+
+

सहरी क्षेत्रमा जैविक विविधता : ठट्टामै सीमित होला कि यथार्थ बन्ला ?

केही दशकयताको अनियन्त्रित बसाइसराइँ धान्न काठमाडौंका खुला फाँटहरूमा महल ठडिएपछि यहाँ मान्छेबाहेक अन्य जीवजन्तु र वनस्पतिको जीवन संकटमा परेको छ ।

दिवाकर प्याकुरेल दिवाकर प्याकुरेल
२०७९ पुष १ गते १२:३७

१ पुस, मोन्ट्रिअल (क्यानडा) । कलाकार मिलन राईलाई ख्यालठट्टा गरिहन मन लाग्छ । केही महिनाअघि उनले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई भने, ‘महानगरको जावलाखेल चोकमा चमेरा झुन्डिने खालको वातावरण बनाऊँ ।’

राईको कुरा अनौठो थियो, त्यसका पछाडि विभिन्न कारणहरू थिए । पहिलो त, त्यहाँ चमेरा झुन्डिने गरी झाँगिएका ठूला रूखहरू नै छैनन् । दोस्रो कुरा, यसै वर्षको बैशाखमा भएको चुनावबाट दोस्रो कार्यकालका लागि निर्वाचित मेयरका त्यसभन्दा धेरै महत्त्वपूर्ण प्राथमिकता छन् । स्पष्टतः चुनावमा भोट माग्ने बेला उनले आफ्ना मतदातालाई सडक र खानेपानीको वाचा गरेका छन्, न कि चमेरा झुन्ड्याउने रुखहरूको ।

तर यी दुई जनाबीच पुरानो मित्रता छ । केही वर्षअगाडि राईले मेयर महर्जनलाई पुल्चोकको आकाशे पुलमुनि ‘झुलन बगैँचा’ बनाउने योजनामा सहमत गराएका थिए, भलै त्यो योजना कहिल्यै कार्यान्वयन भएन । यस पालि पनि उनले जावलाखेल चोकमा चमेरा झुन्डाउने योजनामा मेयरलाई सहमत गराए र सँगै उनलाई जावलाखेल चोकसम्म पुर्‍याए । त्यसपछि उनले मेयरलाई भने, ‘यो त ठट्टा थियो ।’

तर हालसालै अनलाइनखबरसँगको कुराकानीमा राइले आफ्ना कुरालाई ठट्टाका रूपमा मात्र नलिन चेतावनी दिए । उनका अनुसार उनको ठट्टाको पछाडि गम्भीर सन्देश छ ।

केही वर्षअघिसम्म कलाकारका रूपमा मात्र चिनिएका राईको अचेल पहिचान फेरिएको छ । उनी आजभोलि प्रकृति संरक्षणकर्मीका रूपमा आफूलाई चिनाउन चाहन्छन् । त्यसमा पनि उनको ध्यान सहरी क्षेत्रमा जैविक विविधता पुनर्स्थापना गर्नमा छ ।

‘काँठ’ भनिने बाहिरी घेराका केही क्षेत्र छाड्ने हो भने काठमाडौं उपत्यकामा जैविक विविधताको कुरा गर्नु ठट्टासिवाय केही होइन । तर महर्जनजस्ता सरोकारवालाको साथ लिएर हाल न्यूनतम स्तरमा मात्र भए पनि नासिइएको जैविक विविधतालाई पुनर्स्थापना गर्न सकिने राईलगायतका अभियन्ताको दाबी छ ।

विश्व ब्याङ्कका अनुसार संसारको करिब ५६ प्रतिशत जनसङ्ख्या अर्थात् करिब साढे चार अर्ब मानिस सहरमा बस्छन् । यो क्रम बढ्दै जाने र सन् २०५० सम्म हुँदा विश्वको करिब ७० प्रतिशत जनसङ्ख्या सहरी क्षेत्रमा बसोबास गर्ने अपेक्षा गरिएको छ । त्यतिन्जेलसम्म सहरी जनसङ्ख्याको आकार आजको भन्दा दोब्बरभन्दा ठूलो भइसक्नेछ ।

गत वर्ष सम्पन्न राष्ट्रिय जनगणनाको प्रारम्भिक प्रतिवेदन अनुसार नेपालको ६६.०८ प्रतिशत जनसङ्ख्या सहरमा बस्छ । यद्यपि, आधारभूत सहरी पूर्वाधारसमेत नभएका क्षेत्रहरूलाई पनि ‘नगरपालिका’ का रूपमा गणना गरिएको हुनाले यो तथ्याङ्कमा केही विवाद छ ।

उता विश्व आर्थिक मञ्चले भने सहरी क्षेत्रको अनियन्त्रित वृद्धिले धेरै जोखिम उत्पन्न गर्नसक्ने चेतावनी दिएको छ । सहरी क्षेत्र पनि जैविक विविधताका लागि उपयुक्त स्थानका रूपमा विकसित नगरिएसम्म सन् २०३०सम्म जैविक विविधताको विनाशलाई पूर्ण रूपमा रोक्ने महत्त्वाकाङ्क्षी लक्ष्य पूरा नहुने दाबी गरिएको छ । स्मरणीय छ क्यानडाको मोन्ट्रिअलमा जारी जैविक विविधतासम्बन्धी १५औं विश्व सम्मेलन (कोप १५) पारित गर्ने अपेक्षा रहेको ‘२०२० पछिको विश्वव्यापी जैविक विविधता संरचना’को प्रमुख लक्ष्य नै सन् २०३०मा जैविक विविधताको विनाशलाई पूर्ण रूपमा रोक्नु हुनेछ ।

सुधारको सङ्केत

विगतका केही दशकहरूमा अनियन्त्रित बसाइसराइँको सम्बोधनका लागि काठमाडौंका खुला फाँटहरूमा महल ठडिएपछि यहाँ मान्छेबाहेक अन्य जीवजन्तु र वनस्पतिको जीवन संकटमा परेको छ । काठमाडौं उपत्यकाको कुरा गर्दा सबैको मुखमा झुन्डिने उपमा बनेको छ ‘कङ्क्रिटको जङ्गल’ । काठमाडौंवासीको बुझाइमा सहरीकरण भनेकै खाली ठाउँमा घर बनाउनु भन्ने भएको छ ।

अकल्पनीय जनसङ्ख्या वृद्धिको प्रभाव काठमाडौंका नदीहरूमा देखिएको छ । त्यहाँ पानी बग्न छाडेको छ, सबै नदीहरू मलमूत्र व्यवस्थापनका निर्विकल्प विकल्प भएका छन् । अनि पवित्र र पूजनीय वाग्मती नदीले पनि अन्तर्राष्ट्रिय समाचार बन्ने मौका पाएको छ, सबैभन्दा फोहोर नदीको पहिचानका लागि ।

गत वर्षको जनगणनाअनुसार काठमाडौं जिल्लाको हरेक एक वर्गकिलोमिटर क्षेत्रमा पाँच हजार एक सयभन्दा बढी मानिसको बसोबास छ, जुन देशभरिको सर्वाधिक जनघनत्व हो । त्यति हुँदाहुँदै पनि यहाँको वार्षिक जनसङ्ख्या वृद्धिदर डरलाग्दो १.४० प्रतिशत छ ।

तर पनि राईको दाबी छ कि जति धेरै समय लागे पनि सहरी जैविक विविधताको पुनर्स्थापना सम्भव छ । उनी भन्छन्, ‘लखेटिएका भँगेराहरू पुनः सहरका घरआँगनमा आऊन् भन्ने मेरो चाहना मात्र होइन, हामीले चाहने हो भने यो सम्भव छ भन्ने विश्वास पनि छ ।’

आफ्नो चाहना र विश्वास बोकेर राई हालसालै धरान र विराटनगरलगायतका सहरहरू गए र हाल उपलब्ध खुला स्थानको उपयोग गर्दै काम सुरु गर्न आग्रह गरेर फर्किए ।

सहरी क्षेत्रको जैविक विविधता भनेको पार्क बनाउनु मात्र होइन भन्ने उनलाई पनि थाहा छ, तर हालका नेपाली सहरहरूको अवस्थामा पार्क बनाएरै यो अभियान सुरु हुने उनी बताउँछन् ।

वन अधिकृतका रूपमा लामो समय सरकारी सेवा गरी अवकाश पाएका विजयराज पौड्याल पनि राईको कुरामा सहमत छन् । उनी पनि आफ्नो टोलछिमेकमा हरियाली प्रवर्द्धन गर्नका लागि सक्रिय छन् ।

पूर्वी काठमाडौंको पुरानो सिनामङ्गलमा नगर आवास योजना (टाउन प्लानिङ) विकास गर्ने क्रममा स्थानीयहरूको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले स्थापित सिनामङ्गल नगर सेवा समाजको अध्यक्षसमेत रहेका पौड्याल भन्छन्, ‘सहरी क्षेत्रमा बस्ने हामीमध्ये कतिपयलाई आफ्नो घरकम्पाउन्डभित्र ठिकठाक भएपछि आफ्नो जीवनस्तर गुणस्तरीय बनाउनका लागि केही पनि चाहिन्नजस्तो लाग्छ,’ उनी भन्छन्, ‘तर त्यस्तो होइन नि । तपाईंले आफू र आफूवरिपरिका अन्य मानिसहरूका लागि पनि केही गर्नुपर्ने हुन्छ । सहरी जैविक विविधताको संरक्षण र पुनर्स्थापना पनि एउटा त्यस्तै दायित्व हो ।’

पौड्यालको नेतृत्व रहेको सेवा समाजले करिब आधा वर्गकिलोमिटर जति क्षेत्र ओगटेको छ । त्यहाँ समाजको सक्रियतामा छ ओटा उद्यान (पार्क) हरू निर्माण गरी सञ्चालनमा छन् ।

‘पछिल्लो समय हामी अरू ठाउँमा पनि गएर यस्ता पार्कहरूको स्थापना र सञ्चालनको सहजीकरण गरिरहेका छौं,’ उनी भन्छन्, ‘हामीलाई जैविक विविधता किन चाहिन्छ भनेर अन्य समुदायलाई पनि बुझाउन सुरु गरेका छौं ।’

पछिल्ला केही वर्षहरूमा सहरमा भइरहेका केही गतिविधिबाट पौड्याल उत्साहित छन् । ‘ठूला नदीका किनारमा विभिन्न रुखबिरुवा रोप्न थालिएका छन् । गुणस्तरको प्रश्न आफ्नो ठाउँमा छ, टोलटोलमा पार्क बन्न थालेका छन् । हरियाली, खुला ठाउँ र सफा पानी चाहिन्छ भन्ने चेतना विस्तार भएको छ,’ उनी भन्छन्, ‘यसले निरन्तरता पाउनुपर्छ । अझै विस्तारित हुनुपर्छ ।’

पार्क बनेसँगै त्यहाँ चरा र चमेरा बिस्तारै जम्मा हुनेछन् अनि सबै जीवजन्तु मिलेर स्वस्थ पारिस्थितिक प्रणालीको विकास गर्नेछन् भन्ने राईको विश्वास छ ।

विदेशी सहररूको सिकाइ

राईका अनुसार संसारका विभिन्न देशका विभिन्न सहरहरूले मृतप्रायः भइसकेको जैविक विविधतालाई पुनर्जागृत गराएका छन् र नेपालले पनि तिनबाट पाठ सिक्नुपर्छ ।

उनको कुरा ठिक हो किनकि अन्तर्राष्ट्रिय सरोकारवालाहरूले पनि एकअर्काको सिकाइमा नै जोड दिएका छन् । मोन्ट्रिअलमा जारी जैविक विविधतासम्बन्धी १५औं विश्व सम्मेलनअन्तर्गत दुई दिनसम्म चलेको उपराष्ट्रिय सरकार तथा नगरहरूको सातौं शिखर सम्मेलनका क्रममा संसारका विभिन्न भागबाट भेला भएका स्थानीय सरकारका नेताहरूले आपसी सहकार्य र सिकाइबारे छलफल गरे ।

सहरी क्षेत्रमा जैविक विविधता संरक्षणका लागि आफ्नो छलफलबाट आएको निष्कर्षलाई उनीहरूले जैविक विविधता महासन्धि सचिवालयमा बुझाएका छन् र त्यसलाई पनि कोप १५ ले पारित गर्ने अपेक्षा रहेको ‘२०२०पछिको विश्वव्यापी जैविक विविधता संरचना’मा समावेश गर्न माग गरेका छन् ।

छलफलका लागि प्रस्तुत गरिएको संरचना दस्ताबेजको मस्यौदामा रहेका कुल २२ उद्देश्यहरूमध्ये मुख्यतः १२औं उद्देश्य सहरी क्षेत्रको जैविक विविधतासँग सम्बन्धित छ । कुनै पनि शब्द, शब्दावली वा वाक्यमा कोष्ठ नभई पूर्णतः ‘सफा’ रहेका थोरै उद्देश्यहरूमध्येको एक हो १२औं उद्देश्य । अर्थात्, यस उद्देश्यमा महासन्धिका कुनै पनि पक्ष राष्ट्रको विमति छैन । सम्भवतः यसबाट उपराष्ट्रिय तथा नगर स्तरका नेताहरू उत्साहित छन् ।

मिश्रित प्रयोगका क्षेत्रमा जैविक विविधतालाई मूलप्रवाहीकरण गर्नुपर्ने १४औं उद्देश्यले पनि सहरी क्षेत्रको जैविक विविधता प्रवर्द्धनमा सहयोग गर्छ । यसले संरक्षित क्षेत्रबाहिर पनि प्रकृतिको प्रयोग गर्दा सम्बधित नीति तथा अभ्यासमा जैविक विविधतालाई सुधार गरिनुपर्ने कुरामा जोड दिएको छ ।

उपराष्ट्रिय सरकार एवं नगरहरूको शिखर सम्मेलनको समाप्तिपछि यसका निर्णयहरू सार्वजनिक गर्न मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा चीनको कुन्मिङ नगरका मेयर लू जेचनले मोन्ट्रिअल नगरमा जैविक विविधताको संरक्षण तथा प्रवर्द्धनका लागि गरिएको प्रयासको प्रशंसा गरे ।

‘हरेक बिहान यहाँको नदी किनारमा दौडिन पाउँदा मलाई रमाइलो लागेको छ । एकदमै सुन्दर सहर, म त प्रभावित भएँ,’ उनले भने, ‘चिनियाँ सहरहरूका लागि यो एउटा गतिलो उदाहरण हुन सक्छ ।’

उनीभन्दा अगाडि बोलेकी मोन्ट्रिअलकी मेयर भ्यालरी प्लन्टले जैविक विविधताको नाश हुँदा सहरहरूमा परेको प्रभावको चर्चा गर्दै एकअर्काको साझेदारीमा जैविक विविधता पुनर्स्थापनाको प्रयास गर्नुपर्ने बताइन् । आफ्नो नेतृत्वको स्थानीय सरकारले हालसालै यहाँको ३० प्रतिशत जमिनलाई जैविक विविधताको संरक्षणका लागि संरक्षित क्षेत्रका रूपमा विकास गर्न लागेको पनि उनले घोषणा गरिन् ।

उपराष्ट्रिय सरकार एवं नगरहरूको सातौं शिखर सम्मेलनमा नेपालका तर्फबाट कसैको पनि सहभागिता थिएन ।

उक्त सम्मेलनको केही दिनअघि, कोप प्रक्रियाकै दौरान विभिन्न देशका १५ नगरका मेयरहरू मोन्ट्रिअलमा भेला भई सहरी क्षेत्रको जैविक विविधता पुनर्स्थापनाका लागि थप लगानीको आवश्यकतामा जोड दिँदै एक घोषणा पत्र जारी गरेका छन् ।

जैविक विविधतासम्बन्धी विश्वव्यापी युवा सञ्जालको तर्फबाट कोप १५ मा सहभागी नेपाली प्रतिनिधि प्रियङ्का पाण्डेले सहरी क्षेत्रको जैविक विविधताबारे यहाँ भएका कार्यक्रमहरूलाई नजिकबाट नियालिरहेकी छिन् । हालसम्म उनको निष्कर्ष छ विश्वका अन्य सहरमा भएका गतिविधिहरूबाट पाठ सिके पनि नेपालका नगरहरूले जैविक विविधता पुनर्स्थापना गर्नका लागि आफ्नै किसिमका योजनाहरू विकास गर्नुपर्छ ।

‘सबैका लागि एउटै दृष्टिकोण लागू हुन सक्छ भन्ने सोचियो भने त्यो घातक हुन सक्छ । काठमाडौंका लागि सर्वप्रथम यहाँका सडकहरूसँग सन्तुलन कायम हुने गरी हरियाली प्रवर्द्धन गर्न पार्कहरू बनाउँदा नै ठिक हुन्छ,’ उनको सुझाव छ ।

अबको बाटो

काठमाडौं उपत्यकामा सहरी विकासका लागि कार्यरत विभिन्न निकायहरूले पनि जैविक विविधता पुनर्स्थापनाको आवश्यकतामा सहमति जनाउँदै त्यसका लागि आफूहरूले पनि पहल सुरु गरिसकेको बताएका छन् ।

काठमाडौं उपत्यकामा सहरीकरणसँग सम्बन्धित कार्यक्रमहरूको समन्वयका लागि सङ्घीय सरकारले गठन गरेको काठमाडौं उपत्यका विकास प्राधिकरणले गत आर्थिक वर्षमा १५ ओटा पार्कहरू बनाएको छ । प्राधिकरणकी विकास आयुक्त जानुका ढकालका अनुसार यी पार्क र अन्य खुला क्षेत्रहरूमा आगामी तीन वर्षभित्र आठ हजार बिरुवा रोपिनेछन् । ‘हामीले भक्तपुर र ललितपुरका दुई पोखरीहरूको संरक्षणका लागि पनि नयाँ परियोजना सुरु गरेका छौं । प्रारम्भिक काम गरेपछि हामी तिनलाई स्थानीय सरकारलाई हस्तान्तरण गर्नेछौं र तिनको स्वामित्व लिन लगाउनेछौं,’ ढकाल बताउँछिन् ।

स्थानीय सरकारहरूले पनि यसका लागि नेतृत्व लिन तयार रहेको बताएका छन् । ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार महानगरको नेतृत्वलाई दीर्घकालीन रूपमा भौतिक पूर्वाधारभन्दा पनि वातावरण संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता महसुस भइसकेको छ ।

उनी भन्छन्, ‘त्यसैले हामीले सबै वडाहरूलाई एक वर्षभित्रै कम्तीमा एक पार्क बनाउनका लागि पत्राचार गरेका छौं । जमिनमा हरियाली र पानीमा स्वच्छता कायम गर्नका लागि हामीले सुरु गरेका ‘ग्रिन एन्ड ब्लु’ परियोजना पनि विगत पाँच वर्षदेखि सञ्चालनमा छ ।’

तर यस विषयमा कुरा गर्न सबैभन्दा बढी जनसङ्ख्या र जनघनत्व भएको काठमाडौं महानगरपालिकाका कोही पनि प्रतिनिधि तयार भएनन् ।

ललितपुरले भने सहरी क्षेत्रको जैविक विविधता पुनर्स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युनेप) सँग पनि सहकार्य गरिरहेको छ । जैविक विविधतासम्बन्धी १५औं विश्व सम्मेलनका लागि मोन्ट्रिअलमा रहेकी युनेपको सहरी एकाइकी कार्यक्रम अधिकृत स्यारोन गिलका अनुसार उनको कार्यालयले ललितपुरलगायतका नगरहरूसँग आफूअन्तर्गतका क्षेत्रमा हरियाली र पानीका स्रोत बचाउने क्रममा भोग्नुपर्ने व्यवधान सामना गर्न र जोखिम मोल्नका लागि सक्षम बनाउन सहकार्य गरिरहेको छ ।

‘तत्कालका लागि पैसाको अभाव सबैभन्दा ठूलो बाधाजस्तो देखिएको छ, तर पैसै नभएको चाहिँ होइन,’ उनी भन्छिन्, ‘पैसा छ, तर अब हामीले प्राथमिकता सच्याउनुपर्नेछ । यदि सडकका लागि पैसा हुन्छ भने पार्कका लागि किन हुँदैन ?’

सहरी क्षेत्रमा जैविक विविधता प्रवर्द्धन गर्नका लागि केन्द्रीय सरकार, वित्तीय संस्था, निजी क्षेत्र तथा स्थानीय समुदायले स्थानीय सरकारहरूलाई सहयोग गर्नुपर्ने उनको सुझाव छ ।

ललितपुर महानगरले पछिल्लो समय लिएका पहलहरूबाट आफू प्रभावित भएको बताउँदै गिल भन्छिन्, ‘अब नेपालमा ललितपुरजस्ता धेरै नगरहरू चाहियो । संसारमा पनि धेरै ललितपुरहरू चाहियो । अब हाम्रो ध्यान त्यसैमा छ ।’

त्यसो भए मिलन राईले जावलाखेल चोकमा चमेरा झुन्ड्याउने भनेर गरेको ठट्टा वास्तविकतामा परिणत हुन्छ त ?

‘किन हुँदैन त ?’ मेयर महर्जनले यस पालि आफूलाई धोका नदिने विश्वास रहेको बताउने राई भन्छन्, ‘तर एउटा परियोजना गर्दैमा भइहाल्छ भन्ने चाहिँ होइन । तपाईं लगातार लागिरहनुपर्छ किनकि समग्र समाज नै रूपान्तरण गर्नु छ ।’

लेखकको बारेमा
दिवाकर प्याकुरेल

प्याकुरेल अनलाइनखबर अंग्रेजी संस्करणका संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?