+
+

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय अभिनेता ओवराय, भनेः नेपालीलाई नयाँ वर्षको उपहार !

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १९:५०

३ पुस, पोखरा । शुक्रबारदेखि पोखराका विभिन्न पर्यटकीय क्षेत्रमा घुमघामसहित साहसिक खेलमा सहभागी भइरहेका भारतीय अभिनेता विवेक ओवराय आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुगे । विमानस्थल आगामी अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ देखि व्यावसायिक उडान गर्ने तयारीमा नागरिक उड्डयन प्राधिकरण छ ।

पर्यटन बोर्ड तथा विमानस्थल आयोजनाले ओवरायलाई अवलोकनका लागि डाकेको थियो । विमानस्थल अवलोकनपश्चात उनले आफू पहिलो पटक नेपाल आएको र नेपालीको धेरै माया तथा आतिथ्यताले प्रसन्न भएको प्रतिक्रिया दिए ।

उनले बुवाको दुई वटा फिल्म सुटिङ नेपालमै भएको भए पनि आफूहलाई भने नेपाल आउने पहिलोचोटि अवसर मिलेको सुनाए । ‘तपाईंहरुले मलाई कति धेरै माया दिनुभयो । नेपाल पहिलोचोटि आएको हुँ । बाबाले नेपालमा दुईवटा फिल्म सुटिङ गरिसक्नु भएको छ,’ सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले भने, ‘तर, मेरा लागि यो नै पहिलो हो ।’

ओवरायले पोखरा बसाइँका क्रममा आफूलाई मुस्ताङी दालको स्वादले मन जितेको खुलाए । ‘यसपटक हामीले वास्तविक मजा लिएको नेपाली खाना नै हो । त्यसमा पनि मुस्ताङी दाल एकदमै मन प¥यो,’ उनले भने, ‘यहाँको सत्कार, हिमाल र मान्छेहरु सबैको मजा लिने अवसर मिल्यो ।’

‘विमानस्थलबाट भारतीय पर्यटक धेरै आउनेछन्’

अभिनेता ओवरायले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयमै सुरु हुने र उक्त रुट हुँदै धेरैभन्दा धेरै विदेशी पर्यटक नेपाल आउने विश्वास व्यक्त गरे । उनले तोकिएको दिन (जनवरी १)मा व्यावसायिक उडान सुरु भए नेपालीका लागि उपहार सावित हुने सुनाए ।

‘पोखरामा अहिले अन्तर्राष्ट्रियस्तरको विमानस्थल बन्दैछ । यो जनवरी १ मै सुरु होस् भन्ने चाहन्छु । पोखरेलीमात्रै नभएर नेपालीकै लागि यो नयाँ वर्षको उपहार सावित हुनेछ,’ उनले भने, ‘यहाँबाट विश्वभरका पर्यटक नेपाल आउनेछन् भन्ने विश्वास लिएको छु । त्यसमा पनि विशेषगरी भारतीय पर्यटक धेरै आउनेछन् ।’

अभिनेता ओवरायले परिवारसहित घुमफिर गर्न पोखरा उत्कृष्ट गन्तव्य रहेको सुनाए । ‘पोखरा परिवारसहित मजा लिन चाहनेहरुका लागि पनि राम्रो गन्तव्य हो भन्ने लाग्छ,’ उनले भने, ‘सांस्कृतिक रुपमा पनि धनी लाग्यो, यसको छुट्टै महत्व छ ।’

पोखरा विमानस्थल प्रमुख विक्रम गौतमले अभिनेता गौतमलाई मायाको चिनो प्रदान गर्दै सामाजिक सञ्जालमा पोखराका सामग्री राखेर प्रचारप्रसार गरिदिन आग्रह गरे । उनलाई नेपाल पर्यटन बोर्ड, पोखरा प्रमुख काशीराज भण्डारीले स्थानीय उत्पादित झोला उपहार दिए । त्यसपछि ओवरायले ठट्टा गर्दै भने, ‘मलाई त मार्सी चामल र मुस्ताङको दाल उपहार दिनुहुन्छजस्तो लागेको थियो ।’

अभिनेता ओवरायको यसपछि अन्नपूर्ण बेसक्याम्प, पुनहिल ट्रेक, मुस्ताङ मुक्तिनाथ पछि लुम्बिनी जाने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?