+
+

कठघरामा मनाङे : मलाई मुख्यमन्त्री दिए पनि काम छैन

अन्तिम मात्रै होइन, यही ताल हो भने त देश नै छोड्नुपर्ने स्थिति आइसकेको छ, तपाईंहरुले बुझ्नुपर्ने कुरा हो यो ।

रामकुमार डिसी रामकुमार डिसी
२०७९ मंसिर २० गते १९:४२

२० मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको एउटा विशेषता छ । उनै प्राय: कार्यक्रममा समयमै पुग्छन् । आफू ढिला गर्दैनन्, अरुका कारणले ढिला भए प्रश्न उठाउँछन् ।

तर, मंगलबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमै आयोजना गरिएको कार्यक्रम झण्डै एक घण्टा ढिला भयो । कार्यक्रम थियो, सोमबार पार्टी प्रवेश गरेका राजीव गुरुङ उर्फ दीपक मनाङेलाई स्वागत गर्ने पत्रकार सम्मेलन ।

मिडियालाई तीन बजेको खबर दिइएको थियो, मनाङे करिब एक घण्टा ढिला गरी आएपछि कार्यक्रम सुरु भयो ।

एक घण्टादेखि हलमा मनाङेलाई पर्खिरहेका पत्रकारले गुनासो पोखिहाले । महासचिव बेदुराम भुसाले जवाफ फर्काए, ‘पहिलोपल्ट भयो यस्तो ।’ कार्यक्रम ढिला गरी सुरु भएकोमा उद्घोषकले पत्रकारसामू क्षमा पनि मागे ।

अनि सुरु भयो, मनाङेको मानमनितो । महासचिव भुसाल, उपमहासचिव गंगालाल तुलाधर लगायतले उनलाई टिका/खादा लगाएर स्वागत गरे । स्वागत सत्कार सकिएपछि उद्घोषकले मनाङेलाई आफ्ना कुरा भन्न आग्रह गरे ।

‘भर्खरै पार्टीमा प्रवेश गर्नुभएका गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङलाई आफ्नो केही भनाइ राख्न अनुरोध गर्न चाहन्छु,’ उद्घोषकले अनुरोध गरे । तर, राजीव बोल्न इच्छुक देखिएनन् । अनि उद्घोषकले पनि भनिदिए–उहाँ नबोल्ने रे ।

उद्घोषकको कुरालाई तुरुन्तै सच्याए उपमहासचिव तुलाधरले । ‘नबोल्ने भनेको होइन, अघि विज्ञप्तिमा आइसकेकाले बोल्नुपर्दैन होला भनेको,’ उनले प्रष्ट्याए ।

मनाङे नबोलेपछि उद्घोषकले महासचिव भुसाललाई केही कुरा राख्न ‘पोडियम’मा बोलाए । भुसाल गएर मनाङेबारे चर्चा परिचर्चा गरे । विगतमा मनाङेमाथि अनेक टिप्पणी हुने गरेको भन्दै उनले विगतको आँखाबाट मात्रै मनाङेलाई नहेर्न आग्रह गरे । ‘उहाँको विगतलाई लिएर कतिपय टिप्पणी गर्ने गरेको पाइन्छ’, भुसालको भनाइ थियो, ‘तर, हामीले के बुझ्नुपर्छ भने मान्छे नै हो जसले राम्रो काम पनि गर्छ । कहिलेकाहीँ काम गर्दै जाँदा गल्ती पनि गर्छ । मान्छेलाई विगतको आँखाले मात्रै पनि हेर्नु हुँदैन ।’

मनाङेले आफ्नो बिगतलाई बदलेर जनसेवाको भावनाले राजनीति गर्छु भन्ने प्रतिवद्धता जनाएको भन्दै भुसालले उनलाई सकरात्मक ढंगले हेरिदिन आग्रह गरे । भुसाल त्यतिमै रोकिएनन् ।

एक कदम अघि बढेर मनाङेबाट केही सिक्नुपर्छ समेत भनिदिए । ‘समाजमा भएका कहिलेकाहीँ विगतमा बाटो बिराएर समाजले नरुचाउने खालका काम गर्ने व्यक्तिहरु पनि हुनुहुन्छ भने उहाँले जसरी नयाँ ढंगले अगाडि बढ्ने प्रतिवद्धता गर्नुभएको छ, एक अवधि प्रदेश सरकारको मन्त्री भएर पनि काम देखाइसक्नु भएको छ’, भुसालले भने, ‘त्यसबाट सिक्नुपर्छ । उहाँले गरेका कामबाट सिक्नुपर्छ भन्ने मलाई लाग्छ ।’

उनले बोलिसकेपछि सुरु भयो सवाल जवाफ । आफूमाथि पत्रकारले प्रश्न बर्साउन थालेपछि अघि बोल्दिनँ भनेका दीपक मञ्चबाट उठेर पोडियमतर्फ लागे । एक हिसाबले उनी पत्रकारको प्रश्नको कठघरामा उभिए ।

पत्रकारले एक, एक गर्दै प्रश्न सोध्दै गए । उनले पनि जवाफ दिँदै गए । कतै प्रश्नको सीधा जवाफ दिए । कतै निकै बरालिए । उनीलाई धेरै सोधिएको प्रश्न हो, मन्त्री खान पार्टी प्रवेश गरेको ?

उनले मन्त्री आफ्ना लागि ठूलो कुरा नभएको, व्यक्ति एक्लै भन्दा पार्टीको शक्ति हुन्छ भन्ने बुझेर लागेको बताए । मनाङेले मन्त्री आफ्ना लागि मामुली चिज भएको तर त्यो पद पाउन सजिलो भने नभएको टिप्पणी गरे । ‘तपाईंहरुले के बुझ्नुपर्छ भने मन्त्री भनेको कसैले दिएर पाउने चिज होइन’, मनाङेले भने, ‘दिएर पाउने भए सबैजना मन्त्री हुन्थे । तपाईंहरु पनि यहाँ हुनुहुन्थेन । तपाईंहरुले पनि मन्त्री पाउनुहुन्थ्यो होला । त्यसरी पाउने चिज होइन, धेरै दु:ख गर्नुपर्छ । मन्त्री के हो भन्ने कुरा जब तपाईं मन्त्री हुनुहुन्छ, तब थाहा पाउनुहुन्छ । अहिले मैले भनेर तपाईंहरुले त्यो अनुभव गर्न सक्नुहुन्न ।’

पार्टी फेरिरहने प्रवृत्तिबारे सोधिएको प्रश्नमा उनले अब त्यसो नगर्ने बताए । फेरि पार्टी फेर्नुपरे राजनीति नै त्याग्ने उनले प्रतिवद्धता समेत जनाए । ‘यो पार्टीभन्दा अर्को पार्टी जानुपर्‍यो भने मैले राजनीति छोडिदिन्छु’, उनको घोषणा थियो ।

एकीकृत समाजवादीमा गएर के सिक्नु हुन्छ भन्ने पत्रकारको प्रश्नमा भने उनले आफूले केही सिक्न नपर्ने जवाफ दिए । ‘समाजवादी पार्टीबाट त मैले त के सिक्नुपर्छ र सबै कुरा त मलाई नै आउँछ नि’, मनाङेको जवाफ थियो, ‘के म स्कुल आएको हो र ?’

उनको केही जवाफले पनि हलमा पत्रकारको हाँसोको फोहोरा नै छुटेको थियो । समानुपातिकतर्फको मत गणना अन्तिमतिर पुग्दै गर्दा एकीकृत समाजवादीले राष्ट्रिय पार्टी बन्ने थेस्रहोल्ड पार गर्ने देखिएको छैन । यस्तोमा पत्रकारहरुले सोधे– ‘अब पार्टीलाई राष्ट्रिय पार्टी बनाउने जिम्मेवारी तपाईंको काँधमा आयो नि ?’

‘म भन्दा यत्रो ठूलो ठूलो नेता हुँदा बनेन भने मैले गएर के हुन्थ्यो होला र ?,’ उनले यति भनेपछि हलमा हाँसो गुञ्जियो । अनि दीपकले अघि भने, ‘अब म बनाउँछु ।’

मनाङेको विगतबारे भुसालले नै बोलिसकेकाले यसबारे पत्रकारले भने खासै प्रश्न गरेनन् ।

पत्रकार र मनाङेको सवाल जवाफ :

प्रश्न : तपाईं स्वतन्त्र सांसदका रुपमा निर्विरोध निर्वाचित हुनुभएको थियो । अहिले पार्टी प्रवेश गर्नुभयो । यसले जनमतको अपमान हुन्छ कि हुँदैन ?

गुरुङ : यो मैले एक्लै निर्णय गरेको होइन । तपाईंहरुलाई एउटा जानकारी के हुनुपर्छ भने म अहिले गण्डकी प्रदेशको मिनिस्टर हो । म सिंगो नेपालको होइन । हाम्रो जनसंख्या गण्डकीमा २०-२५ घर मात्रै छ ।

धेरै जनसंख्या हाम्रो काठमाडौंमा छ, सेन्टरमा बस्छ । त्यो भएको भएर मलाई चाहिँ पार्टीको आवश्यकता छ अहिले । म एक्लैले गण्डकीमा बसेर काम गर्न सक्दिनँ । पार्टी भयो भने मलाई सपोर्ट पनि हुन्छ । त्यो भएर हामीले डिसिजन गर्‍यौं । ओके भएर आएको हो ।

प्रश्न : एक्लै हुँदा मन्त्री बन्न सकिदैन, पार्टीमा जाँदा बार्गेनिङ पावर बढ्छ भनेर प्रवेश गर्नुभएको हो ?

गुरुङ : तपाईंहरुको त्यो भनाइ ठीकै हो । धेरै मान्छेले यो कुरा सोचि पनि रहेका छन् । तपाईंलाई यो थाहा हुनुपर्छ कि गठबन्धनको सरकार गण्डकीमा ‘अलरेडी’ भइसक्यो । हामीसँग ३८ सिट छ अहिले । त्यो हिसाबले मिनिस्टर भनेको ठूलो कुरा होइन ।

मलाई यति धेरै मन्त्री अफर भयो कि तर मैले किन युवा तथा खेलकुद मन्त्रालय लिएँ भन्ने कुरा तपाईंहरुले बुझ्नुपर्छ । यो पार्टीमा आएर सरकारमा मिनिस्टर हुनुपर्छ भन्ने छैन । हामी त्यत्तिकै मिनिस्टर हुन पाउँछौं । गठबन्धनको सरकार अहिले नै बन्ने भइसक्यो, त्यो तपाईंहरुलाई थाहा हुनुपर्ने कुरा हो ।

प्रश्न : गठबन्धन भन्दा बाहिर बसेर मन्त्री हुन पाइँदैन भन्ने तपाईंको बुझाइ हो ?

गुरुङ : गठबन्धनभन्दा बाहिर बस्नै पर्दैन । हामी गठबन्धनबाटै ‘इलेक्सन’ लडेको मान्छे हो । हामी कसरी गठबन्धनभन्दा बाहिर बस्न मिल्छ ?

प्रश्न : त्यसो भए मुख्यमन्त्रीका लागि आउनु भयो होला हैन ?

गुरुङ: मुख्यमन्त्री दिए पनि काम छैन । त्यसका लागि अनुभव चाहिन्छ । मुख्यमन्त्री भनेको मान्छेले घरमा बसेर देश यो बनाउँछु, त्यो बनाउँछु भनेको जस्तो होइन । मुख्यमन्त्रीको अनुभव मसँग छैन पनि । तपाईंहरु सबैले दिनुभयो भने पनि मलाई चाहिँदैन ।

प्रश्न : तपाईं यो पार्टीमा प्रवेश गरेपछि पार्टीलाई फाइदा के हुन्छ ?

गुरुङ : एकीकृत समाजवादी पार्टी अहिले बनेको हो । म पहिले पनि नेपाल कम्युनिष्ट पार्टीको सदस्य थिएँ । जब नेपाल कम्युनिष्ट पार्टी फुट्यो, त्यसपछि म स्वतन्त्रमै ‘ब्याक’ भएँ । अहिले गठबन्धनमा समाजवादी पार्टी भएकाले म प्रवेश गरेको हुँ । उहाँहरुलाई फाइदा त अब प्रदेशमा पार्टी एक सिटको भइसक्यो जस्तो लाग्छ मलाई ।

प्रश्न : एकीकृत समाजवादीबाट तपाईंले धेरै बजेट भएको मन्त्रालय पाउनुहुन्छ भन्ने चर्चा छ नि ?

गुरुङ : तपाईंले भनेको एकदमै राम्रो चाहिँ हो । तर, तपाईंलाई थाहा हुनुपर्छ मलाई गठबन्धनले खेलकुद मन्त्रालय दिएको होइन । गठबन्धनलाई मैले दिएको हुँ । मलाई एमालेले दिएको थियो खेलकुद मन्त्रालय । तपाईंहरुलाई थाहा हुनुपर्ने कुरा हो यो ।

प्रश्न : मेरो लागि मन्त्री केही होइन भन्नुभयो । त्यसो भए किन मन्त्री पदमा बसिरहनुभएको ?

गुरुङ : मैले मन्त्री छोड्छु भनेर त्यसरी पाउँदैन । तपाईंहरुले के बुझ्नुपर्छ भने मन्त्री भनेको कसैले दिएर पाउने चिज होइन । दिएर पाउने भए सबैजना मन्त्री हुन्थे । तपाईंहरु पनि यहाँ हुनुहुन्थेन । त्यसरी पाउने चिज होइन, धेरै दु:ख गर्नुपर्छ । मन्त्री के हो भन्ने कुरा जब तपाईं मन्त्री हुनुहुन्छ, तब थाहा पाउनुहुन्छ त्यो कुरा । अहिले मैले भनेर तपाईंहरुले त्यो अनुभव गर्न सक्नुहुन्न ।

प्रश्न : अब बन्ने मन्त्रिपरिषदमा तपाईंको दाबी हुन्छ कि हुँदैन ?

गुरुङ : मैले दाबी गर्ने होइन । मेरो पार्टीको सभापति (अध्यक्ष भन्न बिर्से) ले भन्ने हो ।

प्रश्न : एकीकृत समाजवादीसँग विचार, सिद्धान्त मिल्यो भनेर तपाईं पार्टी प्रवेश गर्नुभएको छ । २०७३ भन्दा अघि कांग्रेस निकट हुनुहुन्थ्यो । २०७३ मा राप्रपाको जिल्ला अध्यक्ष निर्वाचित हुनुभएको थियो । एक वर्षमै स्वतन्त्र भएर चुनाव जित्नु भयो । त्यसपछि नेकपा प्रवेश गर्नुभयो । अब तपाईंले एकीकृत समाजवादीलाई के सिकाउनुहुन्छ ? यो पार्टीका नेताहरुबाट के सिक्नुहुन्छ ?

गुरुङ : अहिले पनि हामी गठबन्धनमै छौं । सरकार बन्छ भने प्रदेशमा गठबन्धनकै बन्छ । मैले त्यतिसारो व्याख्या गर्नुपर्दैन । समाजवादी पार्टीबाट त मैले त के सिक्नुपर्छ र सबै कुरा त मलाई नै आउँछ नि । के म स्कुल आएको हो र ?

प्रश्न : तपाईं युवा त खेलकुद मन्त्री भएर काम चाहिँ के के गर्नुभयो ?

गुरुङ : मैले यो कुरा २५ चोटी भनिसकेको छु । घरिघरि यही भनिराख्नु हुँदैन । तपाईंलाई मैले सार्वजनिक गरेको टेप पनि ल्याएर दिन सक्छु । स्यानो, स्यानो कुरा जहिले पनि हामीले गर्दा भयंकर के के न गरेको जस्तो लाग्छ ।

२४६ वटा ग्राउन्ड (खेलकुद मैदान) मैले १७ महिनामा पूरा गरिदिएँ । तपाईंले कुनै पनि प्रदेशको खेलकुद मन्त्रीलाई गएर सोध्नुहोला, त्यो मान्छेले सुन्दा पनि ढल्न सक्छ । मैले त्यति काम गरिदिएको छु ।

राष्ट्रिय खेलकुदमा बागमती प्रदेशलाई कसैले पनि हराउन सकेको थिएन । यसपालि नवौं राष्ट्रिय खेलकुदमा बिभागीय टिमपछि त हामी फर्स्ट आएको हो त ।

प्रश्न : तपाईं र पार्टी अध्यक्षबीच कुन मन्त्रालय पाउने सहमति भएको छ ?

गुरुङ : हामी ज्योतिषी होइन । मैले कुन पाउँछु भनेर हुँदैन । म हात हेर्ने मान्छे पनि होइन । त्यही भएर यस्तो कुरातिर अहिले जानुहुँदैन ।

प्रश्न : मन्त्री नपाएपछि फेरि पार्टी छोड्ने हो कि ?

गुरुङ : मन्त्री नपाएपछि पार्टी छोड्ने होइन, राजनीति नै त्यागिदिन्छु मैले ।

प्रश्न : मन्त्री पाउनुभएन भने ?

गुरुङ : मन्त्री पाइन भने भनेको होइन । यो पार्टीभन्दा अर्को पार्टी जानुपर्‍यो भने मैले राजनीति छोडिदिन्छु । यो तपाईंहरुका अगाडि मैले प्रतिवद्धता गरेँ ।

प्रश्न : तपाईंको अन्तिम पार्टी हो यो ?

गुरुङ : अन्तिम मात्रै होइन, यही ताल हो भने त देश नै छोड्नुपर्ने स्थिति आइसकेको छ, तपाईंहरुले बुझ्नुपर्ने कुरा हो यो ।

प्रश्न : तपाईं एक, डेढ महिनाअघि नै प्रवेश गरिदिएको भए सजिलै यो पार्टी राष्ट्रिय बन्थ्यो होला त ?

गुरुङ : टाइम भन्दा अगाडि कोही पनि जान सक्दैन । मैले त्यतिबेला पार्टी प्रवेश गरेको भए मलाई अर्को समस्या के आउँथ्यो भने गठबन्धनले मलाई छोड्थ्यो । मैले उहाँहरुकै सर्मथनबाट जितेको छु ।

प्रश्न : यो पार्टीलाई राष्ट्रिय पार्टी बनाउने जिम्मा त तपाईंको काँधमा आयो नि अब ?

गुरुङ : म भन्दा यत्रो ठूलो ठूलो नेता हुँदा बनेन भने मैले गएर के हुन्थ्यो होला र (हलमा हाँसो गुञ्जियो) । अब म बनाउँछु ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?