+
+

पारिवारिक वनभोजका लागि गज्जबका पाँच जुक्ति

मनिषा थापा मनिषा थापा
२०७९ मंसिर १४ गते १६:३८

काठमाडौं । चिसो हावा, पारिलो घाम, खोलाको घमाइलो किनार वा फराकिलो फाँट । मीठोमसिनो खानेकुरा र माधुर्य संगीत । अनि आफ्नो सानो परिवार ।

पारिवारिक वनभोजका लागि काइदाको मौका हुनसक्छ यो । आफ्ना बालबच्चालाई साथमा लिएर घरबाहिर यस्तो आनन्दित समय बिताउन सक्नुहुन्छ, जसले तपाईंलाई केही नयाँपनको अनुभूति गराउँछ ।

ठूलो जमघट भएन, धेरै खर्च परेन, टाढा नगए भो । आफ्नै परिवारसँग रमाइलो बातचित गर्दै, मनोरञ्जन गर्दै, मीठोमसिनो व्यञ्जनको स्वाद लिंदै बस्न सक्नुहुनेछ । यसका लागि तपाईंले केही पूर्वतयारी भने गर्नैपर्छ ।

पायक पर्ने गन्तव्य

पारिवारिक वनभोजका लागि पहिलो तयारी हो, गन्तव्य छनोट । घरपायक गन्तव्य उचित हुन्छ । धेरै टाढा जान अलि झन्झटिलो र असुविधा हुनसक्छ । सम्भव भएसम्म आफ्नै घर आसपासको स्थानमा वनभोज जान सकिन्छ ।

यस्तो स्थान धेरै एकान्त हुनुभएन, धेरै भीडभाड पनि । सुरक्षित हुनुपर्छ तर शान्त पनि । शौचालय, पानीको बन्दोबस्त के छ ? बुझ्नुपर्छ ।

आवश्यक सरसामानको जोहो

सबैभन्दा पहिले सरसामानको सूची तयार गर्नुपर्छ । जस्तो, बस्नका लागि, खानका लागि र मनोरञ्जनका लागि के के चाहिन्छ ? सिलसिलाबद्ध सूची तयार गर्न सकिन्छ ।

-ओछ्याउन र बस्नका लागि म्याट्रेस, तन्ना र केही कुशन जरुरी हुन्छ ।

-पकाउन र खानका लागि भाँडावर्तन, काँटा, चम्चा, सानो बास्केट तयार गर्नुपर्छ ।

-खानेकुरा राख्नका लागि फोल्ड गर्न सकिने टेबल पनि एकदमै उपयोगी हुन्छ ।

-सागसब्जी, फलफूल काट्नका लागि चक्कु, खुकुरी, चपबोर्ड आवश्यक हुन्छ ।

-पकाउनका लागि सानो ग्याँस र चुल्हो जरुरी हुनसक्छ ।

-सरसफाइका लागि पानी, टाबेल र टिस्यु पेपर लानुपर्छ ।

-फोटो खिच्नका लागि अहिले मोबाइल नै काफी हुन्छ । साथै संगीत पनि त्यसैबाट सुन्न सकिन्छ । यद्यपि ब्याट्री भने पूरा चार्ज गर्नुपर्छ ।

यातायातको व्यवस्था

आफ्नै सवारी साधन भए त धेरै झन्झट लिनु परेन । गाडी भाडामा लिएर पनि आउजाउ गर्न सकिन्छ । सार्वजनिक यातायात भने प्रयोग नगरेकै उत्तम हुन्छ । किनभने हामीकहाँ सार्वजनिक यातायात भरपर्दो छैन । त्यसैले पारिवारिक वनभोज जाने मनस्थिति बनेपछि यातायातको व्यवस्था कसरी गर्ने भन्ने कुराको टुंगो गर्नुपर्छ ।

खानेकुरा

पारिवारिक वनभोज जाँदा खानेकुरा पकाएर खान अलि झन्झटिलो वा असजिलो हुनसक्छ । त्यसैले धेरैजसो खानेकुरा घरमै बनाएर लानु उचित हुन्छ । जस्तो आलु फ्राइ, चिकेन रोस्ट, पुलाउ, अचार वा अन्य परिकार घरमै बनाएर लान सकिन्छ । वनभोजका लागि फलफूल, ड्राइ फ्रुट्स पनि उत्तम हुन्छ । अहिले सुन्तला र बदामको याम छ । पारिलो घाममा बसेर सुन्तला र बदाम खानु पनि निकै रमाइलो हुन्छ ।

यससँगै तातो पानी, चिया, चिसो पेय, कफी आदि तय गर्नुपर्छ । अन्य स्न्याक्स पनि लान सकिन्छ ।

मनोरञ्जनको व्यवस्था

परिवारसँग समय बिताइरहँदा पनि बेलाबखत रमाइलो गर्नुपर्ने हुन्छ । यसका लागि तपाईंले खेल्ने सामग्री बोक्न सक्नुहुन्छ । यसका लागि गिटार, फुटबल, ब्याटमिन्टन, चेस, लुडो आदि बोक्न सकिन्छ ।

लेखकको बारेमा
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?