+
+

गण्डकीमा कांग्रेसकै नेतृत्वमा सरकार, मुख्यमन्त्री मै हुँ : सुरेन्द्र पाण्डे

अमृत सुवेदी अमृत सुवेदी
२०७९ मंसिर २४ गते ६:४५

२३ मंसिर, पोखरा । चुनावी अभियानका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १३ कात्तिकमा गोरखामा भनिदिए, सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्छन् ।’ कांग्रेसबाट गोरखा २ (१) मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पाण्डेलाई मुख्यमन्त्री बनाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल भइसकेको बताए ।

चितवनबाट गोरखा पुगेर क्षेत्र नम्बर २ बाट प्रचण्डले जित्दा प्रदेश सभा २ मा पाण्डेले जिते । प्रचण्ड नै गोरखा आउने भएकाले संघ छोडेर आफू प्रदेश झरेको बताउने पाण्डे कांग्रेसमा शेरबहादुर विचार समूहका हुन् । त्यसमाथि प्रचण्ड, बाबुराम लगायतको जोडबलमा गण्डकीमा कांग्रेस संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्न लागिपरेका छन् ।

तर कांग्रेसभित्रै मुख्यमन्त्रकिो आकांक्षी पाण्डे एक्लै छैनन् । मुख्यमन्त्रीका आकांक्षी कांग्रेसका गण्डकी सभापति शुक्रराज शर्मा समानुपातिकतर्फ खसआर्यमा १ नम्बरमा थिए । तर ९ सिट पाएको कांग्रेसले सबै महिला पठाउनुपनर्ेे भएकाले प्रदेशसभामा जाने र मुख्यमन्त्री बन्ने शुक्रराजको योजनामा ब्रेक लागेको छ ।

कास्की-२ (२)मा दोस्रो पटक चुनाव जितेका विन्दुकुमार थापा पनि मुख्यमन्त्रीका आकांक्षी छन् । यद्यपि संस्थापन समूहका थापा देउवाको निर्णयलाई स्वीकार गरेर जान आफू तयार रहेको बताउँछन् । अर्थात देउवाले पाण्डेलाई संसदीय दलको नेताका रुपमा अघि सारे थापा पछाडि हट्न सक्छन् ।

तर पाण्डेलाई टक्कर दिन कांग्रेसका पाका नेता स्याङ्जाका भोजराज अर्याल आइपुगेका छन् । स्याङ्जामा ५ दशकदेखि निष्ठाको राजनीति गरेको, तर देउवा समूहका गोपालमान श्रेष्ठका कारण माथि उठ्न नसकेको नेताका रुपमा भोजराजलाई चित्रित गर्ने गरिन्छ । प्रदेशभा सदस्यको चुनाव जितेपछि अर्याल काठमाडौंमा लबिइङ गरिहेका छन्, जसलाई स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका उपसभापति धनराज गुरुङको पनि साथ छ । अर्याल भन्छन्, ‘पाण्डेजी राष्ट्रिय सभामा टेस्ट भइसक्नुभयो, राम्रो प्रस्तुति दिन नसकेर आलोचित हुनुभयो । म टेस्टेड होइन, अब मैले पालो पाउनुपर्छ ।’

नवलपुरबाट चुनाव जितेका महेन्द्रध्वज जिसीले पनि कांग्रेस संसदीय दलको नेता हुन दौडधुप गरिरहेका छन् ।

महेन्द्रध्वज गण्डकीको सभापति हुन चाहेका थिए, तर कास्कीका शुक्रराजले नेताहरुको मन जितेपछि उनी पछि हटे । संस्थापन इतर समूहका प्रदेशसभा सदस्य जिसीको दाबी छ, क्षमता र ज्येष्ठताका आधारले पनिसंसदीय दलको नेता हुन योग्य छु ।’

राष्ट्रियसभामा कांग्रेसको संसदीय दलको नेता भइसकेका पाण्डे भने प्रदेशसभा सदस्यले गण्डकीमा दलको नेता हुँदै मुख्यमन्त्री आफू नै बन्ने दाबी गर्छन् ।

गण्डकीमा सरकार समीकरण कसरी बन्छ, कांग्रेस संसदीय दलको नेता को बन्छ लगायतका विषयमा मुख्यमन्त्रकिा आकांक्षी सुरेन्द्र पाण्डेसँग गरिएको संक्षिप्त कुराकानी :

माओवादीले पनि सरकारको दाबी गरिरहेकै छ, सबैभन्दा ठूलो दल कांग्रेसको धारणा के छ ?

अघिल्लो पटक १५ सांसद हुँदा त गठबन्धनबाट सरकारको नेतृत्व गरेको कांग्रेसले यसपटक २७ सीट ल्याउन सफल भयो । गण्डकीमा कांग्रेसकै नेतृत्वमा सरकार बन्ने हो ।

माओवादी अध्यक्ष प्रचण्डले नै गण्डकी प्रदेशमा माओवादीको दाबी रहन्नँ, यहाँ कांग्रेसलाई नै हो भन्नुभएको थियो । प्रचण्डसँगै अर्का नेता बाबुराम भट्टराईले पटक-पटक मलाई अबको मुख्यमन्त्री भन्नुभएको छ । मलाई मुख्यमन्त्री बनाउन कांग्रेस सभापति देउवासँग कुरा गरिसकेको पनि भन्नु भएको छ । त्यसैले गण्डकी कांग्रेसले नै पाउँछ र मुख्यमन्त्री मै हुँ । यद्यपि चुनावको सबै परिणाम आइसकेपछि प्याकेजमा डिल गर्ने भनिरहेका छन् नेताहरुले ।

तपाईंलाई मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएको थियो, अरु नेताहरले पनि आकांक्षा राख्नु भएको रहेछ नि ?

प्रत्येक सांसदलाई म मुख्यमन्त्री हुन्छु भन्ने अधिकार छ । त्यसैले म पनि दाबेदार हुँ भन्नु के ठूलो कुरा भयो र ! तर सर्वसम्मत भए मेरै नाममा हुन्छ, सर्वसम्मत भएन चुनाव हुन्छ र संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने मै हुँ ।

मै हुँ, मबाहेक अरु हुँदैन भन्ने दाबीको आधार के हो ?

म नेताहरुकै आग्रहमा प्रदेश झरेको हुँ । म लगातार ३ कार्यकालदेखि केन्द्रीय सदस्यमा निर्वाचित छु । राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता भएर काम गरिसकेकाले पनि म सबैभन्दा बलियो दाबेदार हुँ । अनुभव र सिनियर नेता भएका कारण पनि गण्डकीमा मेरै नेतृत्वमा सरकार बन्छ भन्ने हो ।

अरु नेताहरुले पनि आकांक्षा राख्ने कुरालाई सम्मान गर्नुपर्छ ।

कांग्रेस संसदीय दलको अंकगणित

गण्डकीको कांग्रेस संसदीय दलमा संस्थापन र इतर समूहबीच कडा टक्कर देखिएको छ । प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसले समानुपातिकमा ९ सिट पाएको छ र, २७ सदस्यीय कांग्रेस संसदीय दलमा इतर समूहको एक मत कम रहेको हिसाब नेताहरुको छ ।

कांग्रेसले प्रत्यक्षतर्फ २१ सिट पाएको थियो । टिकट वितरणका हिसाबले दुवै समूह बराबरी अवस्थामा थियो । तीन क्षेत्रमा हार व्यहोर्दा इतर समूहका दुई र संस्थापन पक्षका एक जनाले हार ब्यहोरे । कास्की-१ (१) मा दीपक गुरुङ (माइला), पर्वत प्रदेश सभा २ मा पराजित ऋषिकेश तिवारी शेखर कोइराला निकट थिए । स्याङ्जा १ को प्रदेश सभा २ मा पराजित वुद्धिबहादुर गुरुङ (कुमार) देउवा समूहका थिए । अहिले समानुपातिकसहित सांसद हेर्दा देउवा विचार समूहका १४ र इतर समूहका १३ जना सांसद गण्डकीमा छन् ।

देउवा समूहका सांसद : प्रत्यक्षतर्फ-सुरेन्द्र पाण्डे (गोरखा, विन्दुकुमार थापा (कास्की), डा. टकराज गुरुङ (लमजुङ), जीतप्रकाश आले (तनहुँ), मुनिन्द्रजंग गुरुङ (मनाङ), महेश भट्टराई (स्याङ्जा), द्रोणकुमार कुँवर (बागलुङ), जीत शेरचन (बागलुङ) दीपेन्द्रबहादुर थापा (बागलुङ) । समानुपातिकतर्फ- विमला गौचन, चम्पादेवी खड्का, सरस्वती तिवारी, सरस्वती गुरुङ र दिलमाया पौवी ।

देउवाइतर समूहका सांसद : प्रत्यक्षतर्फ-प्रकाश बराल (कास्की), डिल्लिराम सुवेदी (बागलुङ), अशोककुमार श्रेष्ठ (तनहुँ), भेषबहादुर पौडेल (लमजुङ), नन्दप्रसाद न्यौपाने (नवलपुर), महेन्द्रध्वज जिसी (नवलपुर), विकल शेरचन (मुस्ताङ), भोजराज अर्याल (स्याङ्जा), समानुपातिकतर्फ-कल्पाना तिवारी (स्याङ्जा), रेखा गुरुङ (पर्वत), सरस्वती गुरुङ (कास्की), पार्वती तामाङ (लमजुङ), टीकाकुमारी बस्याल (लमजुङ) ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?