१५ मंसिर, काठमाडौं । अर्जेन्टिनाका कप्तान लिओनल मेसी फिफा विश्वकप पुटबलमा सर्वाधिक खेल खेल्ने खेलाडीको सूचीमा चौथो स्थानमा उक्लेका छन् ।
कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह सीको अन्तिम खेलमा पोल्याण्डसँग खेलपछि मेसीले विश्वकपमा कूल २२ खेल खेलेका छन् । यसअघि चार विश्वकपमा १९ खेल खेलेका मेसीले जारी विश्वकपमा समूह चरणका तीनवटै खेल खेले ।
मेसी भन्दा धेरै विश्वकप खेल्नेमा जर्मनीका लोथार म्याथ्वु र मिरोस्लाभ तथा इटलीका पाउलो माल्दिनी छन् । लोथारले सर्वाधिक ३५ खेल खेलेका छन् भने क्लोजले २४ र माल्दिनीले २३ खेल खेलेका छन् ।
मेसीले अन्तिम १६ मा अष्ट्रेलिया विरुद्धको खेलपछि सर्वाधिक विश्वकप खेल खेल्नेमा माल्दिनीसँग बराबरी गर्नेछन् ।
मेसी विश्वकपमा सर्वाधिक खेल खेल्ने अर्जेन्टिनी खेलाडी पनि बनेका छन् । उनले महान खेलाडी डिएगो म्यराडोनालाई पछि पारेका हुन् । म्याराडोनाले विश्वकपमा २१ खेल खेल्दै ८ गोल गरेका थिए । मेसीले पनि विश्वकपमा ८ गोल नै गरेका छन् ।
म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा विश्वकप उपाधि जितेको थियो ।
प्रतिक्रिया 4