+
+

गुगलको विकल्प भनेर चर्चा भएको ‘च्याट-जीपीटी’को नालीबेली

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ८ गते १४:४०

८ पुस, काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले भविष्यमा के–के गर्न सक्ला ? यसको गतिलो जवाफ हो, च्याट-जीपीटी (ChatGPT) । एआई च्याटबट ‘च्याटजीपीटी’ प्रयोग गरिरहेकाहरुको अनुभव छ, ‘यसले त अचम्मै गर्छ ।’

हुन पनि यसले तपाईंले अनुरोध गर्नु भयो भने रोमान्टिकदेखि सबै खालका कविताहरु लेख्नेदेखि असाइनमेन्ट पूरा गर्न तथ्य खोज्नेसम्म काम काम गर्नसक्छ । आफ्नो इमेल र फोन नम्बरमा प्राप्त हुने ओटीपी कोडबाट सजिलै साइनअप गरेपछि चलाउन सकिने यो च्याट-जीपीटीका प्रयोगकर्ताको संख्या द्रुत रुपमा बढिहरहेको छ ।

च्याट-जीपीटी आर्टिफिसियल इन्टेलिजेन्ससँग सम्बन्धित ओपन एआई कम्पनीले विकास गरको अद्भूत ‘च्याटबट’ हो । अद्वितीय फिचरका कारण ३० नोभेम्बरमा सार्वजनिक भएको च्याट-जीपीटी विश्वभर चर्चामा छ ।

च्याट-जीपीटीको विकासकर्ता ‘ओपन एआई’ प्रविधि क्षेत्रमा कार्यरत इलन मस्क, इल्या सट्टेभर, जर्ज ब्रोकम्यान र कम्युटर इन्जिनियर साम अल्टम्यानको कम्पनी हो, जसले मेसिन थिंकिङसँग सम्बन्धित ड्याल–ई र ड्याल–ई २ प्रविधिलाई विश्वमाझ ल्याएको थियो । जसमा मान्छेले दिएको निर्देशनअनुसार सोचे अनुरुपको मौलिक चित्र बनाउन सक्ने फिचर छ ।

यही कम्पनीले तीन हप्ताअघि च्याट-जीपीटीको प्रारम्भिक रुप अर्थात प्रोटोटाइप सार्वजनिक गरेको हो । यो प्रविधिले च्याटबटकै रुपमा निबन्ध र नाटकहरु लेख्नेदेखि व्यक्तिगत विवरण (सीभी)सम्म बनाउन सक्छ ।

यसले धेरै कुरा सामान्य मानिसले लेखे जस्तै लेख्छ । तपाईंले सोध्नु भएको र माग्नु भएको कुनै पनि विषयका सूचना र जानकारी खाजेर रचनात्मक ढंगले पस्किन्छ ।

यसलाई तपाईं चुट्किला लेख्न पनि भन्नसक्नुहन्छ, आवश्यक पर्दा प्रेम गीत पनि । यसले हरेक पटक ओरिजिनल कन्टेन्ट बनाएर तपाईंलाई सुन्तुष्ट बनाउन प्रयास गर्छ ।

यो आर्टिफिसियल इन्टेलिजेन्स च्याटबटको जवाफ प्रश्नको स्पष्टतामा पनि भर पर्छ । जति स्पष्ट ढंगले प्रश्नहरु गर्नुहुन्छ, उसले दिने उत्तर उति रचनात्मक हुन्छ ।

मान्छेले सोध्ने प्रश्नको सटिक र रोचक जवाफ दिनु नै यसको मूल विशेषता हो । यसले रेडियो र टेलिभिजनका स्क्रिप्ट लेख्नेदेखि कम्प्युटर प्रोग्राम (कोड) समेत लेख्न सक्छ ।

यसले घरपरिवार र साथीभाइलाई पठाउन सकिने सन्देश समेत लेखिदिनसक्छ । यसले चिया कफीदेखि परिकार बनाउने तरिकासमेत बताइदिनसक्छ ।

कसरी काम गर्छ च्याट-जीपीटीले ?

च्याट-जीपीटी कुराकानीमा आधारित संवाद मोडेल (च्याटबट) हो, जसले आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् मेसिन थिंकिङको सहायताबाट विस्तृत रुपमा टेक्स्ट लेखेर प्रश्नहरुको जवाफ दिन दिन्छ ।

यो मान्छेजस्तै भाषामा जवाफ लेख्न सक्षम छ । यो यसरी विकसित गरिएको छ कि हामीले मान्छेसँग कुराकानी गरेजस्तै प्रश्नहरुको जवाफ पाउन सक्छौं ।

यो कम्प्युटर प्रोग्रामिङ/कोडिङ, टिभी स्क्रिप्ट लेख्न र जटिल वैज्ञानिक अवधारणाहरु व्याख्या गर्न सक्षम छ । इन्टरनेटसहित विभिन्न स्रोतबाट संकलन भएको अर्बौं डेटा दिएर यसलाई उत्तर दिनसक्ने बनाइएको हुन्छ ।

यसले सधैं सही जवाफ दिंदैन । यसले कतिपय गणितीय प्रश्नहरुको गलत जवाफ दिन सक्छ । कहिलेकाहीं यसको जवाफहरु यति लामो हुन्छन् कि मानिसहरुले तथ्यहरु जाँच नगरी विश्वास गर्न सक्छन् । तर, यसले सँधै सही जवाफ दिन्छ भन्ने छैन । कम्पनीले पनि यसलाई स्वीकारेको छ । सन् २०२१ पछिको तथ्य र तथ्यांकमा आधारित जानकारी यसले सहीसँग दिन सक्दैन ।

यसले कुनै भविष्यवाणी पनि गर्दैन । च्याट-जीपीटीले अपराध, घृणा र हिंसा फैल्याउने किसिमका प्रश्नको जवाफ दिने अस्वीकार गर्छ । तर, यसले अवैध कार्यलाई अपराधकै रुपमा समेत बताउनसक्छ ।

आपराधिक उद्देश्यले मागिएको सूचना दिन यसरी गर्छ  अस्वीकार  (नमूनाका लागि मात्रै प्रयोग गरिएको च्याट)

मान्छेले यसलाई गुगलको विकल्प समेत भन्न थालिसकेका छन्, तर, यो अहिले नै गगुलभन्दा राम्रो विकल्प हैन । यसलाई तुलना गर्ने समय पनि भइसकेको छैन ।

तर, यसको खास विशेषताहरुले यसलाई भविष्यमा गुगलको विकल्पमा रुपमा समेत चर्चा गरिएको सजिलै बुझ्न सकिन्छ । केही कुरा इन्टरनेटमा खोज्न त अहिले पनि गुगल नै उत्तम विकल्प हो ।

यसका फिचरले धेरैलाई बेरोजार बनाउनसक्ने भन्दै आशंकासमेत व्यक्त भएका छन् । यसको ‘क्रियटिभ फिल्ड’मा काम गरिरहेका कतिपयको जागिर खोस्ने आशंका व्यक्त भएका हुन् ।

यो प्रणाली जानकारी प्रदान गर्न र प्रश्नहरुको जवाफ दिन मात्रै डिजाइन गरिएकाले यसलाई मानव जीवनमा हानी निम्त्याउने जोखिम भने छैन । यसले आफैं निर्णय गर्नेर काम गर्ने क्षमता राख्दैन ।

तर, मान्छे यस्ता चिजमा बढी निर्भर हुन थाल्यो भने पक्कै पनि उसको सोच्ने क्षमतामा असर पर्न सक्छ । अझ यसले सजिलै सिर्जना समेत गरिदिने हुनाले मान्छेको रचनात्मक क्षमतालाई प्रतिकुल असर पार्न सक्ने विज्ञहरुले बताएका छन् ।

भविष्यलाई प्रभावकारी प्रविधि

च्याट-जीपीटीका सीमाहरु भएपनि यो मेसिन लर्निङ भएकाले मानिससँग अन्तरक्रिया गर्दा समयसँगै अझ राम्रो हुँदै जाने अपेक्षा गरिएको छ ।

यसले कम्प्युटर प्रोग्रामिङलाई पनि सहज बनाउनेछ । आधारभूत कोडिङको ठूलो हिस्सा अब एआईको सहयोगमा सहज रुपमा गर्न सकिने भएको छ ।

भविष्यमा यो प्रविधिको प्रभाव शिक्षा क्षेत्रमा छिटो देखिने छ । अलमलिएका विद्यार्थीले जब च्याट-जीपीटीमा प्रश्न गर्नेछन्, उनीहरुले धेरै कुराको सजिलै उत्तरहरु पाउनेछन् ।

भारतका पूर्व केन्द्रीय मन्त्री सुरेश प्रभु र ऋषिहुड विश्वविद्यालयका कुलपति शोभित माथुरले भनेका छन्, ‘अब शिक्षक आफैं परिवर्तन हुनुपर्छ ।’ उनीहरुका अनुसार अहिलेसम्म गुगलजस्ता सर्च इन्जिनले मात्रै शिक्षकहरुलाई चुनौती दिएको थियो । अब च्याट-जीपीटी नै व्यक्तिगत शिक्षक बन्नसक्छ, जो सँधै विद्यार्थीसामु उपस्थित हुनसक्छ ।

यो च्याटबटले उपलब्ध सबै जानकारीको आधारमा निष्कर्ष निकाल्न सक्छ । यसले तथ्यसहित मान्छेहरुले दिने भन्दा बलियो तर्कहरु पेश गर्न सक्छ । यसका कारण कतिपय क्षेत्रमा रहेका हालको कार्यशैलीलाई भविष्यमा परिवर्तन गर्नुपर्ने हुनसक्छ ।

धेरै प्रविधिहरु पहिले अस्वीकृत हुन्छन्, शंका रहेपनि अन्तमा अनुमोदित पनि हुन्छन् । यस्तो अद्भूत फिचरसहित आएको च्याट-जीपीटी जस्ता एआई र मेसिन लर्निङ अब कम्प्युटर विज्ञान र इन्जिनियरिङ पाठ्यक्रम मात्र रहन सक्दैन ।

प्रत्येक विद्यार्थीले विज्ञानको यो क्षेत्र नसिकी सुखै छैन, किनकी धेरै पेशाले यसलाई एकीकृत गरेर प्रयोग गर्ने दिन टाढा नहुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?