
२४ मंसिर, वीरगञ्ज । बारामा घरमै अचेत अवस्थामा फेला परेका एक युवकको मृत्यु भएको छ । पचरौता नगरपालिका– ७ का २६ वर्षीय नागेन्द्र मुखियाको उपचारका क्रममा शुक्रबार राति पौने १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति सवा १० बजे घरमा अचेत अवस्थामा रहेको भनी प्रहरीलाई खबर आएको थियो । प्रहरी टोली पुगेर नागेन्द्रलाई उपचारका लागि वीरगञ्जको नारायणी अस्पताल पठाएको थियो । उपचारको क्रममा राति पौने १२ बजे नागेन्द्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
त्यस्तै मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बाराको सिम्रौनगढ नगरपालिका– १० बस्ने ३० वर्षीय रतन दासको मृत्यु भएको छ । शुक्रबार बेलुका बाराको माहागढीमाई नगरपालिका–८ थलहीपुलमा भएको दुर्घटनामा परी घाइते भएका रतनको उपचारको क्रममा मृत्यु भएको हो ।
कलैयाबाट लंगडाचोक जाँदै गरेको रतन सवार ना २४ प ५३२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएको थियो । टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनको कलैया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
त्यसैगरि बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा पिकअपबाट झर्ने क्रममा लडेर एक जना घाइते भएका हुन् । हेटौडाबाट पथलैया तर्फ आउँदै गरेको प्र ०२–०३–०१ च.४९२० न.को पिकअपबाट शुक्रबार राति जीतपुरसिमरा– २१ सागर चौक स्थित झर्ने क्रममा मकवानपुरको बकैया गाउँपालिका–६ का ३५ वर्षीय कुमार थिङ घाइते भएका हुन् ।
टाउकोमा चोट लागेका कुमारको अल्पाइन अस्पताल सिमरामा प्राथमिक उपचारपछि थप उपचारका लागि हेटौंडा स्थित चुरेहिल अस्पतालमा रिफर गरिएको छ ।
प्रतिक्रिया 4