+
+

सधैं हराउने कांग्रेसले जिताएका खगराज

डडेलधुरा (१) बाट प्रदेशसभा सदस्य निर्वाचित भट्टले बिहीबार साँझ अनलाइनखबरसँग भने, ‘मलाई त अझैं पनि चुनाव जितेको जस्तो लागेको छैन । चुनाव हार्दा हार्दा सपनामा जितेको हुँ कि बिपनामा भन्ने जस्तो पनि भएको छ ।’

रामकुमार डिसी रामकुमार डिसी
२०७९ मंसिर ८ गते २२:१३

७ मंसिर, काठमाडौं । पार्टी शान्ति प्रक्रियामा आएपछि लगातार चुनाव लडिरहेका नेकपा माओवादी केन्द्रका नेता खगराज भट्टले पहिलोपटक जित हात पारेका छन् । त्यो पनि सधैं आफूलाई हराउने नेपाली कांग्रेसकै साथ पाएर ।

डडेलधुरा (१) बाट प्रदेशसभा सदस्य निर्वाचित भट्टले बिहीबार साँझ अनलाइनखबरसँग भने, ‘मलाई त अझैं पनि चुनाव जितेको जस्तो लागेको छैन । चुनाव हार्दा हार्दा सपनामा जितेको हुँ कि बिपनामा भन्ने जस्तो पनि भएको छ ।’

भट्टले २०६४, २०७० र २०७४ मा कांग्रेस सभापति शेरबहादुर देउवासँग चुनाव हारेका थिए । माओवादीको देशव्यापी लहर चलेको ०६४ र वाम गठबन्धन भएको ०७४ को चुनावमा समेत भट्ट, देउवासँग हारे । तर माओवादी सुदूरपश्चिमको शीर्ष नेताहरुमध्ये एक भएकाले उनी सधैं उम्मेदवार भइरहे ।

यसपटक त्यही परिचित प्रतिद्वन्द्वी कांग्रेससँग माओवादी केन्द्रको गठबन्धन भयो । डडेलधुरा प्रधानमन्त्री देउवालाई जोड्नुपर्ने भएपछि भट्ट प्रदेशसभाको उम्मेदवार बनेर जिते ।

जितेपछि मन्थनतिर लागेको भट्ट बताउँछन् । ‘अहिलेसम्म विजेताहरु जित्दाखेरि कस्तो अवस्थामा जिते, जितेपछि सफल भएका मानिस कसरी सफल भए र असफल हुनेहरु कसरी भए भन्ने कुराको मन्थन गरिरहेको छु’, भट्टले भने ।

मुख्यमन्त्रीका आकांक्षी

प्रतिनिधिसभामा वहालवाला प्रधानमन्त्री देउवालाई डडेलधुरा छोड्दा भट्टसँग अरु कुनै क्षेत्र रोज्ने छुट थियो । किनकि लेखराज भट्ट एमालेतिर लागेपछि माओवादी केन्द्रमा खगराज नै शीर्ष नेता थिए । तर उनले डडेलधुरा छोडेनन्, प्रदेशसभाको उम्मेदवार बन्न तयार भए ।

त्यसको पछाडि मुख्यमन्त्री बन्ने सम्भावना उनीसँग हुनु हो । यसअघि पनि माओवादीकै त्रिलोचन भट्ट सुदूरपश्चिमका मुख्यमन्त्री भएका हुन् । खगराजले पनि मुख्यमन्त्री बन्ने सम्भावना भएकाले प्रदेशसभा रोज्न तयार भएको स्वीकारेका थिए । ‘मेरा केही सर्त छन्, त्यो छलफलमै छ’ त्यसबेला भट्टले भनेका थिए, ‘कांग्रेस र गठबन्धनले के रेस्पोन्स गर्छ, पार्टीले के प्रस्तावित गर्छ, हेर्नुपर्छ ।’

सार्वजनिक रुपमा भने भट्टले देउवालाई छोडेर प्रदेशसभामा झर्नुलाई परिस्थितिको उपज भन्ने गरेका छन् । बिहीबार पनि उनले भने, ‘गठबन्धन भएपछि स्वतः शेरबहादुर देउवाको प्रतिनिधिसभामा पहिलो हक लाग्ने कुरा भइहाल्यो ।’

चुनावको अन्तिम नतिजा आउनै बाँकी रहेकाले भट्ट मुख्यमन्त्री बन्नेबारे अनुमान लगाउन छिटो हुन्छ । प्रदेशसभातर्फ बिहीबारसम्म कांग्रेसले ६ सिट जितेको छ भने ४ सिटमा अग्रता छ । केही क्षेत्रमा मतगणना सुरु नै नभइसकेकाले त्यो संख्या बढ्न सक्छ । समानुपातिक समेत गरेर ५३ सदस्यीय प्रदेश सभामा १८ सिट हाराहारीको पार्टी बन्न सक्ने कांग्रेस नेताहरुको बुझाइ छ ।

माओवादी केन्द्रले ७ सिट जितेको छ । समानुपातिकमा चार सिटसम्म ल्याउने माओवादीको आँकलन छ । सत्ता साझेदार अर्को दल एकीकृत समाजवादीले २ सिट जितेको छ । र, सरकार बनाउन भने २७ सिट आवश्यक छ ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?