+
+

नेपालमा स्टार्टअप बढाउन चार संस्थाबीच सहकार्य हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते १५:०२

२८ मंसिर, काठमाडौं । नेपालमा नवप्रवर्तनलाई अभिवृद्धि गर्न चार वटा संस्थाबीच सहकार्य हुने भएको छ । नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाबीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौता अनुसार नेपालमा ग्रोथएक्स एभरेष्ट एक्सेलेटर कार्यक्रम सुरु गरिने छ । सम्झौता नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअप र एसएमईहरूका लागि सहकार्य गर्ने भएको परिसंघले जनाएको छ ।

परिसंघका अनुसार कार्यक्रमको उद्देश्य नेपालमा प्राविधिक उद्यमशीलताको नेतृत्वमा आर्थिक विकास ल्याउने हो । यसले डिजिटल अर्थतन्त्र, स्थानीय ज्ञानमा आधारित रोजगारी, प्रतिभा पलायन रोक्न, निर्यात बढाउन र वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्न योगदान पुर्याउने परिसंघले जनाएको छ । यसले क्षेत्रीय र विश्व बजारमा नेपालको आर्थिक प्रतिस्पर्धा बढाउने विश्वास लिइएको छ ।

ग्रोथएक्स एभरेष्ट एक्सेलेटर एक हाइब्रिड संरचनासहितको एक्सेलेटर कार्यक्रम रहेको समेत परिसंघले बताएको छ । यसमा नेपालका उच्च प्रविधि र उच्च सम्भावित प्राविधिक स्टार्अपहरूलाई स्केलिंग अप, विश्वव्यापी विस्तार र कोष संकलनमा सक्षम पार्ने समेत बताइएको छ ।

नेपाल उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको साझेदारीमा टिम भेन्चर्स, स्टार्टअप रिसोले संयुक्त रूपमा स्थापना गरेको कार्यक्रममा नेपालबाट आफ्ना उद्यम सञ्चालन गर्ने संस्थापकहरूलाई सहभागी गराइने भएको छ ।

यसले नेपाली स्टार्टअपहरुलाई अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त उद्योगीहरु, डोमेन विशेषज्ञहरू, सफल संस्थापकहरू, र लगानीकर्ताहरूबाट सल्लाह दिनेछ र नयाँ उद्योग स्थापना तथा अन्तर्राष्ट्रिय नेटवर्कका लागि मद्धत गर्ने भएको छ । यसले नेपालमा एक सम्पन्न प्राविधिक स्टार्टअप इकोसिस्टम निर्माण गर्न मद्दत पुग्ने परिसंघले बताएको छ ।

सहकार्य सम्झौता गरेपछि टिम भेन्चर्सका सीईओ तथा संस्थापक तेन्जिन सोनम गोन्सारले नेपालमा स्टार्टअपहरुको व्यवसायलाई माथि उठाउन प्रोत्साहन एवं सहयोग गर्न यो सम्झौता सहयोगी हुने बताए ।

ग्रोथएक्स एभरेष्ट नेपालभित्र चलिरहेका विद्यमान एक्सेलेटर कार्यक्रमहरू भन्दा फरक पहल भएको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चकी अध्यक्ष प्राची अग्रवालले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?