+
+

नेपाली रंगमंचको विस्तारप्रति खुसी छु, दयाहाङ मेरा प्रिय अभिनेता : सबाना आजमी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १० गते २१:४७

काठमाडौं । भारतीय समानान्तर फिल्मकी चर्चित अभिनेत्री सबाना आजमी यतिबेला नेपाली राजधानीमा छिन् । दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवको लागि काठमाडौं आइपुगेकी उनी शनिबार एक संक्षिप्त पत्रकार सम्मेलनमा प्रस्तुत भइन् ।

मुम्बइको गर्मीबाट काठमाडौंको चिसोमा आइपुगेकी आजमी तापक्रम असन्तुलनले केही अस्वस्थ देखिइन् । त्यसको बाबजुद पनि उनले नेपाली सौन्दर्य, कला र संस्कृतिको प्रशंसा गर्न भ्याइन् ।

दोस्रोपटक नेपाल आइपुगेकी आजमीले नेपालसँग कला संस्कृतिको लामो इतिहास रहेको बताउँदै त्यसलाई आफूले महसुस गरेको बताइन् । ‘नेपालको कला संस्कृतिको म सदैव प्रशंसक हुँ । म यसलाई महसुस गर्छु । नेपाल साँच्चिकै संस्कृति र कलामा धनी छ,’ उनले भनिन् ।

नेपाली रंगमञ्च विस्तार भएको देख्दा आफू खुसी भएको उनले बताइन् ।

भारतमा रंगमञ्चलाई बलिउडसँग सिधारुपमा दाँज्दा रंगमञ्च ओझेलमा परेको सुनाउँदै उनले रंगमञ्चले समाजको बलियो व्यक्तित्व विकासमा भूमिका खेल्ने बताइन् । ‘थिएटरका लागि यो कठिन समय हो । तरपनि यसलाई अघि बढाउनुपर्छ,’ उनी सुनिइन् ।

सबानाले नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण हुनुपर्नेमा जोड दिइन् । ‘नेपाली फिल्म अन्तर्राष्ट्रिय स्तरको बनेको छैन । जसले गर्दा नेपाली फिल्म अहिलेसम्म हेरेको छैन । बरु, बंगाली फिल्म हेर्न थालेको छु जुन अन्तर्राष्ट्रिय तहमै बन्न थालेका छन्,’ उनले भनिन् ।

फिल्म नहेरेपछि आफू नेपाली संगीतसँग भने परिचित भएको उनले बताइन् । बरु नाटकमार्फत आफू नेपाली अभिनेता दयाहाङ राई र अभिनेत्री रेणुनाथ योगीसँग परिचित भएको उनको भनाई छ ।

अभिनयमा भविष्य बनाउन चाहने नेपालको नयाँ पुस्तालाई सबानाका केही सुझाव छन् । ‘वास्तवमा असल अभिनय मनभित्रैदेखि आउँछ,’ उनले भनिन्, ‘भावनामा महसुस गरेर अभिनय गर्नूस् । त्यो नै अभिनयको महत्वपूर्ण पक्ष हो ।

केही अन्तर्राष्ट्रिय मिडियालाई हालै दिएको अन्तर्वार्तामा आजमीले आफू असल चरित्रमा अभिनय गर्दागर्दै थाकेको बताएकी थिइन् । यसबारे सोधिएको जिज्ञासामा उनले त्यही कारण आफू पछिल्ला फिल्ममा नेगेटिभ चरित्रमा देखिन थालेको बताइन् ।

भारतकी मेरिल स्ट्रिपलाई कस्तो भूमिका गर्ने इच्छा छ त ? भन्ने सञ्चारकर्मीको जिज्ञासमा उनले भनिन्, ‘मेरो घरमै राम्रो फिल्म लेखक हुनुहुन्छ, उहाँलाई नै सोध्नुपर्छ ।’ सबानाले हालै हलिउड निर्देशक स्टिभन स्पिलवर्गको पछिल्लो फिल्म ‘हेलो’मा नकारात्मक चरित्रमा अभिनय गरेकी छन् ।

भारतीय फिल्ममा नारी पात्रको विकासमा महत्वपूर्ण योगदान दिएकी आजमीले मीनाकुमारीदेखि आलिया भट्टको गंगुबाई कठियावडीसम्म आइपुग्दा नारीप्रधान फिल्मको विकास भएको बताइन् ।

उनले यसबारे पनि अनुभव बाँडिन् । भारतमा पछिल्लो समय धमाधम बनिरहेका धार्मिक फिल्मबारे सोधिएको प्रश्नमा उनले जवाफ दिइनन् ।

नाट्य महोत्सवमा शनिबार बेलुका आजमीले रंगमञ्च र अभिनयबारे मास्टरक्लास पनि दिएकी छन् । शनिबार दिउँसो काठमाडौंका केही पर्यटक स्थल घुमेकी उनी आइतबार भारत फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?