+
+

मुद्दाको चाप थेगिनसक्नु छ : कामू प्रधानन्यायाधीश कार्की

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १८:३५

३ पुस, काठमाडौं । कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा मुद्दाको चाप थेगिनसक्नु भएको टिप्पणी गरेका छन् ।

न्यायपरिषद दिवसमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै कार्कीले मुद्दाको चाप बढ्दो क्रममा रहेको तर न्यायाधीशको संख्या नबढेकाले सन्तुलनमा राख्न नसकिएको टिप्पणी गरे ।

‘अहिले हामी दत्तचित्त भएर न्यायसम्पादन गरिरहेका छौं, मुद्दा सुन्ने र फैसला गर्ने काम अदालतमा गर्छौ, फैसला लेख्ने घरमा हो’ कामू प्रधानन्यायाधीश कार्कीले भने, ‘प्रतिनिधिसभाको कार्यकाल बाँकी रहदै न्यायपरिषदबाट ३ जना न्यायाधीशको नाम सिफारिस भएपनि सुनुवाइ हुन सकेन, त्यसपछि अरु न्यायाधीशको पद समेत रिक्त भएको छ ।’

दिपालयबाहेकका सबै उच्च अदालत कामू मुख्य न्यायाधीशको भरमा चलेको छ । कामू प्रधानन्यायाधीश कार्कीले उच्च र जिल्ला अदालतमा समेत जनशक्ति अभाव भएको बताए ।

सर्वोच्च अदालतले मुद्दाको चाप व्यवस्थापन गर्न १० वर्ष पुराना मुद्दाहरुलाई ‘अभियान’को नाम दिई ती मुद्दा सुनुवाइका लागि हरेक दिन छुट्टै इजलासमा सुनुवाइ गर्दै आएको छ ।

अहिले अधिकतम प्रयास गरेर मुद्दाको अनुपात घटाउने प्रयास भइरहेको उनले बताए । कामु प्रधानन्यायाधीश कार्कीले भने, ‘पछिल्लो समय दर्ता भएका मुद्दाको तुलनामा फर्छ्यौट हुने मुद्दाको संख्या बढ्दो छ ।’

न्यायपरिषद सचिवालयले आइतबार सार्वजनिक गरेको बुटेलिन अनुसार यो वर्ष ६ जना न्यायाधीश पदमुक्त भएका छन् । उच्च अदालतका न्यायाधीशहरु रेणुका शाह, नसरुल्लाह अन्सारी, राकेशकुमार निधि तथा जिल्ला न्यायाधीशहरु लोकजंग शाह, अनिलकुमार शर्मा र श्यामसुन्दर अधिकारी परिषदको सिफारिसमा पदमुक्त भएका हुन् ।

परिषदले यो वर्ष २३ जना जिल्ला न्यायाधीश नियुक्त गरेको छ । परिषदले यो वर्ष न्यायाधीश नियुक्ति सम्बन्धी निर्देशिका जारी गरेको छ, जुन सर्वोच्चबाहेक उच्च र जिल्ला अदालतका न्यायाधीशहरुको हकमा लागू हुनेछ ।

न्यायाधीशको सिफारिस, कामको अनुगमन र कारवाहीको सिफारिस गर्ने संवैधानिक निकायको परिकल्पना सहित २०४७ सालको संविधानमा न्यायपरिषदको व्यवस्था गरिएको थियो । ३ पुस २०४७ सालमा पहिलो बैठक बसेको दिनलाई स्मरण गर्दै हरेक ३ पुसमा न्यायपरिषद दिवस मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?