+
+

पारिजात-शङ्कर सम्बन्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २२ गते ९:३०

पारिजातको पहिलो प्रकाशित उपन्यास तथा दोस्रो प्रकाशित पुस्तक शिरीषको फूलमा शङ्कर लामिछानेले लेखेको भूमिका चर्चित, विवादास्पद र सर्वव्यापक भयो । अनि पारिजात र शङ्कर लामिछानेबीचको सम्बन्धलाई लिएर धेरै बजारहल्ला पनि आए । शङ्कर लामिछाने र पारिजातको प्रथम भेट भने बडो रोचक ढङ्गले भएको थियो । पारिजातकै शब्दमा-

शङ्कर लामिछानेलाई एउटा लेखकका रुपमा चिन्नुभन्दा पहिले उहाँलाई मैले दार्जीलिङको प्रसिद्ध स्कुल, नेपाली कन्या पाठशालाको विशिष्ट र लोकप्रिय छात्रा रत्ना दिदीको श्रीमान्का रुपमा चिनेकी थिएँ । त्यसपछि… पद्मकन्या कलेज आइएमा पढ्दा एक दिन एउटी सहपाठिनीले सोधी, “तैंले शङ्कर लामिछानेको…फलानो कथा पढेकी छेस् ?”

“अहँ, मैले उनलाई सुरू गरेको छैन,” मेरो प्रत्युत्तर थियो । त्यति नै खेरि उसले मलाई जतिसक्दो साहित्यिक ढङ्गमा त्यो कथा सुनाई । त्यसको केही दिनपछि अचानक कार्यक्रम बनाएर हामी नेपाल–भारत सांस्कृतिक केन्द्रमा उहाँलाई भेट्न गयौं र उहाँलाई नै भेटेर हामीले हामीलाई लेखक शङ्कर लामिछानेलाई चिनाइदिनुस् भनी आग्रह ग¥यौं । हाम्रो अल्लारेपनदेखि उहाँ मज्जासँगले हाँस्नुभयो । व्यक्तिगत परिचयको यो पहिलो खुड्किलो थियो । (पारिजात : रुपरेखा, शङ्कर लामिछाने विशेषाङ्क, पृष्ठ २१४)

पारिजातसँगको पहिलो भेटलाई शङ्कर लामिछानेले पनि यसरी लिपिबद्ध गरेका थिए-

पारिजात आई पनि मेरो जीवनमा अनौठोसँग । लाइब्रेरियन भएको मेरो अवतारमा ऊ आफ्ना साथीसँगाती लिएर उपस्थित भई । र भनी, “नेपालका लेखकहरुलाई निश्चय पनि सबैलाई चिन्नुभएको छ । हामीलाई एक पटक शङ्कर लामिछानेसँग परिचय गराइदिनुहोस् ।” मैले भन्ठानें, यो मेरो जीवनको ठूलो ठट्टा हो । तर होइन रहेछ, उनीहरुले साँच्ची नै लामिछानेलाई चिन्न खोजेका रहेछन् । म तीनछक परें । त्यस बेला पारिजात, पारिजात भइसकेकी थिइन । ऊ विष्णु वाइबा थिई । (शङ्कर लामिछाने : ‘शिरीषको फूल’को भूमिका, पृष्ठ क र ख)

यो भेटका बेलासम्म पारिजातले उपन्यासकारको सपना पालेकी थिइनन् । त्यो सपनाको उदय पनि भएको थिएन । लेखेका उपन्यासले अस्वीकारको पीडा भोग्दा आफ्नै हातले सिर्जेका रचनालाई आगो लाउन बाध्य हुने अवस्था आउँछ भन्ने पनि सोचेकी थिइनन् । न त कुनै दिन शिरीषको फूल लेखेर यिनै शङ्कर लामिछानेलाई भूमिका लेखाउने धोको पूरा गर्छु र मदन पुरस्कार पाउँछु भन्ने नै कल्पना थियो ।

यो परिचयपछि पारिजात शङ्कर लामिछानेका कृतिहरुसँग परिचित हुँदै गइन् । उनका कविताहरु पनि प्रकाशन हुन थाले । त्यसैबीच रोदीमा उनी सहभागी भइन् । भूपीसँग अन्तरङ्ग मित्रता भयो । तर त्यसले पनि उनलाई शङ्कर लामिछानेको नजिक पु¥याएन । उनले गोष्ठीहरुमा पनि कतै देखिनन् शङ्कर लामिछाने । तर चासो भने अति थियो उनलाई । त्यही चासोले उनले थाहा पाइन्, शङ्कर लामिछानेले पनि उनको एउटा कविता मन पराए रे भनेर । तर उनीहरुको व्यक्तिगत परिचय नेपाल–भारत सांस्कृतिक केन्द्रमा जेजति भयो, त्यहीँको त्यहीँ बस्यो । झाङ्गिएन । फैलिएर विस्तारित भएन ।

तर शङ्करको लेखन उनलाई अति प्रिय थियो । उनकै शब्दमा-

उहाँका कृतिहरु मलाई असाध्य मन पथ्र्याे । विशेष लेखहरु नै । उहाँका कृतिहरुलाई मैले एकपल्ट होइन, कैयन्पल्ट पढ्थें । भाषा र शैली उहाँको सम्मोहनकारी हुन्थ्यो । साधारणभन्दा साधारण वस्तुलाई उहाँ विशाल कलात्मक रुप दिन सक्नुहुन्थ्यो । (पारिजात : रुपरेखा, शङ्कर लामिछाने विशेषाङ्क, पृष्ठ २१५)

पारिजात र शङ्कर लामिछानेको अन्तरङ्ग सम्बन्ध छोटो समयका लागि मात्र भएको थियो । राल्फा समूहमा रम्न थालेपछि र पारिजातको डेरामा कहिले मञ्जुल, कहिले रामेश त कहिले अरुहरु हुन्थे । त्यो शङ्करलाई सायद मन परेन र त्यो डेरामा उनको गमन पातलिँदै गयो । तर शङ्करले शिरीषको फूलमा लेखेको भूमिकामा पारिजातलाई जसरी चित्रण गरे, सम्बन्धका हिसाबले त्यो भने सामान्य मान्न सकिने थिएन ।

भूमिकामा उनले लेखिदिए- पारिजात आई पनि मेरो जीवनमा अनौठोसँग । (शङ्कर लामिछाने : ‘शिरीषको फूल’को भूमिका, पृष्ठ, क)

शङ्करको लेखाइको बेजोडपना र भन्न चाहेको भन्न सक्ने हिम्मत शिरीषको फूलको भूमिकामा छर्लङ्ग देखिन्थ्यो । सम्बन्धका कुरा, विचारका कुरा, मनका कुरा, प्रेमका कुरा, प्रेमका परिभाषा सबैथोकको कोलाज भूमिकामा लेखे । पारिजातलाई उनी कस्तो र कसरी प्रेम गर्थे भन्ने सोझोबाङ्गो सबै अर्थ उनले पस्किदिए सार्वजनिक रुपमा-

पारिजातलाई म प्रेम गर्छु । कसोकसो एउटी बहिनीभन्दा बढी नै सायद प्रेमिकाजति नै, जोसँग आत्मीय मात्र संसर्ग होओस्, जोसँग यौनको सम्बन्ध तुच्छकर वा हेयकर लागोस् । र यौनलाई नअँगालेर यदि प्रेमको अर्गाज्म (चरमसीमा)को कल्पना सम्भव छ भने, मैले उसलाई गरेको प्रेमको परिभाषा त्यही मात्र हुन सक्ला ।

अहँ म मान्दिनँ !

यति आधुनिक उपन्यासकी लेखिकाका लागि मैले स्वयम् दिएको परिभाषा खिइसकेका उपमाहरुमा आधारित छ । म एकदमै नयाँ उपमा दिन्छु । भन्छु— मास्सिन लागेको आफ्नो स्पाइसेसको अन्तिम कडीप्रति अघिल्लो कडीको प्रेम हो मेरो । त्यससँग यत्ति आफन्ती सम्बन्ध छ कि, न त प्रजनन सम्भव छ, न त पर्याप्ति नै । एक मनले चाहन्छ, यही हो मेरो स्वप्नको साकार रुप र अर्काे मनले भन्छ, यही नै हो पूर्णविराम । (शङ्कर लामिछाने : ‘शिरीषको फूल’को भूमिका : पृष्ठ क)

पारिजातसँग शङ्कर लामिछानेको तपाईं र तिमीको सम्बन्ध थियो । पारिजात आदरका साथ तपाईं भन्थिन् भने शङ्कर तिमी भन्थे । त्यति मात्र होइन, पारिजातलाई गोलभेंडाको अचार मगाएर उनको कोठामा रक्सी खान चाहनु, चाहना मात्र नभएर अपनत्वको सङ्केत हो, अन्तरङ्गताको सूचक हो, जसलाई पारिजात स्वयम्ले उद्घाटित गरिन्-

‘शिरीषको फूल’को पाण्डुलिपि मकहाँ पु¥याउन आउँदा उहाँले बाटामा एउटा पसल देख्नुभएछ । मेरो डेरामा आइपुग्नुभएपछि उहाँले भन्नुभयो, “बहिनी त्यो परको बारा पसलमा मैले गोलभेंडाको रातो अचार देखें, तिमी त्यो अचार मगाऊ । म आज रक्सी पिउँछु ।” (शङ्कर लामिछाने मेरा आन्तरिक कुराहरु : पारिजात : रुपरेखा, शङ्कर लामिछाने विशेषाङ्क, माघ २०३३, पृष्ठ २१६)

शङ्कर लामिछानेको त्यो फर्माइस पारिजातले पु¥याइदिइन् । पारिजातको मूल्याङ्कनमा शङ्कर लामिछानेलाई रक्सीको भन्दा बढी भावुकताको नशा लाग्थ्यो । एउटी अविवाहित लेखिकाको कोठामा गएर रक्सी पिउन अचार मगाउने साहस जोकोहीले गर्न सक्ने कुरा थिएन । त्यस्तो साहस कसैले गरिहाले पारिजातले पूरा गर्न सक्ने पनि हुन्नथ्यो । यो त शङ्कर लामिछाने र पारिजातबीचको कुरा थियो । अन्तरङ्गताको कुरा थियो । त्यसो त पछि यसरी उनीकहाँ रक्सी खान जाने पात्रहरु समकालीन र युवा पुस्ताका राजकुमार केसी, ललिजन रावल, नकुल सिलवाल, राजेन्द्र पराजुलीलगायत पनि भए । तर शङ्कर लामिछानेको त्यो बेलाको परिवेश, वातावरण र अन्तरङ्गताको अवस्था बेग्लै थियो ।

शङ्करलाई पारिजात चिठी लेखेर पठाउने गर्थिन् । त्यति बेलाको संवादको माध्यम नै चिठी थियो । शिरीषको फूलको सफलतापछि पारिजातले शङ्करलाई लेखेकी थिइन्-

…उपन्यासको चर्चा र सफलता (भनूँ ?)ले अब धेरै व्याप्त भइसकें । सोचेकी थिएँ, त्यसको पनि केही माने लाग्छ । तर निस्सारता सायद मानिसको अन्तिम खुड्किलो हो र जहाँबाट साटिने ठाउँ छैन । जब एउटा तरूण तथा आधुनिक ठिटो आउँछ र उत्सुकतावश भन्छ- “…तपाईं सकम्बरी ?” मलाई लाग्छ कि भनिदिऊँ, “त्योभन्दा हतभागिनी पारिजात ।” तर त्यसो भन्दिनँ र ठट्टा गर्नपट्टि लाग्छु, “तपाईंलाई कस्तो लाग्यो ?” मानिसहरु मलाई सकम्बरीमा देख्न थालिसके, आत्मसात् गर्न थालिसके । तर २४ वर्षको उमेरमा ऊ एउटा सफल मृत्यु मरी र म ३० वर्षको छेउछाउमा सुयोगवीरको जीवन बाँच्दै छु… । (पारिजात : शङ्कर लामिछाने : बिम्ब प्रतिबिम्ब : पुस्तक संसार : २०२८, पृष्ठ ९०)

शङ्करले पारिजातसँगको सम्बन्धलाई विचित्र किसिमले व्याख्या गरे, जुन हम्मेसी सबैले बुझ्न सक्तैनन् । कि वा द्विविधामा पर्छन्-

यो भावना नबुझ्ने धेरै छन्- त्यसमध्ये नाउँ चलेका प्रकाण्ड विद्वान् पनि । उनको रायअनुसार म हेनरी मिलरको चेलो हुँ र मेरो सम्बन्ध पारिजातसँग ‘पञ्च मकार’को छ । ‘पञ्च मकार’ शब्दको अर्थ ती निरीह विद्वान्ले त्यस बेलासम्म बुझ्दैनन्, जबसम्म तिनको विद्वत्ता साङ्ख्यभाषा छिचोल्न सक्तैन । ‘महामुद्रा’ शीर्षकअन्तर्गत मैले एक पटक लेखेको छु, “तङ्खवयोग प्राप्त गर्ने सबभन्दा सहज उपाय साधकका लागि एउटै छ, आफ्नो जन्म दिने माता, आफ्नै छोरी र आफ्नै भान्जीसँग उसले यौन सम्बन्ध राख्नुपर्छ ।”

‘प्रज्ञोपायविनिश्चय सिद्धिबाट’ लिइएको यस अंशको सोझो अर्थ साह्रै घिनलाग्दो छ । तथापि जो यसको अर्थ बुझ्ने क्षमता राख्छन्, तिनका लागि यसको अर्थ यसरी लाग्दछ, “तङ्खवबोध प्राप्त गर्ने सबभन्दा सहज उपाय साधकका लागि एउटै छ- आफ्नाआन्तरिक नारीतङ्खव, लोभ, मोह, स्नेह, प्रेम, अहं इत्यादि तङ्खवहरु, जो मानिसभित्रै अवस्थित हुन्छन् (पारिजातको ‘मैले नजन्माएको छोरो’ पढ्नुहोस्) र जसलाई मानिसले आमा, बहिनी, छोरी र भान्जीजत्तिकै अपनत्व प्रदान गरेको हुन्छ, ती तङ्खवलाई आफ्ना  पुरूषत्वसँग समन्वय नगरी उसले आफ्ना साधना प्राप्त गर्न सक्तैन ।

यी अर्धपण्डितले मलाई तथा पारिजातलाई एक भिन्न पृष्ठभूमिमा लिए । तर ती जान्दैनन्, पारिजातको समक्ष पुग्नुअघि नै म नाङ्गिइसकिएको हुन्छु । मलाई यस्तो अनुभव हुन्छ, ऊ मेरा इम्पल्सहरु वा अझ प्रस्ट भनूँ, मेरा साहित्यिक इम्पल्सहरुकी जन्मदाता हो । उसको मस्तिष्कको गर्भ देखेर म निश्चय पनि हेनरी मिलर जस्तै सोच्छु र भन्छु- यहाँबाट कति जन्मे होलान् ! र म स्वयम् त्यहाँ जन्मेको अनुभव गर्छु । पुनः मलाई लेख्ने प्रवृत्ति जागेर आउँछ ! यो यदि पाप हो भने, यस्तो पाप जीवनमा रोज गर्ने सौभाग्य मलाई प्राप्त होओस् । (पारिजात : शङ्कर लामिछाने : बिम्ब प्रतिबिम्ब : पुस्तक संसार : २०२८, पृष्ठ ९४–९५)

जुन दिन शङ्कर लामिछाने महत्ताहीन पढिसकेर त्यसको पाण्डुलिपि फिर्ता दिन पारिजातको डेरामा गए, त्यही दिन छुट्टिने बेलामा पारिजातको अन्तर्वार्ता लिन चाहेको बताए र समय मागे । उनले भनेका थिए, “म टेपरेकर्डर लिएर आउनेछु । तर याद राख, यो एकदम अनौपचारिक र अनायास हुनेछ ।”

साँच्चै एक साँझ शङ्कर लामिछाने टेप रेकर्डर लिएर पुगे पारिजातको डेरामा । र माइक पारिजातको अघि राख्दै भने, “तिमीले प्रेममा धोखा खाएकी छौ, होइन ?”

शङ्करले पारिजातले प्रेममा धोखा पाएको अर्थ निकालेका थिए । त्यही धोखाको पृष्ठभूमिमा पारिजातको अन्तर्वार्तालाई सनसनीपूर्ण लेख तयार गर्न चाहन्थे, जसरी शिरीषको फूलमा लेखेका कुराहरुले सनसनी मच्चिएको थियो ।

तर पारिजातले अनपेक्षित जबाफ दिइन्, “प्रेममा धोखा पाएकी छैन । बरू धोखा दिएकी छु ।”

शङ्कर लामिछाने ट्वाँ परे । यो उनले अपेक्षा नै नगरेको उत्तर थियो । उनी वाक्क भए । दिक्क भए । उनको मुड नै बिग्रियो । उनी मायालु भाषामा झर्किए, “पारिजात तिमीले मेरो मुड नै बिगारिदियौ । अब म तिम्रो अन्तर्वार्ता कहिल्यै लिन्नँ ।”

तर त्यो दिनको मुड पो बिग्रिएको थियो । सदाका लागि त थिएन । उनले आफ्नो अन्तर्वार्ता कृति बिम्ब प्रतिबिम्बका लागि पछि अन्तर्वार्ता लिए । आफ्नो शैलीमा लेखेको अन्तर्वार्ताको त्यो पुस्तक त्यो विधाको नौलो र पहिलो थियो ।

त्यो अन्तर्वार्तालाई आफ्नो शैलीमा ढालेर उनले लेख तयार गरे र पारिजातलाई सुनाउन पुनः उनको डेरामा पुगे । पारिजातलाई त्यो लेख सुनेको क्षण यसरी याद आउँथ्यो-

मलाई लिएर उहाँले एउटा लेख लेख्नुभएको थियो । एक दिन त्यो पढेर सुनाउनुभयो । पढ्दापढ्दै एउटा वाक्य पारिजात फूल हो पढिसकेपछि टक्क अडिएर उहाँले सोध्नुभयो, “तिमीलाई कस्तो लाग्यो ?”

त्यो क्षण कति प्रेमिल हुँदो हो, अनुमान गर्न सकिन्छ ।

पारिजातले शङ्कर लामिछानेसँगको सम्बन्धलाई सामीप्य भन्न रूचाइनन् । थोरै पटक मात्र भेट भएको र महत्ताहीन प्रकाशन भएपछि कहिल्यै भेट नभएको उनको स्पष्टीकरण थियो-

शङ्कर लामिछाने र मेरो सम्बन्धलाई सामीप्य भन्न मिल्दैन । कारण, हामीले कति पटक भेटघाट ग¥यौं भन्दा १० औंला पर्याप्त हुन्छन् । तर ती भेट महङ्खवपूर्ण थिए । ‘महत्ताहीन’ छापिइसकेपछि मैले उनलाई मृत्युपर्यन्त देखिनँ । र उनका गतविधिबारे अनभिज्ञ पनि थिएँ । उनको मृत्यु र ‘क्यानभासमा फेरिएको जीवन’ कथा सुनिसकेपछि म छाँगाबाट खसे जस्ती भएकी छु । (शङ्कर लामिछाने र मेरो सम्बन्धलाई सामीप्य भन्न मिल्दैन : इन्द्रकुमार श्रेष्ठ सरित्सँग पारिजातको अन्तर्वार्ता : विवेक : वर्ष ६ अङ्क २३, २०४४ माघ ४)

शङ्कर लामिछानेको देहान्तपछि पारिजातले शङ्करलाई यसरी सम्झना गरिन्-

मलाई अझ पनि रातबिरात गम्किने चमेलीको सुलभ सम्झना आउँछ उहाँका कृतिहरु सम्झँदा । (शङ्कर लामिछाने मेरा आन्तरिक कुराहरु : पारिजात : रुपरेखा : शङ्कर लामिछाने विशेषाङ्क, माघ २०३३, पृष्ठ २१७)

उनको नजरमा शङ्करको व्यक्तित्व थियो काव्यप्रेमी, कलाप्रेमी, सङ्गीतप्रेमी तथा हाँस्न–हँसाउनुपर्ने (र सक्ने पनि) थुप्रै सेन्स अफ ह्युमर भएको प्रतिभाशाली लेखकको ।

एउटा कालखण्डमा पारिजात र शङ्कर लामिछानेबीच छोटो समयका लागि भए पनि यस्तो नेपाली साहित्यकै अविस्मरणीय अन्तरङ्ग साहित्यिक एवम् व्यक्तिगत सम्बन्ध थियो ।

(गोविन्द गिरी प्रेरणाको ‘सुश्री पारिजात’को पुस्तक अंश । फाइन प्रिन्टले प्रकासित गरेको यो पुस्तक आज दिउसो २ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा सार्वजनिक हुँदैछ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?