१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनामा काम गरेका कर्मचारीहरुले तलबभत्ता नपाएको गुनासो गरेको भन्दै उनीहरुका गुनासा सम्बोधन हुनुपर्ने बताएका छन् । उनले मेलम्चीवासीका समस्या पनि सरकारले सम्बोधन गर्नुपर्ने उनले बताए ।
मेलम्ची खानेपानी आयोजनास्थलको अवलोकन गरेपछि सन्चारकर्मीसँग कुरा गर्दै उनले जटिल समयमा काम गर्दा पनि कर्मचारीहरुले तलब पाउन नसक्नु र मेलम्चीवासीका समस्या समाधान नहुनु दुःखद भएको बताए ।
मेलम्चीको व्यवस्थापन पनि कामचलाउ ढंगले मात्र भएको आफूले पाएको बताउँदै उनले भने, ‘कर्मचारीहरुले तलब पाएका छैनन् । क्राइसिसको समयमा काम गर्ने कर्मचारीले समयमा तलब पाउनुपर्छ । व्यवस्थापनमा पनि कामचलाउ तवरले मात्रै चलिरहेको देखियो । यसलाई म्यानेज गर्नुपर्छ । मेलम्ची खानेपानी वितरण बोर्डलाई के गर्ने त्यसको निर्णय हुनुपर्छ ।’
मेलम्ची खानेपानी वितरण बोर्डलाई गत आर्थिक वर्षको बजेटबाट नै रद्ध गरिएका कारण कर्मचारीहरुले तलब पाउन नसकेको भन्दै उनले बोर्डलाई के गर्ने भन्नेबारे सरकारले निर्णय लिनुपर्ने बताए ।
नेता सिंहले काठमाडौंमा पानी पठाइसकेपछि उठेको २५ प्रतिशत रकम स्थानीय पालिकाहरुलाई दिनुपर्नेसमेत बताए । उनले भने, ‘सरकारले राजधानीलाई पानी खुवाउने ठाउँको स्रोतको पालिकाको कुरा नै सुनेको छैन भन्ने गुनासो आएको छ । पानी काठमाडौंमा पठाइसकेपछि उठेको पैसा २५ प्रतिशत पालिकाले पाउनुपर्छ । त्यसमा तलमाथि गर्नुहुँदैन ।’
निर्वाचनका बेलामा काठमाडौंका जनताले मेलम्चीको पानी साँच्चिकै काठमाडौं आउने हो वा नेताहरुको चुनावी एजेण्डा मात्रै हो ? भन्नेजस्ता प्रश्न गरेकाले आफू त्यसबारे बुझ्न मेलम्ची आएको उनले बताए । आफू काठमाडौंबाट पुनः निर्वाचित भएकाले अबको दिनमा संसद र सम्बन्धित निकायहरुमा काठमाडौंमा मेलम्चीको पानी लैजानका लागि दबाब दिने र गुनासा सम्बोधनका लागि पहल गर्ने पनि बताए ।
नेता सिंहले संघीय सरकार, प्रदेश सरकार र सम्बन्धित पालिका सहभागी भइ विज्ञहरुले दिएको सुझावमा छलफल गरी व्यवस्थित तरिकाले पानी वितरण गर्न आवश्यक रहेको बताए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4