+
+

सुदूरपश्चिममा गठबन्धन : मुख्यमन्त्रीमा कांग्रेसको नजर, माओवादी ‘ब्याक’ नहुने

जनक विष्ट जनक विष्ट
२०७९ मंसिर २६ गते ७:११

२६ मंसिर, धनगढी । ४ मंसिरमा सम्पन्न प्रदेश सभाको निर्वाचनबाट सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बनेको छ ।

२०७४ को निर्वाचनमा तेस्रो दल बनेको कांग्रेस प्रत्यक्षतर्फको १२ र समानुपातिकतर्फको ७ सहित १९ सिट पाएर पहिलो बनेको छ ।

सुदूरपश्चिममा चार वर्ष सत्ता बाहिर बसेको कांग्रेस गत २५ चैतमा माओवादी नेतृत्वको सरकारमा सामेल भएको थियो ।

निर्वाचनको मतपरिणाम सार्वजनिक भएपनि नयाँ सरकार गठनको प्रक्रिया अघि नबढेकाले अहिले माओवादीकै त्रिलोचन भट्ट नेतृत्वको सरकारले काम गरिरहेको छ । जहाँ नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पनि छन् ।

दलहरुले समानुपातिक तर्फका प्रदेशसभा सदस्यहरुको नाम टुंगो लगाइसकेको अवस्थामा भने यहाँ नयाँ सरकार गठनको चर्चापरिचर्चा सुरु भएको छ ।

सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुबाट मुख्यमन्त्री र मन्त्रीमा आकांक्षी प्रदेशसभा सदस्यहरु सपथ ग्रहण नगर्दै संघीय राजधानी काठमाडौं पुगेका छन् । उनीहरुले भेटघाटलाई तीव्रता दिएका छन् ।

अहिलेको सत्ता गठबन्धन कायमै रहेर अगामी सरकार गठन हुने संकेत देखिएका बेला सुदूरपश्चिम प्रदेशमा पनि गठबन्धनका नेताहरु सत्ता केन्द्रीत राजनीतिमा व्यस्त छन् ।

गठबन्धनमा हुने भागबण्डाका आधारमा प्रदेशको नेतृत्व कुन दलले पाउछ ? र अन्य दलको सरकारमा कस्तो सहभागिता रहन्छ ? भन्ने कुरा प्रष्ट नभइसकेको अवस्थामा आ-आफ्नो ढंगले नेतृत्व पाउनुपर्ने लबिङमा छन् । खासगरी १९ सिटसहित पहिलो दल बनेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएको छ ।

माओवादी केन्द्रले नेकपा हुँदै पाँच दलीय गठबन्धन बनाएर कांग्रेस सरकार जादा समेत पाँच वर्ष सुदूरपश्चिम सरकारको नेतृत्व गरिसकेकाले अब कांग्रेसलाई छाड्नुपर्ने तर्क उनीहरुको छ तर माओवादीका नेताहरु पनि नेतृत्व पाउने अडानबाट टसमस नहुने मुडमा देखिन्छन् ।

मुख्यमन्त्रीका दाबेदार भन्छन्- पहिले कांग्रेस अनि माओवादीलाई नेतृत्व

कञ्चनपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित कांग्रेसका बहादुरसिंह थापा मुख्यमन्त्रीका आकांक्षी हुन् । संविधानसभा सदस्य पनि बनिसकेका थापा नयाँ बन्ने सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व कांग्रेसले पाउनुपर्ने बताउँछन् ।

‘पहिलो पाँच वर्षको कार्यकाल माओवादी केन्द्रले अन्तिम समयमा हामीलाई समेत साथ लिएर पूरा गरिसकेको छ,’ थापाले अनलाइनखबरसँग भने, ‘अहिलेको निर्वाचनमा हामी प्रदेशसभामा सबैभन्दा ठूलो दलका हैसियतमा छौं ।

अबको सरकार कांग्रेसकै नेतृत्वमा बनाउनुपर्छ भन्ने हाम्रो माग छ ।’ तर गठबन्धनको शिर्ष नेतृत्वमा हुने सहमतीले फरक पार्ने बताउने थापा कांग्रेसकै नेतृत्वका लागि सबै नेताहरु लबिङमा रहेको कुरा पनि स्वीकार गर्छन् ।

सुदूरपश्चिम प्रदेशका महामन्त्री समेत रहेका अछामबाट प्रदेशसभा सदस्यमा निर्वाचित मुख्यमन्त्रीका अर्का दाबेदार मेघराज खड्काको भनाइ पनि उस्तै छ । उनी भन्छन्, ‘माओवादीले प्रदेश सरकार चलाइसकेको छ । अब गठबन्धन कायम रहदा पनि कांग्रेसले नै नेतृत्व गर्नुपर्छ । पहिलो आधा कार्यकाल भए पनि हामीले नै सरकार गठन गर्नुपर्छ भन्ने सबैको साझा बुझाइ छ ।’

प्रतिनिधि सभामा आकांक्षी रहेको तर गठबन्धनका शीर्ष नेताले मुख्यमन्त्री बनाउने समझदारी गरेकै कारण प्रदेशसभाको निर्वाचन लडेको बताउने कञ्चनपुरबाट निर्वाचित दिवानसिंह विष्टले पनि अब कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्ने मत व्यक्त गरेका छन् । ‘अढाइ वर्षका लागि भए पनि कांग्रेस र माओवादीले आलोपाले सरकार बनाउनुपर्छ भन्ने हाम्रो मान्यता छ,’ विष्टले अनलाइखबरसँग कुराकानी गर्दै भने, ‘पहिले कांग्रेस अनी माओवादीलाई हस्तान्तरण गर्नुपर्छ भन्ने आम कार्यकर्ता र नेताहरुको भावना छ ।’

‘शीर्ष नेता समझदारीबाट दायाँबायाँ हुदैनन् भन्ने विश्वास छ’

डडेल्धुरामा मत माग्ने बेलामा प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक रुपमै माओवादी केन्द्रका खगराज भट्टलाई सुदूरपश्चिम प्रदेशको भावी मुख्यमन्त्रीका रुपमा अघि सारेका थिए । त्यो बेला देउवाले भट्टलाई मुख्यमन्त्री बनाउने जिम्मा लिँदै मतदातालाई निर्वाचित गराउन अपिल गरेको कुरालाई अर्थपूर्ण रुपमा लिइएको थियो ।

तर अहिले आएर कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य र अन्य नेताहरुले प्रदेश सरकारमा दाबी गर्न थालेेपछि माओवादी केन्द्र झक्सिएको चर्चा पनि सुदूरपश्चिमतिर छ । माओवादीबाट सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन भएर मुख्यमन्त्री बन्ने दौडमा रहेका उनै खगराज भट्ट भने चुनाव अघि भएको समझदारीबाट नेताहरु दायाँबायाँ नहुने विश्वास व्यक्त गर्छन् । त्यो भनेको माओवादीले प्रदेश सरकार गठन गर्ने र त्यसको नेतृत्व भट्ट आफैले गर्ने हो ।

‘हिजो फरक प्रसंगमा फरक-फरक गठबन्धन भयो । सोहीअनुसार कांग्रेस पनि हाम्रो पार्टीको नेतृत्वको सरकारमा सामेल भएको कुरा हो,’ भट्टले अनलाइनखबरसँग भने, ‘हाम्रो पार्टी अध्यक्ष र प्रधानमन्त्रीसँग भएको समझदारीअनुसार यो चुनावमा अघि बढेको अवस्था हो । त्यसैले तल्लो तहका नेताहरुले के भने भन्दा पनि शिर्ष तहका नेताहरु आफ्नो अडानमा कायम छन् र हुन्छन् भन्ने लाग्छ ।’

उनी माओवादीले नेतृत्व पाएको अवस्थामा मुख्यमन्त्रीको जिम्मेवारी आफूले पाउने बताउँछन् ।

गठबन्धनको अर्को घटक नेकपा (एकीकृत समाजवादी) पार्टीले पनि प्रदेश सरकारमा आफ्नो स्वभाविक दाबी रहने बताउदै आएको छ । भागबण्डाका क्रममा समाजवादीले पहिलो प्राथमिकता सुदूरपश्चिमलाई दिएको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी बताउँछन् । ‘हाम्रो पार्टीले गठबन्धनमा हुने भागबण्डाका क्रममा अन्य प्रदेश भन्दा सुदूरपश्चिममा नेतृत्व पाउनुपर्छ भनेर प्राथमिकतामा राखेको छ,’ सोडारीले अनलाइनखबरसँग भने, ‘यस अर्थमा यहाँको नेतृत्वको लागि हाम्रो स्वभाविक दाबी रहन्छ नै ।’

तर यी सबै कुरा गठबन्धनको शिर्ष नेतृत्वबीच हुने सहमतीका आधारमा तय गर्ने सोडारी बताउँछन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?