+
+
कास्कीको चुनावी परिदृश्यः :

गठबन्धन र कांग्रेसमा घात हुँदा एमालेलाई फाइदा

अमृत सुवेदी अमृत सुवेदी
२०७९ मंसिर ९ गते ०:२७
कास्कीमा गठबन्धनका उम्मेदवार क्रमशः किशोरदत्त बराल, श्रीनाथ बराल र रामजीप्रसाद बराल ।

७ मंसिर, पोखरा । पोखरा–१३, बाँझापाटनमा बिहीबार साँझ कांग्रेस कार्यकर्ताले आफ्नै नेताविरुद्ध नाराबाजी गरे । निर्वाचनमा अन्तर्घात गरेको भन्दै कास्की–३ टिकट लिन अन्तिम समयसम्म कसरतमा रहेका कांग्रेसका कास्की जिल्लाका पूर्व सभापति कृष्ण केसीविरुद्ध नाराबाजी गरेका हुन् ।

कास्की–३ मा कास्की कांग्रेसका सभापतिसमेत रहेका किशोरदत्त बराल उम्मेदवार छन् । एमाले उम्मेदवार मनबहादुर गुरुङसँग उनी दुई हजार मतान्तरले पछाडि छन् । कास्की–१ (१) मा एमाले उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’सँग गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार दीपक गुरुङ ‘माइला’ पराजित भइसकेका छन् ।

प्रदेश सभा २ मा पनि गठबन्धनका तर्फबाट माओवादी उम्मेदवारको हार हुने देखिएको छ । मुख्यमन्त्री बन्ने योजनासहित प्रदेश झरेका खगराज अधिकारी ठूलो मतान्तरसहित अगाडि छन् ।

चुनाव हारेपछि कांग्रेसका सोही क्षेत्रका सभापति यमबहादुर गुरुङले कांग्रेसकै अन्तर्घातका कारण चुनाव हारेको भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । उनले केसी लगायतको समूह कांग्रेसलाई नै हराउन लागेको भन्दै उनले विरोध गरिरहेका छन् ।

कास्की–१ मा मात्र होइन क्षेत्र नम्बर २ र ३ मा पनि कांग्रेसका मत गठबन्धनको पक्षमा नझरेको भन्दै चर्को असन्तुष्टि देखिएको छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी सबै पार्टीभित्र गठबन्धन अनुशासित नहुँदा हार बेहोर्नुपरेको चर्को आवाज उठिरहेको छ ।

कास्कीका मतदाताले राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी र राप्रपाको हलोको खोजी गर्दा गठबन्धनभित्र भने अनुशासन कायम नभएको, पार्टीभित्रैबाट घात प्रतिघात भएको भन्दै कांग्रेस, माओवादी, एकीकृत समाजवादीभित्र असन्तुष्टिका स्वरहरु सुनिएका छन् ।

०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादीको वाम गठबन्धन हुँदा कास्कीको ३ वटै संघीय क्षेत्रमा एमालेले जित निकालेको थियो । प्रदेश सभातर्फ नेपाली कांग्रेसबाट कास्की–२ (२) मा विन्दुकुमार थापा जिल्लामै चुनाव जित्ने एक जनामात्रै थिए । नेकपा माओवादीबाट कास्की–१ (१) दीपक कोइराला र कास्की–३ (२) मा रामजी बरालले जितेका थिए ।

यसपटक कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहित ५ दलीय गठबन्धन हुँदा अघिल्लो निर्वाचनमा भन्दा पनि कांग्रेसलाई बढी क्षति भएको छ । गत स्थानीय तह र अघिल्लो निर्वाचनमा प्राप्त मतको विश्लेषण गर्दा पनि गठबन्धनका उम्मेदवारले जित्ने हिसाबकिताब थियो ।

तर, प्रतिनिधि सभातिर कास्की–२ गुमाइसकेको छ भने बाँकी २ क्षेत्र पनि गुमाउने निश्चितजस्तै भइसकेको छ ।

अघिल्लो निर्वाचनमा जताततै कांग्रेसले हार व्यहोर्दा पनि कास्की–२ (२) मा जित निकालेका विन्दुकुमारले यसपटक पनि कठिन परिस्थितिका बाबजुद फेरि विजयी भएका छन् ।

कास्की–२ को (१) मा गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार विश्वप्रकाश लामिछानेलाई हराउँदै एमालेका भीम कार्की निर्वाचित भइसकेका छन् ।

कास्की–३ मा गण्डकीका अर्थमन्त्रीसमेत रहेका रामजी बराल ‘जीवन’को हार निश्चित देखिएको छ । एमालेका उम्मेदवार दामोदर वैरागी करिब ७ हजार मतान्तरले अगाडि छन् ।

कास्की–३ (१) मा माओवादी अध्यक्ष पुष्पकमल दाहालप्रचण्डका बालसखा दुर्गादत्त भण्डारीलाई हराउँदै एमाले उम्मेदवार गणेशमान गुरुङ विजयी भइसकेका छन् ।

कास्की–३ (२) तर्फ भने एमालेका उम्मेदवार राजीव पहारी र कांग्रेसका उम्मेदवार प्रकाश बरालबीच प्रतिस्पर्धा छ यो क्षेत्रमा भने यसै भन्ने अवस्था छैन ।

हारको कारण

स्थानीय तहको निर्वाचनमा पोखराको मेयरको टिकट एकीकृत समाजवादीका धनराज आचार्यले पाउँदा उपमेयरसहित सबै वडा अध्यक्ष कांग्रेसले राख्यो । कास्कीको मादी गाउँपालिकाबाहेक अरु पालिकामा गठबन्धन कायम रहन सकेन ।

माओवादीले मादीका २ वडाबाहेकमा सबैतिर हार व्यहोर्‍यो । प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचनमा भने कास्कीमा कांग्रेस र माओवादीले बराबर सिट पाए । माओवादीले कांग्रेसकै हैसियतमा सिट पाएपछि नेपाली कांग्रेसका नेता कार्यकर्ता रुष्ट थिए ।

कांग्रेसका उम्मेदवार नै नभएपछि कास्कीका विभिन्न क्षेत्रमा रुखको सट्टामा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टीमा मत हालेको परिणामले देखायो । मतदान स्थलहरुमा पुग्दा यसअघि कांग्रेसलाई भोट हाल्ने मतदाताको रोजाइ राप्रपाको हलोसमेत भएको देखियो ।

जहाँ कांग्रेसका उम्मेदवार थिए । त्यहाँ पार्टीभित्रैको अन्तर्घातका कारण चुनाव हारेको नेताहरुको विश्लेषण छ । यसअघि एमालेले धेरै मत पाएको ठाउँबाट यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले कम मत पाएको छ ।

भूगोल, पार्टी र जनमत नहेरी गरिएको उम्मेदवार चयनका कारण पनि क्षति भएको कास्की कांग्रेसका सचिव देवेन्द्र रानाभाट बताउँछन् । ‘उम्मेदवार छनोटमा पनि विचार नपु¥याउँदा कास्की जिल्लामा असन्तुष्टिको मत अन्तै पोखियो र त्यसको सहज फाइदा एमालेलाई भयो’, रानाभाटले भने, ‘कास्कीमा प्राप्त नतिजा अपेक्षाभन्दा बाहिरको हो । पार्टीभित्रैबाट पनि असन्तुष्टिहरु पोखिएको हामीले देख्यौं ।’

दलहरुप्रतिको वितृष्णाका कारण पनि धेरै मत घण्टीतिर गएको र घण्टीमा जाने ठूलो मत कांग्रेसकै भएको सचिव रानाभाटको भनाइ छ । कास्की कांग्रेसका सभापति हुँदा किशोरदत्त बरालले पछि चुनाव नउठ्ने प्रतिवद्धता नै गरेका थिए ।

तर, चुनावमा टिकटका लागि उनले बढी कसरत गरेर ल्याएपछि पूर्व सभापति कृष्ण केसी पाखा लागे । यसकारण पनि कांग्रेसभित्रै केसी समूह असन्तुष्ट थियो भने अर्कोतिर बराल आफैं पनि सो भूगोलमा लोकप्रिय नभएको नेताहरु बताउँथे ।

कास्की–२ मा संघीय र प्रदेश सभा ‘१’ दुबैतिर नेपाली कांग्रेसका उम्मेदवार थिएनन् । एमालेको बलियो प्रभाव रहेको यो क्षेत्रमा एकीकृत समाजवादीका श्रीनाथ बराल र एमालेकी विद्या भट्टराईलाई मुख्य प्रतिस्पर्धी मानिएको थियो ।

कास्की २ बाट निर्वाचित नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराई ।

विद्याले चुनाव जितिन् तर, गठबन्धनभन्दा पनि अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेल आए । गठबन्धन तेस्रो हुँदा राप्रपाले पनि यसअघिभन्दा ४ गुणा मत बढायो ।

यो क्षेत्रमा कांग्रेसको आफ्नो उम्मेदवार नहुँदा ठूलो मत घन्टी र हलोमा गएको देखिन्छ । सहरी क्षेत्रबाट यसअघि सूर्यलाई भोट हाल्नेको केही मत एमालेलाई गए पनि एमालेको प्रभाव क्षेत्रबाट ठूलो मत विद्या भट्टराईको पक्षमा आयो ।

गठबन्धन एकजुट भएर सबै जनमत कायम राखेको भएमात्र श्रीनाथ आउन सक्थे । तर, त्यसो हुने सम्भावना नै रहेन । कास्की–२ (२) मा भने यसपटक पनि चौतर्फी दबाब र अप्ठेरो परिस्थितिका बाबजुद विन्दुकुमारले नै जित निकाल्न सफल भए । यो क्षेत्र एमालेले पनि हार्न सक्ने सम्भावना भएको क्षेत्रमा राखेको थियो ।

कास्की–३ प्रतिनिधि सभामा सुरुदेखि नै नेपाली कांग्रेसले नै पाउनुपर्ने नेताहरुको अडान थियो । तर, कास्की–३ माओवादीको भागमा पर्दा कांग्रेसबाट उम्मेदवारका आकांक्षीले आफ्नो राजनीतिक भविष्य नै छेकिएको महसुस गरेका थिए । त्यसमाथि यो क्षेत्रमा अर्थमन्त्री हुँदा कर बढाएको भन्दै आलोचना खेपेका रामजी बरालले टिकट पाएपछि ठूलो चुनौतीमा थिए ।

त्यसमाथि माओवादीभित्रै पनि ठूलो असन्तुष्टि थियो । शहीद परिवारकी अनिता भूर्तेलले त बागी उम्मेदवारी नै दिएकी छन् ।

तर, यसअघि कांग्रेसमा मत हाल्ने र कांग्रेसभित्रै असन्तुष्ट समूहको ठूलो हिस्सा घण्टीका उम्मेदवार योगराज पौडेललाई जाँदा एमालेका उम्मेदवार दामोदर बैरागीलाई फाइदा पुग्यो । जसका कारण बैरागी जित नजिक छन् ।

कास्की–३ को प्रदेश सभामा पनि कांग्रेस र माओवादीभित्र ठूलो विवाद थियो । कास्की–३ (१) का दुर्गादत्त भण्डारीलाई प्रदेश सभा २ मा टिकट दिँदा माओवादीभित्रैका ७२ जनाले त त्यो बेलै राजीनामा बुझाएका थिए ।

त्यसमाथि सो क्षेत्रमा नभिजेका भण्डारीलाई प्रचण्डकै जोडबलमा टिकट दिँदा कांग्रेस र माओवादीभित्रको फाइदा उठाउँदै जनता समाजवादी पार्टीबाट एमाले प्रवेश गरेका सो क्षेत्रमा प्रभावशाली मानिएका गणेशमान गुरुङले ठूलो मतान्तरले चुनाव जिते ।

कास्की–२ (२) तर्फ कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माका प्रिय पात्र मानिने प्रकाश बराललाई कांग्रेसले टिकट दियो । जिल्ला खेलकुद विकास समितिबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका प्रकाशका निम्ति एमालेबाट यसअघि नै चुनाव जितिसकेका राजीव पहारीको चुनौती थियो ।

तर, सांसद हुँदा कहिले विवाद त कहिले फण्डा गरेर चर्चामा आउने गरेका राजीवका निम्ति पनि पहिलो पटक चुनाव लडेका प्रकाश ठूलो चुनौती बने ।

स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीलाई हराउन लागेको आरोपले समेत राजीवको आलोचना हुने गर्दा पहिलो पटक चुनाव उठेका प्रकाशका निम्ति भने फाइदै हुने अनुमान धेरैको छ । यद्यपि यो क्षेत्रको परिणाम आउने क्रममा छ ।

कास्कीमा क्षति बेहोर्नुका पछि गठबन्धनले अनुशासन तोड्नेदेखि घण्टी लहरसम्म भएको स्वीकार्छन्, कास्की–२ का उम्मेदवार श्रीनाथ बराल । नेकपा माओवादीका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज राजकाजी गुरुङ ‘करण’ले गठबन्धनका दलहरुको इमान्दारितामाथि प्रश्न उठेको बताए ।

‘उम्मेदवारको छनोटमा पनि ध्यान कम भयो । सांगठनिक आधारलाई केन्द्रित गर्न सकेको भए, हुन्थ्यो तर त्यस्तो भएन । कांग्रेसको ठूलो संगठनको भरले मात्र चुनाव जित्न सकिन्थ्यो तर घन्टी, राप्रपाजस्ता दलले एमालेको भन्दा धेरै मत कांग्रेस र गठबन्धन दलको काटेको छ,’ करणले भने ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?