२१ मंसिर, काठमाडौं । मंगलबारराति स्वीट्जरल्याण्डमाथि ६–१ गोलको प्रभावशाली जितअघि पोर्चुगलका गोन्सालो रामोसलाई निकै कम समर्थकले चिनेका थिए । विश्वकप क्वाटरफाइनलमा ह्याट्रिक र एक असिस्टपछि यी स्ट्राइकरलाई कसैले बिर्सिने छैनन् ।
पाँचपल्टका बेलोन डी’ओर विजेता सुपरस्टार क्रिष्टियानो रोनाल्डोलाई बेञ्चमा रहेर २१ वर्षीय अनुभवहीन युवा खेलाडीलाई अवसर दिनु पोर्चुगलका ६९ वर्षीय प्रशिक्षक फर्नाण्डो सान्तोषको एक साहसिक निर्णय थियो, जुन उनको कोचिङ मास्टरस्ट्रोक सावित भयो ।
रामोसलाई पोर्चुगलमा द सर्सेरर (जादूयी) उपनामबाट चिनिन्छ । उनले आफ्नो उपनामअनुसारकै प्रदर्शन सुरु गरिहाले । विश्वकप सुरु हुनुभन्दा तीन दिनअघि अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका रामोसबाट कतारमा यस्तो जादुयी प्रदर्शनको अपेक्षाभन्दा बाहिरको थियो ।
तर, बेनफिका युवा एकेडेमीका यी उत्पादनले विश्वकपको वार्मअप खेलमा नाइजेरियाविरुद्ध पोर्चुगलले ४–१ को जित निकाल्दा १ गोल गरेर आफ्नो क्षमताको संकेत गरिसकेका थिए । त्यतिबेला पनि रोनाल्डो टिममा थिएनन् ।
रामोसले पोर्चुगलले समूह चरणमा खेलेको तीन खेलमा कुल १० मिनेट मैदानमा प्रदर्शन गर्ने अवसर पाएका थिए । तर, नकआउट चरणमा उनले आश्चर्यजनक रुपमा सुरुवाती टिममा मौका पाए । सान्तोषले देशका सर्वकालीन सर्वाधिक गोलकर्तालाई बेञ्चमै सीमित राखेर युवा खेलाडीका साथ जोखिम लिने विकल्प चुने ।
यसको नतिजा पोर्चुगलले अघिल्ला खेलहरुको तुलनामा धेरै आक्रमण बुनेको थियो । जोआओ फेलिक्स र ब्रुनो फर्नाण्डेजले पनि यो खेलमा खुलेर खेल्न पाएका थिए । किनभने धेरै वर्षदेखि पोर्चुगलको अग्रपंक्ति रोनाल्डोका साथ सुरु हुने र उनकै साथ अन्त्य हुने परम्पराजस्तो बनिसकेको थियो । तर, अब उसको आक्रामक क्षमता अप्रत्यासित रुपमा बढेको छ ।
रामोस न रोनाल्डो जति शारीरिक बनावटका छन् न त पोर्चुगलका कप्तानजसरी अगाडि बढेर खेल्छन् । तर, बलमा निपूर्णता र तीव्र गतिले उनी हरेक समय स्वीस रक्षापंक्तिका लागि खतराका रुपमा रहिरहे ।

लुसेल रंगशालामा उपस्थित हजारौं समर्थकले एकस्वरमा ‘रोनाल्डो, रोनाल्डो’ भनिरहेका थिए । उनीहरु सुपरस्टारलाई मैदानमा देख्न चाहन्थे ।
रामोसले आफ्नो डेब्यू विश्वकपमा ह्याट्रिक गरे, जुन सफलता २० वर्षअघि जर्मनीका मिरोस्लाभ क्लोजले पनि पाएका थिए । एक खेलमै सबैको मनमा रहन सफल भएका रामोसको टिमले क्वाटरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्दा पनि उनीबाट सोही अपेक्षा गर्नेछ ।
३७ वर्षीय रोनाल्डो खेलको अन्त्यतिर सब्स्टिच्युडका रुपमा मैदान प्रवेश गरे र हजारौं समर्थकले उनलाई स्वागत गरे । तर, त्यतिबेलासम्म पोर्चुगलका नयाँ नायकको उदय भइसकेको थियो । उनी अव केवल जादूयी खेलाडीमात्र रहने छैनन् ।
– रोयटर्सको सहयोगमा
 
                    










 २०७९ मंसिर  २१ गते १३:४४
                        २०७९ मंसिर  २१ गते १३:४४                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4