 
																			१२ मंसिर, सुनसरी । सुनसरी क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा)का नेता अशोक कुमार राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई ४५३ मतले पछि पार्दै राई प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् । राईले १७ हजार ५९ र तामाङले १६ हजार ६०६ मत पाए ।
सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले १३ हजार ८७ मत पाए ।
अशोककुमार राईको संसदीय जीवनमा फाप सिद्ध भएको पार्टी हो, नेकपा एमाले । यसपटकको निर्वाचनमा नेकपा एमालेले राईलाई समर्थन गरेको थियो । राई १० वर्षअघि नेकपा एमाले छाडेर तत्कालीन संघीय समाजवादी फोरममा लागेका थिए ।
२०४८ सालदेखिको राईको संसदीय यात्रा, एमालेमा छँदा फलदायी र एमाले छाड्दा निष्प्रभावी देखिएको छ । ०४८ सालमा सुनसरी १ मा आकांक्षी थिए राई । तत्कालीन पार्टी समायोजनले उनलाई खोटाङ पुर्यायो । राई २०४८ मा खोटाङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । ०५१ मा खोटाङ २ बाटै प्रतिनिधिसभामा चुनिए । ०५६ मा उदयपुर झरेपछि उनी पराजित भएका थिए ।
पहिचानको मुद्दामा फरक मत राखेर २०६९ मा उनले नेकपा एमाले छाडेका थिए । त्यतिबेला उनी नेकपा एमालेको उपाध्यक्ष थिए । एमाले छाडेर तत्कालीन संघीय समाजवादी पार्टी गठन गरेका राई २०७० सालमा संविधानसभामा समानुपातिक तर्फबाट निर्वाचित भएका थिए । ०७४ मा नेपाली कांग्रेससँगको गठबन्धनबाट उम्मेदवार भएका उनी आफ्नै राजनीतिक चेला जयकुमार राईसँग पराजित भएका थिए ।
राई ०५१ मा एमालेबाट यातायातमन्त्री भए । ०५३ मा संयुक्त सरकारको संसदीय व्यवस्था मन्त्री भए र ०६२ मा संयुक्त सरकारको स्वास्थ्यमन्त्री भएका थिए ।
०४८ मा धरानबाट दाबेदार
पूर्वमा मालेको संगठन विस्तार गर्दा धरान राईको पकड क्षेत्र थियो । ०४८ सालको आमनिर्वाचनमा उनी धरानबाटै उम्मेदवार बन्ने लगभग पक्का थियो । तत्कालीन मालेले ०४७ मंसिरमा राईलाई उम्मेदवार तय गरेको थियो । तर, ०४७ को माघमा मनमोहन अधिकारी र सहाना प्रधानसहितको नेकपा मार्क्सवादीसँग एकता भएपछि यो क्षेत्र राईले छाड्नुपर्यो ।
‘अध्यक्षलाई ‘कम्फर्ट जोन’ छान्न हामीले आग्रह गरेका थियौं,’ अनलाइनखबरसँगको कुराकानीमा राईले भने, ‘केन्द्रीय अध्यक्षका रुपमा यो निर्वाचनमा उहाँको विजय सुनिश्चित गराउनुपर्ने थियो, त्यसैले पनि उहाँहरुको राम्रो संगठन भएको धरानमा मनमोहनजीको उम्मेदवारी सुनिश्चित गरियो ।’
मनमोहन अधिकारीलाई अशोककुमार राई आफैंले चुनावमा मनोनयन दर्ता गराइदिएका थिए । चुनावी समारोहसम्म बसेर सम्बोधन गरे । राई भन्छन्, ‘खोटाङमा मेरो मनोनयन चाहिं देवी रेग्मीलाई वारेस दिएर दर्ता भएको थियो, वारेसबाट मनोनयन दर्ता भएको तीन दिनपछि विराटनगरबाट लामिडाँडा पुगेर अभियानमा सरिक भएको थिएँ ।’
२०७९ सालमा आइपुग्दा सुनसरी १ मा नेकपा एमाले र जसपा तालमेलबाट राईले टिकट पाए । यसबाट नेकपा एमालेमा असन्तुष्टि देखियो । प्रदेश कमिटीका सचिवालय सदस्य मनोजकुमार मेन्याङ्बो, प्रदेश सदस्य किशोरकुमार कार्कीलगायत जिल्ला कमिटीदेखि वडा कमिटीसम्मकै नेता–कार्यकर्ताले एमालेलाई अन्याय भएको महसुस गरे ।
३१ वर्षअघि सुनसरी १ मा अशोककुमार राई नै चाहिन्छ भनेर संघर्ष गरेका धरानका पूर्वमेयर मनोजकुमार मेन्याङ्बो, अशोक राई चाहिंदैन भन्ने कित्तामा उभिएर उनीविरुद्ध नै उम्मेदवारी दिए । मेयाङ्बोको उम्मेदवारीले राईलाई ठूलो संघर्ष गर्नुपर्यो । मेयाङ्बोले राईका पक्षमा आउन सक्ने ७ हजार ८१२ मत काटे ।
०४८ सालको निर्वाचन अघि टुंगो लागेको अशोक राईको उम्मेदवारी फिर्ता लिनुपर्ने भएपछि तत्कालीन नेकपा माले समर्थक युवाहरुमा तीव्र असन्तुष्टि थियो, जसको नेतृत्व उनै मनोजकुमारले गरेका थिए ।
अहिलेको निर्वाचनमा एमालेकै विश्वासमा निर्वाचित भएपछि राई भन्छन्, ‘राजनीतिमा अनन्त सम्भावना रहेको हुन्छ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4