+
+

अन्तर्राष्ट्रिय नाट्य महोत्सव काठमाडौंमा सुरु, १२ मुलुकका १८ नाटक मञ्चन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते २१:०२

काठमाडौं । मण्डला थिएटरको आयोजनामा दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव विहिबारदेखि सुरु भएको छ । कोरोना महामारीको कारण रोकिएको महोत्सव यसपटक भौतिकरुपमै आयोजना भएको हो ।

महोत्सव शुभारम्भ समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, काठमाडौं महानगरका मेयर बालेन साह र भारतीय अभिनेत्री सबाना आजमी उपस्थित रहे ।

महोत्सवको विशेष अतिथिको रुपमा आइपुगेकी अभिनेत्री आजमीले महोत्सवको मुख्य नारा सामाजिक रुपान्तरणको लागि रंगमंच : विविधताको उत्सवको प्रशंसा गरिन् । ‘कलामा संवेदनशिलताको वातावरण सिर्जना गर्ने क्षमता हुन्छ’ उनले भनिन् ।

काठमाडौँ महानगर प्रमुख साहले महानगरपालिका समृद्ध हुनका लागि कलाका गतिविधि पनि उत्तिकै हुनुपर्ने महसुस गरेको बताए । महानगरले खेलकुद र कला हेर्ने छुट्टाछुट्टै विभाग बनाएर काम गर्ने सोच रहेको जानकारी उनले दिए ।

‘फिल्म र रङ्गमञ्चसँग जोडिएका फेस्टिभल बजेटमा छैनन् । आउँदो वर्षदेखि रातो किताबमा नै ल्याएर सघाउने तयारीमा छौँ । त्यो हुँदा अझै खुलेर यस्ता महोत्सव गर्न सकिन्छ र त्यसको प्रभाव पनि त्यही अनुरुप हुनेछ भन्ने लाग्छ’, मेयर साहले भने, ‘छुट्टाछुट्टै विभाग नहुँदा हामीले सहयोग गर्न सकिरहेका छैनौँ । कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुने हुँदा हामी यसप्रति सजग छौँ ।’

नौ दिनसम्म थापागाउँ काठमाडौँस्थित मण्डला थिएटरमा चल्ने महोत्सवमा सहभागिता जनाउन अन्य मुलुकबाट समेत कलाकार नेपाल आएका छन् ।

१२ देशका १८ नाटकको मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया-विमर्शका कार्यक्रम हुने महोत्सवमा विश्वभरबाट दुई सयभन्दा बढी नाट्य कलाकार सहभागी छन् । भारतीय अभिनेत्री आजमीले मास्टरक्लास संचालन गर्ने कार्यक्रम छ ।

महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।

महोत्सवको पहिलो दिन ‘बुद्ध र भिखारी’ नाटक मञ्चन गरियो ।

तस्वीर : चन्द्रबहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?