+
+

एमाले अन्तरसंघर्षमा जितेकाहरू चुनावमा हारे

पार्टीको अन्तरसंघर्षमा पछाडि परेका सुवास–विष्णु नजिक नेताहरुले भने तुलनात्मक धेरै जितेको एक नेता बताउँछन् । उनी थप्छन्, ‘केपी ओली प्रधानमन्त्री हुँदा लाभको पद खाएका नेताहरुले बनाएको समूहतिर उभिने धेरैले जित्न सक्नुभएन । यसलाई चुनावले दिएको एउटा सन्देशका रुपमा लिनुपर्छ ।’

सइन्द्र राई सइन्द्र राई
२०७९ मंसिर १२ गते २०:४०

१२ मंसिर, काठमाडौं । अन्तिम नतिजा सार्वजनिक भइसकेको प्रतिनिधिसभा सदस्यतर्फको १५८ निर्वाचन क्षेत्रमध्ये नेकपा एमालेले ४२ सिट जितेको छ । यो संख्या नेपाली कांग्रेसले जितेको भन्दा ११ सिटले कमी हो ।

बाँकी चार क्षेत्र धनुषा–४, उदयपुर–१, सुनसरी–३ र ४ मा गणना चलिरहेको छ ।

दोलखा, स्याङ्जा–२ र बाजुरामा विवादका कारणले गणना हुने अवस्था बन्न सकेको छैन ।

तर नयाँ संसदमा दलहरुको हैसियत प्रष्ट भइसकेको छ । समानुपातिकतर्फ कांग्रेसभन्दा केही सिट बढी जिते पनि एमाले दोस्रो शक्ति नै रहनेछन् । यो संख्या एमालेकै दाबी भन्दा आधा बढीले कमी हो भने राष्ट्रिय राजनीतिक परिस्थितिमा ठूलै सफलता हो ।

किनकि एमाले भन्दा सत्तारुढ गठबन्धनले सहज समीकरणसहित चुनावमा लिएको थियोे । अहिलेको प्रतिकुल चुनावमा समेत पार्टीलाई सत्ता नेतृत्वकै दावेदार शक्ति बनाउन एमालेका ८ पदाधिकारीले चुनाव जिते ।

अध्यक्ष केपी शर्मा ओली सहित उपाध्यक्षहरू सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरू गोकर्ण बिष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा र टोपबहादुर रायमाझीले जितेका छन् । सचिवहरू रघुवीर महासेठ र पद्या अर्यालको अन्तिम नतिजा आउन बाँकी छ । धनुषा–४ बाट महासेठ र स्याङ्जा–२ बाट अर्याल उम्मेदवार छन् ।

भीम आचार्य पदाधिकारी नभए पनि चुनाव जित्ने शीर्ष नेता हुन् । एमालेका पूर्वसचिव आचार्य दशौं महाधिवेशनबाट सोही पदमा पराजित भएका थिए । चुनाव जित्ने बाँकी सांसदहरू आफ्नो क्षेत्रमा प्रभावशाली रहे पनि पार्टीभित्र ठूलो जिम्मेवारीमा छैनन् । तर पार्टीभित्र बलियो पडक राख्ने र निर्णायक कमिटीमै रहेका थुप्रै नेताहरुले एमालेलाई महत्वपूर्ण रहेको चुनाव जित्न सकेनन् ।

पार्टी केन्द्रले पठाएको सर्कुलर मान्ने कार्यकर्ताले जित्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली र सचिव लेखराज भट्ट पराजित भए । तीन उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा बादलले चुनावमा भागै लिएका थिएनन् । ओली सचिवालयको नेतृत्व गर्ने उपमहासचिव विष्णु रिमाल यसपटक पनि उम्मेदवार भएनन् ।

प्रभावशालीहरुको पराजय

चुनाव हार्ने नेताहरू पार्टीभित्र भने जित्ने भन्दा शक्तिशाली भूमिकामा छन् । पार्टीकै संस्थापक मध्ये एक रहेका ईश्वर पोखरेलका निम्ति पार्टी विधान संशोधन गरेरै वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिएको थियो । दुई कार्यकाल महासचिव चलाइसकेका पोखरेल पनि आफ्नो लागि सिर्जना गरिएको उक्त पदमा बस्न तयार भएका थिए ।

गएको वर्ष मंसिरमा सम्पन्न दशौं महाधिवेशनबाट ओली नेतृत्वमै दोहोरिन चाहेपछि अध्यक्षको आकांक्षा पोखरेलले त्यागे । किनभने पार्टी विधानको ७० वर्षे व्यवस्थाले पोखरेललाई अध्यक्ष हुन दिनेछैन । पटकपटक उपप्रधानमन्त्री भइसकेका पोखरेल, काठमाडौं–५ बाट पराजित भएसँगै कम्तिमा यो कार्यकाल प्रधानमन्त्री बन्ने बाटो समेत बन्द भएको छ ।

तर पार्टीभित्र पोखरेल र उनी निकट नेताहरू अध्यक्ष ओलीपछि प्रभावशाली भूमिकामा छन् । चितवनमा सम्पन्न दशौं महाधिवेशनबाटै पोखरेल प्रभावी पार्टी समीकरण तयार भएको थियो । त्यसबेला वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङ र महासचिवमा विष्णुप्रसाद पौडेल पनि आकांक्षी थिए । तर ओलीले ईश्वरलाई वरिष्ठ उपाध्यक्ष र शंकर पोखरेललाई महासचिव पद दिए ।

नेम्वाङ र पौडेल दुवै उपाध्यक्ष मात्रै भए । अध्यक्ष पछिको दुवै कार्यकारी पदमा एउटै समूहका दुई पोखरेल आउँदा सुवास–विष्णु निकट नेताहरुले समेत सहायक पदमा चित्त बुझाए । यसको असर भने १० बुँदे गरेर पनि एमालेमै बसेका नेताहरुले बढी खेप्नु परेको थियो ।

नवौं महाधिवेशनबाटै सचिव जितेका गोकर्ण बिष्ट र योगेश भट्टराईले त्यही पद दोहोर्‍याउनु परेको थियो । बिष्ट र भट्टराईसँगै सचिव जितेका पृथ्वीसुब्बा गुरुङ एक तह बढुवा हुँदै उपमहासचिव भए । तर नवौं महाधिवेशनमा उपमहासचिव पराजित शंकर महासचिव र सचिव जित्न नसकेका विष्णु रिमाल उपमहासचिव भएका थिए ।

त्यही बेलादेखि एमालेभित्र ईश्वर–शंकर निकट नेताहरू भावी छन् । संयोग– यो चुनावमा पराजित हुनेहरुमा पनि यही कित्ताका नेता धेरै छन् । भावी पार्टी नेतृत्वकै रुपमा आफूलाई अगाडि बढाएका पोखरेल दाङ–२ मा माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित भए । पोखरेलकै रोजाइमा उम्मेदवार बनेका शान्ता चौधरी दाङ–१ र कोमल वली दाङ–३ बाट पराजित भइन् ।

गुल्मी–१ बाट उपमहासचिव प्रदीप ज्ञवाली पराजित भए । ओली नेतृत्वको सरकारमा रोजाइको मन्त्री रहेका ज्ञवालीलाई परिचित प्रतिद्वन्द्वी चन्द्र भण्डारीले हराइदिए । जबकी त्यही गुल्मी–२ बाट गोकर्ण बिष्टले जिते । १० बुँदे सहमति गरी पार्टी विभाजनको विपक्षमा उभिएका बिष्टले पार्टी महाधिवेशनमा पुरानै पदमा चित्त बुझाएका थिए ।

ईश्वर–शंकर नजिक रहेकै अर्का नेता राजन भट्टराई काठमाडौं–४ बाट पराजित भए । भट्टराई परिचित प्रतिद्वन्द्वी गगन थापाविरुद्ध चुनाव लडेका थिए । यो समूहका नेताहरु भानुभक्त ढकाल मोरङ–३, विशाल भट्टराई खोटाङ, राजेन्द्र गौतम संखुवासभा, निरु पाल कञ्चनपुर–३ बाट पराजित भए । प्यूठानबाट सूर्य थापा, काभ्रे–२ बाट गोकुल बास्कोटा लगायत केहीले भने चुनाव जितेका छन् ।

पार्टीको अन्तरसंघर्षमा पछाडि परेका सुवास–विष्णु नजिक नेताहरुले भने तुलनात्मक धेरै जितेको एक नेता बताउँछन् । इलाम–२ बाट सुवास र रुपन्देही–२ बाट विष्णु पौडेल आफैंले जितेका छन् । ‘केपी ओली प्रधानमन्त्री हुँदा लाभको पद खाएका नेताहरुले बनाएको समूहतिर उभिने धेरैले जित्न सक्नुभएन । यसलाई चुनावले दिएको एउटा सन्देशका रुपमा लिनुपर्छ’, ती नेता भन्छन् ।

एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेत, चुनावी नतिजालाई अरु व्याख्या गर्नेतिर नलागेर पार्टी निर्माणमा जोड दिनुपर्ने बताउँछन् । ‘चुनाव जितेकाहरुले संसदीय मोर्चालाई बलियो बनाउनुपर्छ, जित्न नसक्नेहरु पार्टी निर्माणमा लाग्नुपर्छ ।’

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?