+
+

बच्चासँग कसरी समय बिताउने ? 

नेहा केसी नेहा केसी
२०७९ मंसिर २९ गते १४:०७

केही प्रश्न आफैंसँग गर्नुहोस् त, के तपाईंका बालबच्चा तपाईंसँग खुसीसाथ झ्याम्मिन्छन् ? तपाईंलाई देख्नासाथ उत्साहित हुन्छन् ? तपाईंसँग नयाँ नयाँ कुरा गर्न उत्सुक हुन्छन् ? तपाईंको काममा सहयोग गर्न तत्परता देखाउँछन् ? तपाईंसँग खुलेर आफ्नो मनको कुरा भन्छन् ?

यी प्रश्नहरुको उत्तरले यस्तो सूचक हुनसक्छ, जसले तपाईं आफ्नो बच्चासँग कति नजिक वा टाढा हुनुहुन्छ भन्ने देखाउँछ । भनिन्छ नि, बच्चाको आमाबुवा हुनु र अभिभावक हुनु फरक कुरा हुन् । बच्चा जन्माउन कठिन नहोला जति बच्चालाई सही ढंगले हुर्काउनु, बढाउनु हुन्छ ।

त्यसैले बच्चासँग तपाईंको घनिष्ठता यस्तो हुनुपर्छ  कि जसले एउटा सही अभिभावकत्वको अनुभूत गराओस् । अभिभावक हुनु भनेको बच्चाको हेरचाह, पालनपोषण गर्नु मात्र पनि होइन । खासमा त बच्चाको आवश्यकता अनुरुप कहिले आमाबुवा, कहिले दौंतरी बन्नु हो । अतः यसका लागि तपाईंले उनीहरुसँग खास समय व्यतीत गर्नुपर्ने हुन्छ ।

बच्चासँग तपाईं कति समय बिताउनुहुन्छ यो महत्वपूर्ण कुरा होइन । तर बच्चासँग कस्तो समय बिताउनुहुन्छ यो महत्वपूर्ण कुरा हो ।

आफ्नो बच्चासँग तपाईंले यस्तो समय बिताउनुपर्ने हुन्छ, जसले उनीहरुमा ज्ञान, सीप, उर्जा, मनोरञ्जन, उमंग ल्याउन सकोस् । त्यसो भए बच्चासँग कसरी स्तरीय समय बिताउने त ?

बच्चाका लागि बच्चा बन्नुहोस्

बच्चासँग रहँदा तपाईंले साथीको रुपमा आफूलाई पेस गर्नु उत्तम हुन्छ । उनीहरुसँग खेल्ने, कुराकानी गर्ने । उनीहरुले यस्तो अनुभूत गरोस् कि आफ्नो लागि कोही असल मित्र पनि छन् । यसरी बच्चासँग मित्रवत् व्यवहार गर्नुभयो भने उनीहरु तपाईंसँग एकदमै निकट र खुलस्त हुनेछन् । यसले गर्दा बच्चालाई सही मार्गदर्शन दिन सहज हुन्छ ।

कथा सुनाउनुहोस्

कथा सुनाउनु एकदमै राम्रो काइदा हो । तपाईं फुर्सदमा हुनुहुन्छ र घरमै हुनुहुन्छ भने बालबच्चालाई आफूसँगै राखेर कथाहरु सुनाउनुहोस् । कहिले परीका कथा, कहिले विज्ञान चमत्कारका कथा । कहिले आफ्नै पूर्खाहरुको कथा त कहिले नीतिकथा सुनाउने गर्नुहोस् । यसले बच्चाहरुमा अरुको कुरा सुन्ने, धैर्य गर्ने र कल्पना गर्ने क्षमताको विकास हुन्छ ।

अर्को महत्वपूर्ण कुरा के पनि भने बिहान बच्चा उठ्ने बेला र राति बच्चा सुत्नेबेला यसरी नै कुनै कथा सुनाइदिनुहोस् ।

भान्सामा लानुहोस्

भान्सा वास्तवमै ठूलो पाठ्यपुस्तक हो । तपाईं चिया पकाउन लाग्नुभएको छ वा कुनै परिकार बनाउन लाग्नुभएको छ भने बच्चालाई पनि आफूसँगै बोलाउनुहोस् । भान्सामा उनको सहयोग माग्नुहोस् । यसरी भान्सामा काम गर्दा बच्चाले खानेकुरा, पोषणका कुरा, स्वास्थ्यका कुरा सिक्छन् । भविष्यमा पाककलामा पोख्त हुन्छन् ।

भान्सामा आफूसँगै काम गर्न लगाएपछि बच्चाले कुन खानेकुरा कसरी पकाउने, त्यसको स्वाद कस्तो हुन्छ भन्ने कुरा त जान्ने नै भए आफ्नो रुचि र स्वाद अनुसारका खानेकुरा बनाउन पनि उत्साहित हुन्छन् ।

रचनात्मक काम गर्नुहोस्

घरमा बसेको बेला तपाईंले चित्र बनाउने, कथा लेख्ने, कुनै हस्तकला निर्माण गर्ने जस्ता काममा बच्चालाई प्रेरित गर्न सक्नुहुन्छ । रंगहरु खेलाउन, कैंची चलाउन सिकाउनुहोस् । गीत गाउन, नाच्न, अभिनय पनि गर्न सकिन्छ । यसले उनीहरुको रुचि पहिल्याउन र आत्मविश्वास बढाउन मद्दत गर्छ ।

बगैंचा वा बारीमा लानुहोस्

घरमा फूल रोप्ने, गोडमेल गर्ने, पानी हाल्नेजस्ता काममा बच्चालाई अगाडि सार्नुहोस् । यसले उनीहरुलाई खुसी मात्र बनाउँदैन श्रमप्रति सम्मान गर्ने भाव पनि विकास गराउँछ । उनीहरुले रोपेको फूल कसरी सप्रिंदैछ, कसरी कोपिला निस्कँदैछ ? कसरी फुल्दैछ भन्ने कौतुहलताले उनीहरुलाई सधैं उत्साहित बन्न मद्दत गर्छ । साथै माटो र प्रकृतिसँग नजिक पनि पुर्‍याउँछ ।

(केसी विद्यालय विकास परामर्शदाता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?