+
+

केशरमहलको आँगनमा फ्याँकिएका ‘किताबलाई माया गर’ (तस्वीरहरु)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ मंसिर १९ गते २१:२९

१९ मंसिर, काठमाडौं । स्कुले किताबका पछिल्ला गातामा हामी एउटा सन्देश देख्न पाउँथ्यौं – किताबलाई माया गर । केशरमहलमा शिक्षा मन्त्रालयले आफ्ना हजारौं कागजात अलपत्र पारेको छ । तिनै अलपत्र कागजातहरुकै खातमा फ्याँकिएको थियो त्यो सन्देश– अर्थात् किताबलाई माया गर ।

मन्त्रालयले आफ्ना दस्तावेज, प्रतिवेदन, बिल, भर्पाई, चेकका अर्धकट्टी र महत्वपूर्ण अध्ययन प्रतिवेदन तथा किताबहरु केशरमहलको आँगनमा असरल्ल छाडिदिएको हो ।

तस्वीरहरुमा हेर्नुहोस्, महल परिसरमा अलपत्र पारिएका कागजातहरुमा पञ्चायतकालदेखिका महत्वपूर्ण दस्तावेज छन् । भूकम्पपछि क्षतिग्रस्त भएको केशरमहलको अहिले रेट्रोफिटिङ चलिरहेको छ । रेट्रोफिटिङका क्रममा मन्त्रालयले भवनभित्र रहेका आफ्ना कागजात बाहिर ल्याएर राखेको थियो । बाहिर ल्याइएका यस्ता हजारौं कागजातमध्ये कतिपय कुहिएकाछन् ।

यी कागजात महलको आँगनमा बनाइएको टहरामा राखिएका थिए । टहराबाट कागजात लैजान केशर पुस्तकालयले शिक्षा मन्त्रालयलाई बारम्बार ताकेता गरेको थियो । पुस्तकालयका प्रवक्ता नानीराम कार्कीका अनुसार पुस्तकालयले आफ्ना कागजात र किताब सुरक्षित राखे पनि मन्त्रालयले भने आफ्ना कागजात महल परिसरमै छाड्यो ।

२०७२ को भुकम्प अगाडिसम्म महलमा शिक्षा मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग, युनेस्कोको कार्यालय थियो । यस बाहेक महलमा मन्त्रालयको एनओसी शाखा र छात्रवृत्ति वितरण गर्ने कार्यालय पनि थियो ।

एनओसी र छात्रवृत्ति वितरण गर्ने निकाय असोज ०७९ देखि सानोथिमी सरेका छन् । मन्त्रालय र मन्त्रालय मातहतका कार्यायल सरेपनि उनीहरुले आफ्ना कागजात भने लिएर गएनन् ।

महल परिसरमा रहेका मन्त्रालयका कागजात काम नलाग्ने भएको शिक्षा मन्त्रालयको भनाइ छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार शिक्षा मन्त्रालय र मातहतका एनओसी तथा छात्रवृत्ति शाखाले छाँटेर काम नलाग्ने पुराना भइसकेका कागजात मात्र त्यहाँ छाडेको बताए । उनले भने, ‘त्यहाँ भएका सबै कागजात हामीलाई काम नलाग्ने कागजात हुन् ।’

केशरमहल परिसरमा अलपत्र पारिएका र कुहिन थालेका यी कागजात धुल्याउने वा कवाडीमा बिक्री गर्ने भनेर अझै निर्णय नभइसकेको शर्माले बताए । ‘ती कागजात धुल्याउने कि कवाडमा बिक्री गर्ने भनेर निर्णय भइसकेको छैन ।’

मन्त्रालयले काम नलाग्ने भनेर छाडेका कागजातमा छात्रवृत्ति र एनओसीका लागि भरिएका फारम पनि छन् । ति फाराममा विद्यार्थीका व्यक्तिगत विवरण, सर्टिफिकेट, मार्कसिट, नागरिकता जस्ता कागजातका फोटोकपी पनि छन् । यस्ता व्यक्तिगत विवरण भएका कागजात कवाडमा बेच्दा गोपनीयता कायम रहन्छ त भन्ने अनलाइनखबरको प्रश्नमा शर्माले भने, ‘सरकारी कागजात धुल्याउने नियम छ । व्यक्तिगत विवरण भएका महत्वपूर्ण कागजात हामी धुल्याउँछौं ।’

मन्त्रालयले काम नलाग्ने भनेर फालेका कतिपय दस्तावेज भने महत्वपूर्ण देखिन्छन् । शिक्षा सम्बन्धी नियम, कानुन र प्रतिवेदनका संग्रह, शिक्षा मन्त्रालयले विभिन्न समयमा गरेका अध्ययन प्रतिवेदन, पुराना खर्च विवरण र किताबहरु पनि छन् । उपत्यकाका सांस्कृतिक तथा धार्मिक सम्पदासम्बन्धी नक्सासहित गरिएका अध्ययन सामग्री पनि मन्त्रालयले काम नलाग्ने भनेर फालेको छ । पुराना क्यासेट, सिडी, प्रश्नपत्रलगायतका सामग्री महल परिसरमा अलपत्र छन् ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?