+
+

गोल्डेन बुट होडमा ४ खेलाडी, मेस्सी सबैभन्दा अगाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २९ गते १४:२१

२९ मंसिर, काठमाडौं । २२औं संस्करणको विश्वकप फुटबलको विजेता आइतबार टुंगो लाग्नेछ । उपाधिका लागि अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुने पक्का भइसकेको छ ।

आइतबार उपाधिमात्र होइन, व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका लागि गोल्डेन बुट, गोल्डेन बल, गोल्डेन ग्लोभ्स र योङ प्लेअर अवार्ड पनि राखिएको हुन्छ ।

गोल्डेन बुट भने प्रतियोगिताभर सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिन्छ । एक भन्दा बढी खेलाडीले समान गोल गरेमा गोल असिस्ट (गोल गर्न अर्को खेलाडीलाई सहयोग गरेको) गणना गरिन्छ । गोल र असिस्ट पनि समान भए विश्वकपमा कम समय खेलेको आधारमा विजेता छानिनेछ । धेरै गोल गर्नेमा दोस्रो हुनेले सिल्भर बल र तेस्रो हुनेले ब्रोन्ज बल पाउनेछन् ।

यसपटकको विश्वकपमा गोल्डेन बुटको होडमा भने चार खेलाडी छन् । जसमा अर्जेन्टिनाका २ र फ्रान्सका २ जना छन् ।

अर्जेन्टिनाका कप्तान लिओनल मेसी र फ्रान्सका किलिएन एमबाप्पेले सर्वाधिक ५ गोल गरेका छन् भने फ्रान्सकै ओलिभर जिरुड र अर्जेन्टिना युलियन अल्भारेजले समान ४ गोल गरेका छन् । सम्भवत: यी चारमध्ये एक खेलाडीले गोल्डेन बुट जित्नेछन् । यस्तै एक जनाले सिल्भर र एक जनाले ब्रोन्ज बल जित्नेछन् ।

सेमिफाइनलको खेलपछि अर्जेन्टिनाका कप्तान मेसी गोल्डेन बुटको होडमा सबैभन्दा अगाडि छन् । नकआउट चरणको क्वार्टरफाइनल र सेमिफाइनलमा एमबाप्पेले गोल गर्न नसकेपछि मेसीले उनलाई भेट्टाएका छन् । मेसी र एमबाप्पेले समान ५ गोल गरेका छन् तर असिस्टमा मेसी अगाडि छन् । मेसीले ३ गोल असिस्ट गर्दा एमबाप्पेले २ असिस्ट गरेका छन् ।

अब यी दुईबीच फाइनल खेलमा पनि गोल गर्दै अवार्ड जित्नका लागि टक्कर हुनेछ ।

मेसीले नकआउट चरणको तीनवटै खेलमा गोल गरे । समूह चरणमा ३ गोल गरेका एमबाप्पेले भने नकआउट चरणको अन्तिम १६ मा मात्र गोल गरे । उनले अन्तिम १६ मा पोल्याण्ड विरुद्ध २ गोल गरेका थिए ।

३५ वर्षीय मेसीले अहिलेसम्म खेलेका ६ मध्ये ५ खेलमा गोल गरेका छन् । समूह चरणमा साउदी अरेबियासँग पेनाल्टीबाट पहिलो गोल गरेका मेसीले मेक्सिको विरुद्ध एक गोल र एक असिस्ट गरे । पोल्याण्डविरुद्ध भने मेसीले पेनाल्टीमा पनि गोल गर्न सकेनन् ।

मेसीले अन्तिम १६ मा अष्ट्रेलियाविरुद्ध गोल गरेका थिए । यस्तै क्वार्टरफाइनलमा नेदरल्याण्ड्स र सेमिफाइनलमा क्रोएसिया विरुद्ध मेसीले १ गोल र १ असिस्ट नै गरे ।

२३ वर्षीय युवा स्टार एमबाप्पेले समूह डी को पहिलो खेलमा अष्ट्रेलियाविरुद्धको खेलमा गोलको खाता खोलेका थिए भने दोस्रो खेलमा डेनमार्कविरुद्ध दुई गोल गरे ।

समूह चरणको तेस्रो खेलमा ट्युनिसिया विरुद्ध भने वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले गोल गर्न सकेनन् । फ्रान्सले अन्तिम १६ मा पोल्याण्डलाई ३-१ ले पराजित गर्दा एमबाप्पेले दुई गोल गरे ।

तर क्वार्टरफाइनलमा फ्रान्सले इंग्ल्याण्डलाई हराउँदा भने उनले गोल गर्न सकेनन् । हाल गोल्डेन बुटको दाबेदारीमा दोस्रो स्थानमा रहेका एम्बाप्पेले लिओनल मेसी भन्दा थोरै मिनेट खेलेका कारण पनि गोल्डेन बुट होडमा दाबेदारको रुपमा छन् ।

एमबाप्पेले अष्ट्रेलिया र पोल्याण्डविरुद्धको खेलमा एक-एक गोल असिस्ट गरेका थिए ।

मेसी र एमबाप्पेलाई गोल्डेन बुटको होडमा पछ्याइरहेको अर्जेन्टिनाका युलियन अल्भारेज र फ्रान्सका ओलिभर जिरुडले समान ४ गोल गरेका छन् । दुवैले असिस्ट भने गरेका छैनन् ।

पोल्याण्डविरुद्ध गोलको खाता खोलेका अल्भारेजले अन्तिम १६ मा अष्ट्रेलिया विरुद्ध १ गोल गरेका थिए । सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० ले हराउँदा भने उनले दुई गोल गरेका थिए ।

यस्तै जिरुडले समूह चरणमा पहिलो खेलमै अष्ट्रेलियाविरुद्ध दुई गोल गरेका थिए । समूहका बाँकी दुई खेलमा उनले गोल गरेनन् । अन्तिम १६ मा पोल्याण्ड र क्वार्टरफाइनलमा इंग्ल्याण्डविरुद्ध जिरुडले समान १ गोल गरे ।

मेसी र एमबाप्पेलाई पछि पार्दै गोल्डेन बुट जित्न अल्भारेज र जिरुडले फाइनलमा कम्तीमा पनि दुई गोल गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?