+
+

विविधता झल्किएको संसद

महिला, आदिवासी जनजाति, थारू, मधेशी, मुस्लिम, दलित र पिछडिएको क्षेत्रको सहभागिता सुनिश्चित गरिएको संविधान अनुसार निर्वाचित सांसदहरुको शपथ ग्रहण समारोहले त्यसको झझल्को दिन्थ्यो ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ पुष ७ गते २२:१३

७ पुस, काठमाडौं ।

प्रचण्ड : उहाँको (ड्रेस) युनिक खालको देखिन्छ ।

कार्चेन : तपाईंले सांसद बनाउनु भयो नि त …

बिहीबार नयाँ वानेश्वरस्थित संघीय संसद भवन परिसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसद छिरिङ दम्डोल लामा (कार्चेन) को पोशाकको प्रसंसा गर्दै गर्दाको संवाद हो यो ।

लामा हिमाली भोटे ड्रेसमा शपथ खान संसद भवन पुगेका थिए । उनी हुम्लाबाट निर्वाचित माओवादीका सांसद हुन् ।

राष्ट्रिय मुक्तिमोर्चा नेपालको केन्द्रीय अध्यक्ष रहेका हिमाली भोटे लामाको ड्रेसको प्रशंसा प्रचण्डले गरेका हुन् । प्रचण्ड तिनै नेता हुन् जो सबै जात, धर्म, वर्ग र क्षेत्रको राज्य सत्तामा समान पहुँचमा लागि १० वर्षे शसस्त्र युद्धको नेतृत्व गरेका थिए ।

लामा पनि आफूलाई हुम्ला को पहिलो भुमिगत माओवादी भन्ने गर्छन् ।

कार्चेन लामा ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले संसदमा समावेशिताको सुनिश्चितता गरेको छ ।

महिला, आदिवासी जनजाति, थारू, मधेशी, मुस्लिम, दलित र पिछडिएको क्षेत्रको सहभागिता सुनिश्चित गरिएको संविधान अनुसार निर्वाचित सांसदहरुको शपथ ग्रहण समारोहले त्यसको झझल्को दिन्थ्यो ।

सांसद कल्पना चौधरी थारू भाषा, भेषभूषा र संस्कृति झल्किने पहिरनमा थिइन् । शपथपछि उनी पत्रकारहरुसित भन्दै थिइन्, ‘मलाई एकदमै गर्व महसुस भयो ।’

गंगाराम थारू ।

नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सांसद गंगाराम थारु पनि थारु भेषभुषामै शपथ खान आएका थिए । थारु टोपी, कोट र धोतीमा सजिएका गंगाको गोडामा खराउ (काठको चप्पल) थियो । शपथपछि उनले अनलाइनखबरसित भने, ‘पछि पनि थारुको पहिचानसहित संसदमा आउने प्रयास गर्छु ।’

थारु समुदायको हकहितलाई ख्याल गरेर देश अनुसारको विविधतायुक्त परिस्थिति र परिवेश अनुसार विधि निर्माणमा केन्द्रीत हुने उनको प्रतिबद्धता छ ।

माओवादी केन्द्रकी सांसद दुर्गा राई किराँती भेषभुषामा थिइन । उनले शपथ किराँत राई कोयू लिइन् । अर्थात, ड्रेसका साथसाथै संसदमा बिहीबार शपथमा पनि विविधता थियो । उनी पत्रकारहरुसित भन्दै थिइन्, ‘संविधानले दिएको अधिकार प्रयोग गर्नका लागि किराँत राई कोयू भाषामा शपथ लिएको हो ।’ सांसदहरु मुस्लिम, नेवारी, मगर ड्रेसमा समेत संसदमा पुगे ।

गणतन्त्र अघिको संसदमा अहिले जस्तो भेषभुषा र भाषाको विविधता पाइँदैनथ्यो । संघीय संसद सचिवालयका पूर्व महासचिव सूर्यकिरण गुरुङका अनुसार एकात्मक शासन व्यवस्थामा संसद र पञ्चायती व्यवस्थाको राष्ट्रिय पञ्चायतमा समेत शपथ नेपाली भाषामा र पोशाक दौरा सुरुवाल र कोटमा संसदमा जान्थे । नेपाली भाषाको प्रयोग गर्दथे ।

किरणकुमार साह

‘०६२ अगाडि तत्कालिन सद्भावना पार्टीका सांसदले संसदमा हिन्दीमा बोल्थे । तर, उनीहरुको अभिव्यक्ति रेकर्डमा रहँदैनथ्यो । डटडट लेखेर हिन्दीमा बोलेको लेखिन्थ्यो’ गुरुङले खनलाइनखबरसित भने । अर्थात, विविधतायुक्त संसद ०६४ पछि मात्रै भएको हो । जो बिहीबार संसदम भवन नयाँ वानेश्वरमा छचलकियो ।

संघीय संसद सचिवालयका अनुसार बिहीबार शपथ लिएका २७० सांसदमध्ये २८ जना सांसदले नेपालीबाहेक १४ भाषामा शपथ लिए । जसमा मैथिली, भोजपुरी, तामाङ, थारू, उर्दू, कोयू, नेपाली खस, मधेशी, सन्थाल र संस्कृत लगायत छन् । उनीहरुले मातृभाषामा शपथ लिन पाउने संवैधानिक अधिकारको उपयोग गरेका हुन् ।

संसद सचिवालयका महासचिव भरतराज गौत्तमका अनुसार छुट्टै भाषा प्रयोग गर्नेहरुले कुन कुन भाषामा शपथ लिए भन्ने विषय महत्वका साथ छुट्टै लिखित रेकर्ड हुन्छ ।

रौतहटबाट निर्वाचित किरणकुमार साहले संस्कृत भाषामा शपथ लिएर नयाँ रेकर्ड दर्ज गरे । हिन्दूत्व झल्किने गेरुवा पोशाक लगाएर संसद पुगेका साह संस्कृत भाषामा पहिलो पटक शपथ लिने माननीय हुन पाएकोमा गर्व गर्दै थिए । अनलाइनखबरसित खुसी साट्दै भने, ‘इतिहास रच्ने अवसर मिल्यो । बधाई भन्दा धेरै धन्यवाद पाइरहेको छु ।’

कुनै सांसदले ईश्वरको नाममा शपथ लिए । कुनैले देश र जनताको नाममा । तर, नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गीता छोएर ईश्वरको नाममा सपथ लिए ।

राष्ट्रियता र सुशासनको विषयमा सार्वजनिक रुपमा आवाज उठाएर चर्चा कमाएका रवि लामिछाने चौथो ठूलो दलको हैसियमा संसदमा प्रवेश गरेका छन् । उनी दौरा सुरुवालमा जिएर संसद गए । शुसासनकै विषउ उठाउँदै आएका राप्रपाका ज्ञानेन्द्र शाही राष्ट्रिय पोशाकमै थिए ।

सुशासन कायम गर्न र भ्रष्टाचार रोक्न पहल गर्ने प्रतिवद्धताका लागि राप्रपा १३ जना सांसदले थप शपथ पनि लिए ।

संविधान, कानुन र अभ्यासले थप शपथको कल्पना गरेको छैन । तर, जनताका बीच वाचा गर्न शपथमा प्रयोग भएको भन्दा थप वाचा गर्दै राप्रपाका सांसदहरुले आफूखुसी थप शपथ लिएका हुन् ।

०७४ मा ‘भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह’ भएको भनी एक्लै थप खाएका राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देनसहित यसपटक राप्रपामा १३ जना सांसदले ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्नेछु’ भन्ने वाक्य पढेर हस्ताक्षर गरी संघीय संसद सचिवालयमा बुझाए ।

जुवेदा खातुन ।

 

तस्वीरहरु विकास श्रेष्ठ र चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?