+
+

मोरक्कोमाथि जितपछि फ्रान्सेली राष्ट्रपति भन्छन् : मेरो टिमप्रति गर्व छ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २९ गते १४:०६

२९ मंसिर, काठमाडौं । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफ्नो देश विश्वकप फुटबलको फाइनल प्रवेश गरेकामा गर्व लागेको बताएका छन् । फ्रान्सको खेल हेर्न राष्ट्रपति म्याक्रोन बुधबार कतार पुगेका थिए ।

म्याक्रोन अल बायेट रंगशालामा खेलका दौरान फिफा अध्यक्ष जियान्नी इन्फान्तिनोसँग बसेका थिए । टिमले २–० को जितपछि उनले खेलाडीको सम्मानमा ताली बजाए । उपाधिका लागि फ्रान्सले आइतबार अर्जेन्टिनासँग खेल्नेछ ।

‘मलाई आफ्नो देशप्रति निकै गर्व छ । म धेरै खुसी छु’, खेलपछि पत्रकारहरुसँग कुरा गर्दै म्याक्रोनले भने, ‘सम्पूर्ण फ्रान्सेलीले यो जितको खुसी मनाउन् भन्ने चाहन्छु ।’

म्याक्रोनले विश्वकप सेमिफाइनलमा पुगेको पहिलो अफ्रिकी देशका रुपमा मोरक्कोप्रति सम्मान व्यक्त गरे । ‘मोरक्कोले धेरै राम्रो खेल्यो,’ उनले थपे, ‘म मोरक्कोका सबै मानिसहरुलाई भन्न चाहन्छु कि उनीहरुसँग एक महान टिम छ । म उनीहरुलाई हाम्रो भ्रातृत्वबारे बताउन चाहन्छु ।’

फ्रान्सले सन् १९१२ देखि ५६ सम्म मोरक्कोमा शासन गरेको थियो । बुधबारको खेल दुवै देशको जटिल सम्बन्धका बीच राजनीतिक र भावनात्मक प्रतिध्वनि थियो । अहिले पनि फ्रान्सले मोरक्कोमाथि आर्थिक, राजनीतिक र सांस्कृतिक प्रभाव राख्छ ।

आइतबार लुसेल रंगशालामा हुने फाइनल खेल हेर्न आफू फेरि कतार आउने म्याक्रोनले बताएका छन् । उनले सो खेलका लागि आफूले अनुमान गर्नु उचित नहुने धारणा राखे । तनर, मोरक्कोसँगको खेलअघि भने उनले फ्रान्सले जित्ने दावी गरेका थिए ।

भ्रमणका क्रममा राष्ट्रपति म्याक्रोनले कतारको राजधानी दोहास्थित एक बजारको निरीक्षणसमेत गरे । दोहा सिटीबाट अल खोरसम्मको यात्राका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो भने सुरक्षा व्यवस्था निकै कडा बनाइएको थियो ।

आफ्नो देशको खेल हेर्नका लागि उनले बेल्जियमको ब्रसेल्समा भइरहेको युरोपेली संघ र दक्षिण पूर्वी एसियाली नेताहरुको शिखर सम्मेलन छाडेर कतार आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?