दुवै नेताले पूर्वी चितवनको विकासका लागि आफूहरुले काम गरेकाले जनताले यसपटक अनुमोदन गर्ने बताउँदै आएका थिए । आ-आफ्नो पहलमा विकास योजना र कार्यक्रम ल्याएको भनेर जनताका बीचमा लैजान दुवै नेता हरसम्भव प्रयास गरे पनि जनता त्यसमा कन्भिन्स भएको देखिएन ।

जनताले नयाँ अनुहार खोजे । र, त्यस्तो पात्रको रुपमा ढकाललाई जनमतसहित विश्वास सुम्पिए । ढकालको जितमा रवि लामिछानेको चितवन-२ को उम्मेदवारी प्रमुख कारण छ । लामिछानेले चितवन-२ बाट उम्मेवारी नदिएको भए ढकालका पक्षमा यतिको माहोल बन्न सक्ने थिएन ।

ढकाललाई मत दिनु भनेको रवि लामिछानेलाई मत दिनु हो भन्ने आमबुझाइ चितवन-१ मा पनि देखियो । ढकालले चुनाव नै जित्लान् भन्ने आँकलन भने गठबन्धनका उम्मेदवार डा. पौडेल र एमालेका सुरेन्द्र पाण्डेले गरेका थिएनन् । केही मत ढकालले काट्ने तर जित भने आफ्नै हुनेमा दुवै उम्मेदवार ढुक्क थिए । तर नपत्याउने खोलाले बगाउँछ भने जस्तै उनै ढकाल पाण्डे र पौडेलका लागि भारी परे ।

टिकौली जंगल पूर्व र मकवानपुरको सीमा क्षेत्र लोथर खोलाबाट पश्चिमसम्म ठूलो क्षेत्र चितवन निर्वाचन क्षेत्र नम्बर १ मा पर्दछ । यहाँ सबैभन्दा धेरै ४१ वडा छन् । ठूलो भूगोल र धेरै मतदाता भएको ठाउँमा भरखरै राजनीतिमा आएको युवाले चुनाव जितेर एमालेलाई मात्रै चकित पारेका छैनन् पाँच दलीय गठबन्धनका उम्मेदवार डा. विश्व पौडेल पनि पनि अचम्मित छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका हरि ढकाल ३४ हजार १८९ मत ल्याएर विजयी बने ।

नेकपा एमालेका सुरेन्द्र पाण्डेलाई ७ हजार ५८१ मतान्तरले ढकालले जित निकाले । पाण्डेले २६ हजार ६०८ र नेपाली कांग्रेसका डा. विश्वनाथ पौडेलले २४ हजार ९९० ल्याएका थिए । राप्रपाका माधव भट्टराईले २ हजार ७४८ मत प्राप्त गरेका छन् ।

९५ हजार ४१ मत गणना भएकोमा ९१ हजार ४२० मत सदर र ३ हजार ६१२ मत बदर भयो ।

को हुन् ढकाल ?

पूर्वी चितवनको रत्ननगर-१५ पिठुवाका ढकालको पृष्ठभूमि एमाले हो । २०४० सालमा जन्मिएका उनी विद्यालय र शहीद स्मृति क्याम्पसमा पढ्दा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध भए । उनी अनेरास्ववियु चितवनको सचिव समेत बने ।

टाँडीमा कपडा पसल चलाएका उनी त्यहाँ असफल भएपछि काठमाडौं गएर सेयर बजारमा लगानी गरे । ठमेलमा क्याफे सञ्चालन गरे, गार्मेन्ट व्यवसायमा पनि आकर्षित थिए । उनी राजनीति छाडेर आध्यात्मिक मार्गमा समेत लागे केही समय । विभिन्न योग, ध्यान र तपस्याका विभिन्न कार्यक्रममा सक्रिय रहे ।

धेरैजसो काठमाडौं बस्ने ढकाल पेप्सीकोलामा बस्छन् । लामो कपाल पालेका ढकालले चुनावी अभियानका क्रममा मात्रै कपाल काटेका हुन् । लामो कपाल अनि दाह्री पालेर हिंड्ने ढकालको हक्की र विद्रोही व्यवहारकै कारण उनी बेलाबखत विवादमा समेत आउने पात्र हुन् ।

झण्डै १५ वर्ष जति सेयर कारोबारीका रूपमा सक्रिय भए । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारका बारेमा लिएको नीति चित्त नबुझेका कारणले उनले एमाले छाडेको बताउँदै आएका छन् । सेयर कारोबारी ढकाल लगानीकर्ता दबाब समूहका अध्यक्ष समेत भए ।

गत स्थानीय तहको निर्वाचनमा ढकाल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई जिताउने अभियानमा सक्रिय भएर लागे । त्यसपछि उनी आफू पनि राजनीतिमा आउने तयारीमा लागे । सुरुमा स्वतन्त्र उम्मेदवार भएर बालेनको चुनाव चिन्ह लौरो लिएर उठ्ने तयारीका साथ चितवन आएका ढकालको सम्पर्क राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भयो ।

उपयुक्त पात्रको खोजीमा रहेका लामिछानेले ढकाललाई उम्मेदवार बनाए । ढकालले मूलधार र अझै गठबन्धन समेत गरेर आएका दलहरुलाई पन्छाएर जित निकाले । दुई ठूला अर्थशास्त्रीहरुको मनमा घण्टी बजाउँदै ढकालले जित निकाल्न सफल भए । सुरेन्द्र पाण्डे र डा. विश्व पौडेलले गरेको पूर्वी चितवनको विकासमा ढकालले के कस्तो थप योगदान गर्न सक्छन् त्यो भविष्यले नै देखाउने छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?