+
+

प्रशिक्षक सान्तोषले भने– रोनाल्डोलाई बाहिर राख्नु रणनीतिक निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते १७:४६

२१ मंसिर,काठमाडौं । पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले कप्तान रोनाल्डोलाई रणनीतिक अनुरुप नै बेञ्चमा राखिएको बताएका छन् ।

स्वीट्जरल्यान्डसँगको खेलमा रोनाल्डोलाई बेञ्चमा राख्नुलाई धेरैले अनेक तरिकाले व्याख्या गरिरहँदा प्रशिक्षक सान्तोषले रोनाल्डोलाई बेञ्चमा राखेर गोन्सालो रामोसलाई खेलाउनु टिम रणनीतिको हिस्सा भएको प्रष्टीकरण दिए ।

पोर्चुगलले समूह चरणमा दक्षिण कोरियासँग २–१ को हार बेहोरेसँगै रोनाल्डोको व्यवहारका कारण उनलाई अन्तिम १६ को खेलमा स्वीट्जरल्यान्डविरुद्ध नखेलाइएको केहि सञ्चारमाध्यमले दावी गरेका थिए ।

प्रशिक्षक सान्तोषले भने, ‘कप्तान रोनाल्डोलाई बाहिर राख्नुको अरु कुनै कारण छैन । हामीले रणनीतिक रुपमै यो निर्णय गरेका हौं । उनको स्थानमा पहिलो रोजाईमा परेका रामोसले ह्याट्रिकसँगै एक पास पनि मिलाए ।’

स्वीट्जरल्यान्डलाई ६–१ ले पराजित गरेपछि पत्रकारहरुसँग बोल्दै प्रशिक्षक फर्नान्डोले भने, ‘मैले पहिला पनि रोनाल्डोलाई बाहिर राख्नुको कारण भनिसकेको छु । म यसबारे फेरि पनि भन्न चाहन्न । रामोस र रोनाल्डो दुवै फरक खेलाडी हुन् । सबै खेलाडी फरक छन् । मैले डालोट राफेललाई पनि पहिलो रोजाईमा खेलाएको थिएँ । तर गोन्सालो पनि एक उत्कृष्ट खेलाडी हुन् । मैले स्वीट्जरल्यान्डविरुद्धको खेलमा आवश्यकता अनुसार परिवर्तन गरेको हुँ ।’

यसअघि समूह चरणमा दक्षिण कोरियासँगको हारमा रोनाल्डो निकै निराश र हतोत्साहित देखिएका थिए । उनको व्यवहारका कारण उनलाई बाहिर राखिएको भन्ने चर्चा भने उनले म्यानचेस्टर युनाइटेड छोडेपछि अत्याधिक भएको हो ।

‘फर्नान्डो र रोनाल्डोबीच केही समस्या छैन । हामी लामो समयदेखि साथी हौं । यस्ता अरोप र हल्लाहरुले हामीलाई असर गर्दैन । मैले यो कुरा पहिला पनि भनिसकेको छु । यो एक वैकल्पिक रणनीति थियो । रोनाल्डो एक उत्कृष्ट कप्तान हुन्,’ सन् २०१४ यता पोर्चुगलको प्रमुख प्रशिक्षक ६८ वर्षीय सान्तोषले भने ।

सुरावाती ११ मा मैदान नउत्रिएका रोनाल्डोलाई सान्तोषले जोवा फ्लेक्सीको स्थानमा ७३ औं मिनेटमा मैदान उतारेका थिए ।  त्यतिबेला खेल ५-१ को स्थितिमा थियो ।

क्वाटरफाइनल चरणमा मोरक्कोसँगको खेलमा रोनाल्डोलाई सुरुवाती ११ मा राख्ने कि नराख्ने निर्णय अब सान्तोषले कसरी लिनेछन्, त्यतिबेलै थाहा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?