News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरेको समूहले नयाँ बानेश्वरमा भेला बोलाएको छ।
- नेता गुरूराज घिमिरेले भेला सल्लाहका लागि बोलाइएको र केन्द्रीय समितिको निर्णय हेर्ने बताए।
- २९ असोजमा २४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो।
१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरेको समूहले भेला बोलाएको छ।
केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको कार्यतालिका समेत पेस हुन नसकेको भन्दै उनीहरूले पार्टीमाथि दबाब सिर्जना गर्न भेला बोलाएका हुन् ।
विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन अभियानको नेतृत्व गरेका नेता गुरूराज घिमिरेले ‘सल्लाह’ का लागि भेला बोलाइएको बताए।
‘सल्लाह गर्ने बैठक हो त्यो । केन्द्रीय समितिले के गर्छ, त्यो पनि हामी हेरिरहेका छौँ,’ उनले भने, ‘आजसम्म बैठकमा कुनै विषय प्रवेश भएको छैन । त्यही भएर हामी बस्न लागेका हौँ।
नेता घिमिरेका अनुसार हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको समूहको भेला आइतबारका लागि बोलाइएको छ । नयाँ बानेश्वरस्थित एक बैंक्वेटमा मध्यान्ह साढे १२ बजेबाट भेला सुरू हुने बताइएको छ।
‘काठमाडौंमा उपलब्ध साथीहरूका बीचमा अब के गर्ने भनेर सल्लाहका लागि बैठक हो,’ नेता घिमिरेलेभ ने, ‘आइतबार साढे १२ बजे नयाँ बानेश्वर आनन्दभूमिमा बस्छौँ।’
उनले २९ असोजमा दुई हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाह सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए।
३० असोजबाट छलफल सुरू भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा विशेष महाधिवेशनको माग एजेन्डाका रूपमा भने पेस भएको छैन ।
प्रतिक्रिया 4