
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले विभिन्न मुलुकका राजदूतसँग नेपाली फिल्म र संगीत क्षेत्रबारे कुराकानी गरेका छन् । संयुक्त अरब इमिरेट्सको नेपाल मिसनको ५१ औं राष्ट्रिय दिवसको अवसरमा आयोजित समारोहमा केसीले राजदूतसँग भेटघाट गरेका हुन् ।
अमेरिकी राजदूत डीन आर थोम्पसन, अष्ट्रेलियाली राजदूत फेलिसिटी भल्क लगायत युरोपेली र मध्यपूर्वका राजदूतसँग उनले भलाकुसारी गरेको जनाइएको छ ।
भुवनले भने, ‘राजदूत तथा कूटनीतिज्ञसँगको भेटघाट रोचक रह्यो । उनीहरुले चलचित्र विकास बोर्डसँग सहकार्य गर्न आफूहरु आतुर रहेको बताए । नेपाली चलचित्र र संगीतको लागि उहाँहरूको प्रतिबद्धता, समर्थन र उत्साहको लागि म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु ।’
नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने प्रतिबद्धता दोहोर्याइरहेका अध्यक्ष केसीले उक्त भेटमा कूटनीतिक नियोगसँग सहकार्य गर्न सकिने सम्भावनाबारे पनि अनौपचारिक कुरा गरेको जनाइएको छ ।
साथै नेपाललाई विदेशी फिल्मको छायांकन केन्द्रको रुपमा विकास गर्ने सरकारी योजनाको कार्यान्वयनबारे पनि केसीले प्रतिबद्धता जनाएका छन् । यसैसाता यी विविध विषयमा केसीले प्रदर्शक, निर्माता र चलचित्रकर्मीसँग छलफल गरेका थिए ।
प्रतिक्रिया 4