+
+

वैदेशिक रोजगारीमा रहेका र दोलखावासीलाई कालिञ्चोक दर्शनको आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते १०:५४

१४ मंसिर, काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले १४ मंसिर बुधबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशत हुन आउने १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये जारी पूँजीको २ प्रतिशतले हुन आउने १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणको लागि जारी पूँजीको १८ प्रतिशत अर्थात १० करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्नेछ । धितोपत्र निष्काशन तथा बाँडफाँड विनियमावलीअनुसार आयोजना प्रभावित स्थानीयको लागि निष्काशन हुने सेयर बाहेक सर्वसाधारणमा निष्काशन हुने सेयरको १० वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गर्नुपर्ने हुन्छ ।

सर्वसाधारणको लागि निष्काशन हुने १० लाख ८० हजार कित्ताको १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता सेयर पनि बुधबारबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन खुला गरिएको कम्पनीले जनाएको छ ।

आयोजना प्रभावित स्थानीयलाई बाहेक सार्वजनिक निष्काशन हुने १० लाख ८० हजार कित्ता सेयरको २ प्रतिशले हुने २१ हजार ६०० कित्ता संस्थाका कर्मचारी र ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गर्दै बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सेयर भने सर्वसाधारणमा निष्काशन हुने कम्पनीले जनाएको छ ।

आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सार्वजनिक निष्काशन गरीसकेपछि सर्वसाधारणसँग आवेदन माग हुने कम्पनीले जनाएको छ ।

आयोजना प्रभावितले कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेकाहरुले भने अधिकतम १० हजार ८०० कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

वैदेशिक रोजगारमा रहेकाहरु र स्थानीयले मंसिर २८ गतेभित्र कम्पनीको आईपीओका लागि आवेदन दिनु पर्नेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भने स्थानीय बासिन्दाहरुका लागि निष्काशन अवधि पुस १४ गतेसम्म लम्बिनेछ ।

कम्पनीले सार्वजनिक निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । आयोजना प्रभावित स्थानीयले बिक्री प्रबन्धक र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यस्तै मेगा बैंक र सेञ्चुरी बैंकका दोलखाका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ ।

कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको जनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?