+
+

शिक्षकको हत्या आरोपमा पक्राउ परेका दम्पती सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ७ गते १६:१८

७ पुस, बैतडी । बैतडीको पाटनमा रहेको कृष्ण माध्यमिक विद्यालयका शिक्षक धनबहादुर विष्टको हत्या अभियोगमा पक्राउ परेका दम्पतीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत बिहीबार हत्या अभियोगमा पक्राउ परेका पुर्चौंडी नगरपालिका–३ न्वादेउका प्रजा बोहरा र उनकी श्रीमती बिमलालाई सार्वजनिक गरेको हो ।

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेम शाहीकाअनुसार बोहरा विष्टले अध्यापन गराउँदै आएको कृष्ण माविमा कम्प्युटर डिप्लोमा अध्ययन गर्दै आएकी थिइन् । उनका श्रीमान बोहरा पनि केही दिनदेखि उनीसँगै विद्यालयको होस्टेलमा बस्दै आएका थिए ।

सुर्नया गाउँपालिका २ ग्वानी घर भएका शिक्षक विष्टले श्रीमतीमाथि दुव्र्यवहार गरेको देखेपछि हत्या गरेको बोहराले प्रहरी समक्ष बयान दिएका छन् । ‘पुस १ गते राति विमला शौचालय जान्छु भनि कोठाबाट बाहिर निस्केकी थिइ । ढिलोसम्म नआएपछि मैले खोजी गर्दा उनलाई विष्टले अंगालो हालेको देखेपछि रिस उठेर मुक्का हानेको थिए,’ बोहराको बयान उदृत गर्दै डीएसपी शाहीले भने, ‘मुक्का प्रहार गर्दा ढलेपछि उनको छाती र मुखमा हानेको हुँ । ’

विष्टको हत्या गरिसकेपछि श्रीमतीसँगै मिलेर शव छात्रवासको पछाडि लगेर फालेको बयान उनीहरुले दिएका छन् । बिमला बस्ने कृष माविको छात्रबासको माथिल्लो तलामा बस्दै आएका शिक्षक विष्ट गत शनिबार होस्टेल पछाडि मृत अवस्थामा भेटिएका थिए । घटनाको छानबिनको माग गर्दै पाटनमा आन्दोलन चर्किएको थियो ।

घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी निरीक्षक धनदेव साउद नेतृत्वको टोली पनि खटिएको थियो । जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अभियुक्त माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?