+
+
आम चुनाव २०७९ :

‘हेड’ले जिते, हेभिवेट हारे, दल बदलुलाई सजाय

दोहोर्‍याएर चुनाव लडेका धेरै सांसद यसपटक पराजित भए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित २७५ सांसदमध्ये १४६ सांसद यसपटक पनि चुनावी मैदानमा थिए । जसमा प्रत्यक्ष चुनाव लडेका १३७ मध्ये ५३ जना पुनः निर्वाचित भएका छन् । ७९ जना पराजित भएका छन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ मंसिर १२ गते २२:२३

१२ मंसिर, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअघि सामाजिक सञ्जालमा चलेको एउटा अभियानले धेरैको ध्यान तान्यो । विभिन्न दलका शीर्ष नेता र पटक-पटक निर्वाचित भएका सांसदलाई पुनः निर्वाचित गराउन नहुने भन्दै नो नट अगेन अभियान सञ्चालन गरिएको थियो ।

प्रत्यक्षतर्फको मत परिणाम अन्तिम चरणमा आउँदा प्रमुख दलका शीर्ष नेताहरु निर्वाचित भएका छन् । पराजित भएका हेभीवेट नेताहरुमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, गृहमन्त्री बालकृष्ण खाँण लगायत रहेका छन् ।

उनीहरुमात्र होइन दोहोर्‍याएर चुनाव लडेका धेरै सांसद यसपटक पराजित भए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित २७५ सांसदमध्ये १४६ सांसद यसपटक पनि चुनावी मैदानमा थिए । जसमा प्रत्यक्ष चुनाव लडेका १३७ मध्ये ५३ जना पुनः निर्वाचित भएका छन् । ७९ जना पराजित भएका छन् ।

मतगणना हुन बाँकी रहेको क्षेत्रमा प्रतिस्पर्धामा रहेका ५ जनाको परिणाम आउन बाँकी छ । समानुपातिक सूचीमा रहेका ११ जना सांसद निर्वाचित हुने वा नहुने भन्ने निर्णय आउन केही समय कुर्नुपर्नेछ ।

निवर्तमान प्रतिनिधिसभाको ठूलो दल नेकपा एमालेका ९८ जना प्रतिनिधिसभा सदस्यमध्ये ५५ जनाले यो निर्वाचनमा (एमालेबाटै र एमाले छोडेर समेत)प्रत्यक्ष उम्मेदवारी दिएका थिए, तीमध्ये १७ जना निर्वाचित भए भने बाँकी ३६ जना पराजित भए । दुई जना (पद्माकुमारी अर्याल र रघुवीर महासेठ)को परिणाम आउन बाँकी छ ।

२०७४ मा निर्वाचित कांग्रेसका ६३ सांसदमध्ये २९ जनाले प्रत्यक्ष चुनाव लडेकामा १२ जना पुन निर्वाचित भएका छन् भने १४ जना पराजित भए । ३ जना (डा.नारायण खड्का, विजयकुमार गच्छदार र ज्ञानेन्द्रबहादुर कार्की)को नतिजा आउन बाँकी छ ।

माओवादी केन्द्रका ४९ (५३ मा ४ जना पहिले नै एमाले प्रवेश गरेका) मध्ये २० जना यसपटक प्रत्यक्षमा उम्मेदवार थिए, जसमध्ये ९ जना पुन: निर्वाचित भएका छन् ।

नेकपा एकीकृत समाजवादीका २३ मध्ये १० जना निवर्तमान सांसद प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएका थिए । तीमध्ये ५ जनाले चुनाव जिते ।

जनता समाजवादी पार्टी (जसपा) का २० मध्ये ९ जना प्रत्यक्षमा उम्मेदवार थिए । तीमध्ये ३ जनाले चुनाव जिते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १२ मध्ये पाँच जना पुनः प्रत्यक्षतर्फ उम्मेदवार थिए । तीमध्ये २ जनामात्रै पुननिर्वाचित भए ।

हेभिवेट पनि ढले

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई काठमाडौं-५ मा कांग्रेसका प्रदीप पौडेलले, उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई चितवन-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले हराए ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई गुल्मी–१ मा कांग्रेसका चन्द्र भण्डारीले र सचिव लेखराज भट्टलाई कैलाली-४ मा कांग्रेसका वीरबहादुर बलायरले पराजित गरे ।

नेपाली कांग्रेसका सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय डिना र उमाकान्त चौधरी, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपसभामुख पुष्पा भुसाल, राज्यमन्त्री उमेश श्रेष्ठलगायतका निवर्तमान सांसदहरु पनि पराजित भए ।

डिना मकवानपुर–१ मा राप्रपाका दीपकबहादुर सिंहसँग, उमाकान्त चौधरी बारा–१ मा एमालेका अच्युत मैनालीसँग, पूर्वमहामन्त्री सिटौला झापा–३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग र गृहमन्त्री खाँण रुपन्देही–३ मा राप्रपाका दीपक बोहरासँग पराजित भए ।

पूर्वउपसभामुख भुसाल अर्घाखाँचीमा एमाले सचिव टोपबहादुर रायमाझीसँग र उमेश श्रेष्ठ चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेसँग पराजित भए ।

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिवद्वय गिरिराजमणि पोखरेल, पम्फा भुसाल र मातृका यादव र सचिव चक्रपाणि खनाल, पूर्वसभामुख ओनसरी घर्ती पराजित भए ।

गुरुङलाई लमजुङमा एमाले उपमहाचिव पृथ्वी सुब्बा गुरुङले, पोखरेलाई महोत्तरी–१ मा एमालेकी लक्ष्मी महतोले, भुसाललाई ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले र यादवलाई धनुषा–१ मा जसपाका दीपक कार्की, खनाललाई कपिलवस्तु–१ मा एमालेका बलराम अधिकारीले र घर्तीलाई काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले हराए ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष धर्मनाथ साह, सचिव जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री र पर्यटनमन्त्री जीवनराम श्रेष्ठ पनि पराजित भए । खनाललाई इलाम–१ मा एमालेका महेश बस्नेतले, साहलाई सिरहा-४ मा जसपाका वीरेन्द्र महतोले, खतिवडालाई उदयपुर–२ मा एमालेका अम्बरबहादुर रायमाझीले, झाँक्रीलाई गुल्मी–२ मा एमालेका गोकर्ण विष्टले र श्रेष्ठलाई र राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले पराजित गरे ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले १८ हजारभन्दा बढी मतान्तरले हराइदिए । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो सर्लाही-२ मा नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले पराजित गरे भने नेता लक्ष्मणलाल कर्णलाई पर्सा–१ मा जसपाका प्रदीप यादवले पराजित गरे ।

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी पनि नवलपरासी पश्चिम–१ मा कांग्रेसका विनोद चौधरीसँग पराजित भए । एमालेको सूर्य चिह्नमा चुनाव लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर–१ मा राप्रपाका दीपकबहादुर सिंहसँग पराजित भए ।

मतगणना नै सुरु नभएको स्याङ्जा–२ मा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्मा अर्याल प्रतिस्पर्धामा छन् । एमालेका सचिव रघुवीर महासेठ धनुषा–४ मा, कांग्रेस नेता विजय गच्छदार सुनसरी–३ मा, कांग्रेस नेता, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी–४ मा, कांग्रेस नेता परराष्ट्रमन्त्री नारायण खड्का उदयपुर–१ मा प्रतिस्पर्धामा छन् ।

पार्टी फेर्नेहरुलाई सजाय

नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेबाट चुनाव लडेका लेखराज भट्ट कैलाली-४ मा र गौरी शंकार चौधरी कैलाली ३ मा पराजित भए ।

एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल र हाम्रो नेपाली पार्टीबाट चुनाव लडेकी गंगा चौधरी पनि पराजित भए ।

लोसपाबाट एमाले प्रवेश गरेर चुनाव लडेका निवर्तमान सांसद एकवाल मियाँ बारा ४ मा एकीकृत समाजवादीका किसान श्रेष्ठसँग र उमाशंकर अरगरिया धनुषा-२ मा कांग्रेसका रामकृष्ण यादवसँग पराजित भए ।

यद्यपि, माओवादी छाडेर एमालेबाट उम्मेदवारी दिएका टोपबहादुर रायमाझी, एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह र किरणकुमार साह, कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएका अमरेशकुमार सिंहले चुनाव जिते ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?