+
+

आफ्नै भान्सामा यसरी बनाउन सकिन्छ मुस्ताङे आलु

अञ्जना योगी अञ्जना योगी
२०७९ मंसिर ११ गते १४:०७

बालबच्चालाई छिटो-छरितो खाजा बनाइदिनुपर्‍यो, के गर्ने ?

घरमा कोही आगन्तुकलाई सत्कार गर्नुपर्‍यो, के गर्ने ?

पारिवारिक जमघटमा कोही शाकाहारी छन्, के गर्ने ?

यी सबैको एकमुष्ट विकल्प हो, मुस्ताङे आलु । छिटो पनि मीठो पनि । न धेरै सरसामग्री जुटाउनुपर्ने, न त बनाउनका लागि झन्झट मोल्नुपर्ने । एकदमै सजिलो परिकार हो यो । त्यसो त अहिले रेस्टुरेन्टको मेनुमा पनि औधी रुचाइएको छ मुस्ताङे आलु ।

मुस्ताङे आलु कसरी तयार गर्ने ?

मुस्ताङे आलु भनेपछि त्यहींको माटो र हावापानीमा उत्पादित आलु नै हो । तर यस्तो आलु सर्वत्र पाउन सम्भव नहोला । यस्तो अवस्थामा मुडेको आलु, भुटाने आलु पनि प्रयोग गर्न सकिन्छ ।

सामग्री 

आलु, कर्नफ्लोर, मैदाको पिठो, नुन, बिरे नुन, धुलो खुर्सानी, ओरगानो, रोजमेरी, तेल, बटर, लसुन, प्याज, जिराको भुलो, मरीच, टिमुर, रातो धुलो खुर्सानी, हरियो धनियाँ । ओरगानो, रोजमेरी, तुलसीको पात आदि मार्टहरुमा सजिलै पाइन्छ ।

बनाउने तरिका

-मझौला आकारको आलु लिने । आलुलाई राम्ररी पखाल्ने र त्यसलाई चार टुक्रामा काट्ने र पानीमा डुबाएर राख्ने ।

-भाँडोमा एक लिटर पानी राखेर उमाल्ने र उम्लिएको पानीमा १ चिया चम्चा नुन हाल्ने ।

-काटेर राखिएको आलुलाई त्यो उम्लिएको पानीमा हालेर तीन मिनेटसम्म आधा पाक्ने गरी पकाउने ।

-एउटा भाँडोमा झिकेर राख्ने । त्यसमा अलिकति चिसो पानी हालेर छोड्ने ।

-एउटा कचौरामा तीन टेबल चम्चा कर्नफ्लोर र तीन टेबल चम्चा मैदा राख्ने । अब त्यसमा एक चिया चम्चाको एक चौथाइ नुन, एक चौथाइ बिरे नुन, धुलो खुर्सानी आधा चिया चम्चा, ओरगानो आधा चिया चम्चा, रोगमेरी आधा चिया चम्चा, घरमा रोजमेरी र ओरीगानो छैन भने त्यसको सट्टामा जिरा धनियाँको धुलो राख्न सकिन्छ ।

-यी सबै सामग्रीलाई पिठोमा हालेर राम्ररी मिश्रण गर्ने र त्यसअघि चिसो पानीमा राखिएको आलुलाई पिठोमा हालेर राम्ररी चलाएर तीन मिनेट छोडिदिने ।

-ग्याँसमा एउटा प्यान बसालेर त्यसमा ३०० एमएल तेल राख्ने त्यो आलुलाई तेलमा राखेर फ्राइ गर्ने र निकाल्ने ।

-ठूलो तीनवटा केस्रा लसुन, एउटा मध्यम आकारको प्याज, ४० ग्राम हरियो धनियाँलाई मसिनो गरी काट्ने ।

-फेरि अर्को प्यानमा एक टेबल चम्चा बटर राख्ने त्यसमा लसुन राख्ने र लसुनको काँचो बास्ना हराएर अलि अलि खैरो हुने गरी भुट्ने र त्यसपछि प्याज राख्ने प्याजलाई पनि हल्का खैरो हुने गरी भुट्ने ।

-अब त्यसमा एक चिम्टी नुन, एक चिम्टी बिरे नुन, एक चौथाइ मरीच, एक चौथाइ जिरा, एक चौथाइ रातो धुलो खुर्सानी र एक चौथाइ टिम्बुर पनि राख्ने अब त्यसलाई राम्ररी चलाएर धनियाँ राखेर आलु राख्ने ।

-त्यो आलुलाई मध्यम आगोमा एक छिन ‘टोस्ट’ एक छिन पकाउने । यसो गर्दा मसला आलुमा राम्ररी टाँसिन्छ ।

-बच्चाहरूको लागि यो मुस्ताङे आलु तयार गर्दै हुनुहुन्छ भने त्यसमा खुर्सानी र टिम्मुर अझै कम राख्ने ।

-लगभग ३० मिनेटमा यो मुस्ताङे आलु तयार भयो । अब यसलाई सर्भ गर्न सकिन्छ । यो खाजा बालबालिकादेखि वृद्धावृद्धालाई पनि मन पर्छ ।

(काठमाडौंको गहनापोखरीस्थित निम्बु रेस्टुरेन्टकी सञ्चालिका योगीसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?