+
+

कांग्रेसको समानुपातिकबाट को-को पुरुष नेता बन्न सक्छन् सांसद ?

डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, जीवन परियार, फर्मुल्लाह मन्सुर लगायतका नेताहरू समानुपातिकमा बसेका छन्, रास्वपाको उदयका कारण कांग्रेसले पाउने सिट संख्या नै घट्ने भएको छ ।

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०७९ मंसिर १२ गते १४:४१

१२ मंसिर, काठमाडौं । सत्तारुढ दलहरुसँग चुनावी गठबन्धनका बाबजुद नेपाली कांग्रेसका थुप्रै शीर्ष नेताहरु समानुपातिकतर्फ बसे । आफूले चुनाव लड्दै आएको क्षेत्र अरु दल वा पार्टीका नेतालाई छाडेर समानुपातिकको बन्दसूचीमा बस्नुको कारण थियो, सहज रुपमा सांसद बन्ने अभिलाशा ।

धनुषाबाट चुनाव लड्दै आएका पूर्व उपसभापति बिमलेन्द्र निधि यो पटक मधेसी कोटातर्फ बन्दसूचीमा बसे । सत्ता गठबन्धनमा सिट बाँडफाँट नहुँदै उनले प्रत्यक्षतर्फ दाबी नै गरेनन् । प्रवक्ता डा. प्रकाशशरण महतसँग पनि क्षेत्र रोजेर चुनाव लड्ने विकल्प थियो ।

अघिल्लो पटक चुनाव लडेको काठमाडौं-५ मा उनी यस पटक उम्मेदवार बन्नै खोजेनन् । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले महतका लागि गृहजिल्ला नुवाकोटको क्षेत्र नम्बर १ समेत लिइदिन चाहेका थिए ।

तर, महत काठमाडौं-५ वा नुवाकोट-१ कतै पनि प्रत्यक्ष चुनाव लड्न तयार भएनन् । बरु समानुपातिकको खासआर्य पुरुषतर्फ पहिलो नम्बरमा बसे ।

निधि र महतमात्र होइन, कांग्रेसका थुप्रै पुरुष नेताहरु छन्, जो सहज रुपमा प्रतिनिधिसभा सदस्य (सांसद) बन्ने योजनाका साथ समानुपातिकको बन्दसूचीमा बसेका छन् ।

स्याङ्जा २ बाट चुनाव लड्दै आएका पूर्व उपसभापति गोपालमान श्रेष्ठ जनजाति पुरुषतर्फ पहिलो नम्बरमा बसे । कास्की-१ का सहमहामन्त्री जीवन परियार दलित पुरुषतर्फ र बारा–३ का फरमुल्लाह मन्सुर मुस्मिल पुरुषतर्फ पहिलो नम्बरमा बसेका छन् । योगेन्द्र चौधरी थारु पुरुषको पहिलो नम्बरमा बसेका छन् ।

प्रत्यक्षको मत परिणाम सार्वजनिक भइनसक्दै समानुपातिकमा बसेर सहज रुपमा सांसद बन्ने शीर्ष नेताहरुको चाहनामा धक्का लाग्ने सम्भावना देखिएको छ । किनकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयसँगै प्रतिनिधिसभाको समानुपातिकतर्फ प्रमुख दलहरुको मत निक्कै घटेको छ ।

९३ लाखभन्दा बढी भोट गणना भइसक्दा समानुपातिकमा कांग्रेसले २४ लाख ३ हजार ७५७ मत पाएको छ । यो गणना भएको मतको २५.७८ प्रतिशत हो । जबकी २०७४ मा कांग्रेसले ३१ लाख २८ हजार २८९ मत पाएको थियो, जुन कुल मतको ३२.७८ प्रतिशत थियो । अब गणना गर्न बाँकीमा पनि मत प्रतिशत यही अनुपातमा रहने हो भने कांग्रेसले समानुपातिकतर्फ ३३ सिट पाउने देखिन्छ ।

को-को हुनसक्छन् सांसद ?

समानुपातिकबाट सांसद हुनेहरुको सूची टुंगो लगाउनु पूर्व संघीय संसदमा उसको महिला उपस्थिति हेर्नुपर्छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित ५३ जना, समानुपातिकबाट पाउने (सम्भावित) सिट ३३ र राष्ट्रियसभामा रहेका १० जना गरी संघीय संसदमा कांग्रेसका ९६ जना सदस्य हुन्छन् ।

यसको ३३ प्रतिशत अर्थात ३२ जना महिला हुनुपर्छ । प्रतिनिधिसभामा तेह्रथुमबाट सीता गुरुङ प्रत्यक्ष निर्वाचित भएकी छन् भने राष्ट्रियसभा सदस्यमा कमला पन्त, अनिता देवकोटा र दुर्गा गुरुङ छन् ।

अब कांग्रेसले समानुपातिकबाट २८ जना महिला अनिवार्य रुपमा संघीय संसदमा लैजानुपर्छ । बाँकी ५ जना भने अरु जान सक्छन् । महिलाको ३३ प्रतिशत पुर्‍याएपछि बाँकी कुन क्लस्टरबाट लैजाने भन्ने प्रष्ट व्यवस्था छैन ।

२०७४ मा पहिलो, दोस्रो र तेस्रो जुनसुकै क्लस्टरमा जान दिने, तर चौथो खस आर्य, पाँचौ आदिवासी जनजातिबाट छनोट गर्नुपर्ने व्यवस्था गरिएको थियो । छैटौं सांसद छनोट गर्ने छुट दललाई थियो, तर सातौं मधेसी हुनुपर्ने व्यवस्था थियो । यसले दलहरुलाई छनोटमा सहजता दिएपनि संसदमा उपस्थिति नभएको वा कमजोर भएको क्लस्टरलाई प्राथमिकता दिनुपर्ने दबाव दलहरुमा हुन्छ । सम्बन्धित उम्मेदवारले उजुरी गरेको अवस्थामा निर्वाचन आयोगले समेत सच्याउन लगाउन सक्छ ।

यो पटक निर्वाचन आयोगले निर्णय गरिसकेको छैन । तर, जनसंख्याको अनुपातमा जसको धेरै छ, उनीहरुलाई नै प्राथमिकता दिने सम्भावना रहेको एकजना आयुक्त बताउँछन् ।

त्यसो भएमा महिला कोटा पुर्‍याएपछिको पहिलो नम्बरमा खासआर्य, दोस्रोमा आदिवासी जनजाति र तेस्रो मधेसी क्लस्टरको पुरुषमा पहिलो नम्बरमा रहेका व्यक्तिहरु सांसद बन्छन् । त्यसपछि क्रमशः दलित, थारु, मुस्लिम, अपाङ्गता भएका तथा पिछडिएको क्षेत्र क्लस्टरको पालो आउँछ ।

अर्थात कांग्रेसबाट प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, जीवन परियार र योगेन्द्र चौधरी सांसद बन्ने छन् । पिछडिएको क्षेत्रबाट सुरु गर्ने हो भने जयपती रोकाय, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी, जीवन परियार र विमलेन्द्र निधि सांसद हुन्छन् । महत र श्रेष्ठ सांसद बन्न पाउने छैनन् ।

हेरफेर हुनसक्छ हिसाब

चार स्थानमा मतगणना सकिएको छैन भने तीन क्षेत्रको सुरु नै हुन सकेको छैन । यसमध्ये दुई क्षेत्र (उदयपुर-१ र सुनसरी ४) मा कांग्रेसको अग्रता छ भने गणना सुरु नै नभएको स्याङ्जा-२ मा उपसभापति धनराज गुरुङ र बाजुरामा सहमहामन्त्री बद्री पाण्डे उम्देवार छन् । उनीहरु सबै जित्छन् भन्ने मान्ने हो भने कांग्रेसको समानुपातिकको हिसाबमा थोरै हेरफेर हुनेछ ।

किनकी संघीय संसदमा कांग्रेसको सदस्य संख्या १०० पुग्छ । जसको ३३ प्रतिशत अर्थात ३३ जना महिला हुनुपर्छ । हाल ४ जना महिला भएकाले प्रतिनिधिसभाको समानुपातिकबाट २९ जना महिला चुन्नुपर्छ । बाँकी ४ जना पुरुषले मात्रै मौका पाउन सक्छन् ।

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?