+
+

प्रधानमन्त्रीलाई प्रकाशमानको ध्यानाकर्षणपत्र– मेलम्चीको पानी निर्वाध वितरण होस्

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते १२:५०

२० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नं. १ का सांसद प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाको पानी स्थायी रुपमै काठमाडौं ल्याउने गृहकार्य अघि बढाउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । त्यसका लागि आयोजनाका कर्मचारी र मुहान क्षेत्रका स्थानीयका माग सम्बोधन गर्नुपर्ने लगायतका सुझाव नेता सिंहले दिएका छन् ।

केही दिन अगाडि मेलम्ची खानेपानी आयोजना स्थल पुगेर फर्किएका नेता सिंहले आज बिहान प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवालाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘केही महिनादेखि सेवा सुविधा नपाएको भनी कर्मचारीले अन्तिममा पानी पठाउन रोकेर आन्दोलन गर्ने तयारी रहेको खबरले महानगरवासी लगायत सम्पूर्ण नागरिक चिन्तित छौं । तत्काल कर्मचारीको माग सम्बोधन गरी पानी काठमाडौं ल्याउने र स्थायीरुपमै पानी ल्याउनका लागि आवश्यक गृहकार्य गम्भीरताका साथ अघि बढाउन ध्यानाकर्षण गराउँदछौं ।’

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको उल्लेख भएकाले आयोजनाको काम कारवाहीमा अन्योलता देखिएको भन्दै सिंहले तत्काल मेलम्ची खानेपानी विकास समिति ब्यूँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिनुपर्ने सुझावसमेत दिएका छन् ।

हाल हिउँदमात्र काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानीलाई सधैंभरी निर्वाध रुपमा काठमाडौं उपत्यकामा वितरणको व्यवस्था मिलाउन तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कामका बुँदाहरु उनले ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।

हेर्नुहोस् ध्यानाकर्षण पत्रको व्यहोरा–

 २०७९ मंसिर २० गते

सम्माननीय प्रधानमन्त्रीज्यू,

सिंहदरबार, काठमार्डौं ।

विषय : ध्यानाकर्षण पत्र ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना काठमाडौंबासीको खानेपानी समस्या समाधानको प्रमुख स्रोत हो । नेपाली कांग्रेसका संस्थापक नेता एंव पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ज्यूले देख्नु भएको मेलम्चीको खानेपानी काठमाडौं ल्याउने सपना कांग्रेस नेतृत्वमै साकार भएको छ । यो हामी सबैका लागि गौरवको विषय हो । मेलम्चीको पानी काठमाडौं ल्याउन सरकारले देखाएको अग्रसरता र पहलकदमी प्रति काठमाडौंवासी आभारी छौं । २०७८ असार १ गते मेलम्चीमा गएको विनाशकारी बाढीपहिरोका कारण मेलम्चीको भविष्य अहिले अन्योलमा पर्ने होकी भन्ने काठमाडौँबासीमा चिन्ता छाएको छ । बाढीपहिरोपछि हिउँदको समयमा अस्थायी रुपमा भएपनि काठमाडौं ल्याउने काम भएको छ । काठमाडौंको खानेपानी समस्या समाधानका लागि मेलम्ची आयोजनालाई पानी दीर्घकालीन रुपमा अगाडि बढाउनुपर्ने स्थलगत निरीक्षणपछि आवश्यकता महसुस भएको छ । त्यस कार्यमा सरकारको भूमिका प्रभावकारी रहनुपर्ने देखिन्छ । तसर्थ तपसिलका विक्ष्यमा सरकारले तत्काल कदम चाल्नुपर्ने आवश्यकताबारे जानकारी गराउदछौँ ।

तत्काल गर्नुपर्ने काम

१. आर्थिक वर्ष २०७९।८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको उल्लेख भएकोले आयोजनाको काम कारवाहीमा अन्योलता देखिएकोले तत्काल मेलम्ची खानेपानी विकास समिति ब्यूँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिनुपर्ने ।

२.मुहान क्षेत्रका स्थानीय तहको माग सम्बन्धमा सम्बन्धित पालिकासँग छलफल गरी टुंगोमा पुग्नुपर्ने ।

३.सिएमसीले राखेका माग कानूनको परिधिभित्र रही सम्बोधन गर्न आवश्यक कार्य गर्नुपर्ने ।

४.वर्षैभरी पानी पथान्तरणका लागि फास्टट्रयाकमा कार्यान्वयन गर्नु गराउन आवश्यक निर्णय लिनुपर्ने ।

५ कर्मचारीको तलबसुविधा लगायतका विषय तत्काल सम्बोधन गर्न आवश्यक छ ।

दीर्घकालीन रूपमा गर्नुपर्ने

१.बाढीपहिरोपछि सोको कारणबारे एसियाली विकास बैंक लगायतका अन्तर्राष्ट्रिय संघसंस्थाले अध्ययन गरि पेश गरेको प्रतिवेदनको निष्कर्ष अनुसार आयोजना अगाडि बढाउनुपर्ने ।

२. अहिले खानेपानीको इन्टेक रहेको स्थान असुरक्षित भए नभएको प्राविधिकबाट अध्ययन गरी गराई असुरक्षित भए उपयुक्त स्थानमा इन्टेक बनाउनुपर्ने ।

३.मेलम्ची बाढिपहिरोले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा भएको क्षतिलाई सम्बोधन गर्न पुनर्निर्माण लगायतका उचित व्यवस्था गर्नुपर्ने ।

४. मुहान क्षेत्रमा सरकारले ध्यान नदिएका स्थानीयको गुनासो सम्बोधन गर्न मुहान क्षेत्रसम्म पक्की सडक बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा सरकारले विशेष पहल गर्नुपर्ने ।

मेलम्चीको मुहान क्षेत्रमा अझै बाढिपहिरोको जोखिम रहिरहेको छ । अहिले अस्थायी रुपमा पानी ल्याउने तयारीले हामी उत्साही छौं । तर, केही महिनादेखि सेवा सुविधा नपाएको भनी कर्मचारीले अन्तिममा पानी पठाउन रोकेर आन्दोलन गर्ने तयारी रहेको खबरले महानगरवासी लगायत सम्पूर्ण नागरिक चिन्तित छौं । तत्काल कर्मचारीको माग सम्बोधन गरी पानी काठमाडौं ल्याउने र स्थायी रुपमै पानी ल्याउनका लागि आवश्यक गृहकार्य गम्भीरताका साथ अघि बढाउन ध्यानाकर्षण गराउँदछौँं । 

काठमाडौँ जिल्लाका जनप्रतिनिधिहरुको तर्फबाट

प्रकाशमान सिंह

प्रतिनिधि सभा सदस्य,

काठमाडौं क्षेत्र नं १

बोधार्थ तथा कार्यार्थः खानेपानी मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?