+
+

सरकारमा जाने-नजाने कुरा समयले निर्धारण गर्छ : ठाकुर

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २९ गते १३:१४

२९ मंसिर, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने-नजाने कुरा समयले निर्धारण गर्ने बताएका छन् ।

कसैको एजेन्ट भएर पैसा ल्याएर काम गर्ने गैरसरकारी संस्था जस्तो आफूहरु नभएको बताउँदै उनले प्रधानमन्त्री जो बने पनि आफ्ना माग र मुद्दाबाट पछि नहट्ने समेत बताएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)लाई अन्तर्वार्ता दिंदै अध्यक्ष ठाकुरले भनेका छन्, ‘हामी गैरसरकारी संस्था (एनजीओ) होइनौं, कसैको एजेन्ट भएर पैसा ल्याएर काम गर्ने । दल भनेको जनताको सेवाका लागि स्थापित राजनीतिक संगठन हो । यो सधैं जनताप्रति उत्तरदायी हुन्छ । त्यसैले सरकारमा सामेल हुने नहुने कुरा समयले निर्धारण गर्छ ।’

उनले मुलुकलाई विकास र समृद्धितर्फ अघि बढाउन वर्तमान गठबन्धनलाई नै निरन्तरता दिनुपर्ने बताएका छन् । मधेसी र थरुहट मुद्दाका पीडितले अझै न्याय पाउन नसकेको भन्दै उनले जेलमा परेकाहरुलाई छुटाउनुपर्ने बताएका छन् ।

‘अहिले पनि थरुहट आन्दोलनकारी जेलमा छन्, तारिख खेपिरहेका छन्,’ उनले भनेका छन्, ‘केही पीडितलाई पार्टीको तर्फबाट राहत दिउँ भनेर गयौं तर उनीहरु मेरो छोरा ल्याइदेऊ, राहत चाहिँदैन भन्छन् । हामीलाई कति पीडा होला भनिसाध्य छैन । मधेसी र थरुहट मुद्दाका पीडितले अझै न्याय पाउन सकेका छैनन् ।’ जेलमा रहेकालाई छुटाउन पहल गरिरहेको उनले बताए ।

आफूहरुले समावेशीताको नारा उठाउँदा, पहिचानका आधारमा भेदभाव नगर भन्दा उल्टै विखण्डनवादीको आरोप लाग्ने गरेको गुनासो उनले गरे । राष्ट्रपतिबाट नागरिकता सम्बन्धी विधेयक रोकिदिंदा धेरै जना नागरिकता विहीन हुनुपरेको अध्यक्ष ठाकुरले बताए ।

हालैको चुनावी परिणामबारे सोधिएको एक प्रश्नमा उनले कतिपय स्थानमा अप्रत्यासित नतिजा आउन सक्छ भन्ने अनुमान आफूहरुलाई सुरुमै लागेको उल्लेख गरेका छन् । मधेस आन्दोलन र मधेसका मुद्दा उठाए पनि यिनीहरुले गर्न सकेनन् भनेर जनमत पार्टीको पक्षमा मत जाहेर भएको भन्दै उनले जनमत पार्टीले कति काम गर्न सक्छ, त्यो हेर्न बाँकी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?