+
+

कहाँ फालिन्छ अब पोखराको फोहोर ?

विकास रोकामगर विकास रोकामगर
२०७९ पुष ८ गते १७:३७

८ पुस, पोखरा । अंग्रेजी नयाँ वर्ष अर्थात जनवरी १ देखि व्यावसायिक उडान सुरु गर्ने तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य बाधकका रुपमा छ, पोखरा ल्यान्डफिल साइट ।

ल्यान्डफिल साइटलाई बासस्थान बनाएका चराचुरुंगीका कारण ‘बर्ड हाजार्ड’ हुने विज्ञहरुले बताउँदै आएका छन् । विमानस्थलदेखि करिब २ किलोमिटर दूरीमा रहेको ल्यान्डफिलको विकल्प खोज्ने जिम्मा पोखरा महानगरको हो ।

नेपाल नागरिक उड्ड्यन प्राधिकरणले विमानस्थल निर्माणको सुरुआतदेखि नै महानगरलाई ल्यान्डफिल सार्न पटकपटक पत्राचार गर्दै आएको थियो । प्राधिकरणको तालिकाअनुसार अब विमानस्थलमा व्यावसायिक उडान सुरु गर्न एक हप्तामात्रै बाँकी छ ।

तर, समय नजिकै आइपुग्दासमेत महानगरले ल्यान्डफिल साइटको विकल्प दिन सकेको छैन । नवनिर्मित विमानस्थलमा यान्त्रिक उपकरण परीक्षण र नमुना उडान सफल भइसके पनि महानगरले आफ्नोतर्फबाट विकल्प दिन सकेको छैन ।

विमानस्थलले पटकपटक महानगरलाई पत्राचार गरेपछि अहिले हालको ल्यान्डफिल साइट (पोखरा १४, बच्छेबडूँवा)मा फोहोर फाल्न रोकेको छ ।

तर, अब कहाँ फाल्ने ?

महानगर प्रमुख धनराज आचार्य भन्छन्, ‘अहिले पोखराका विभिन्न ६ फरकफरक ठाउँमा अस्थायी फोहोर व्यवस्थापन गर्दै आएका छौं । यसमा हाम्रो व्यक्तिगत र टिम सबै कन्भिन्स छ ।’

मेयर आचार्यले शुक्रबार महानगरको कार्यपालिका बैठकले नयाँ ल्यान्डफिल साइटबारे निर्णय गरिसकेको तर, वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट आउन बाँकी रहेकाले सार्वजनिक नगरिएको जानकारी दिए ।

‘हाम्रो साइटबाट महानगरको ल्यान्डफिल साइट कहाँ बन्नेबारे टुंगो लगाइसकेका छौं । त्योभन्दा अगाडि अब हामीले बढीमा ३ दिनभित्र प्रस्ताव आह्वान गर्छौैं,’ मेयर आचार्यले भने, ‘त्यो प्रशोधन केन्द्र हुन सक्छ, उद्योग बनाउन सक्नुहुन्छ ।’

पोखराका फोहोरलाई मोहोरमा बदल्न अध्ययन तथा प्रतिवेदनसहित महानगरको कार्यपालिकाले निर्णय गरिसकेकाले अब २ वर्षभित्र ल्यान्डफिल साइट टिकट काटेर हेर्न सकिने बनाउने मेयरको दाबी छ ।

पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा महानगरका भेयर धनराज आचार्यले ल्यान्डफिलको व्यवस्थापनबारे यस्तो जानकारी दिएका हुन् । बिहीबारदेखि सुरु भएको फेस्टिभलको दोस्रो दिन भएको ‘कस्तो पोखरा’ सत्रमा मेयर आचार्यसँग सांसद विद्या भट्टराई र नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीसँग पत्रकार अमृत सुवेदीले कुराकानी गरेका हुन् ।

मेयर आचार्यले आफू आएको साढे ६ महिना आसपास भए पनि अधिकांश समय ल्यान्डफिल साइट व्यवस्थापनमै दिनु परेको सुनाए । ‘म आएको साढे ६ महिना भएको छ । अहिले हामी बेस बनाएका छौं, आधारभूत जग बसाएका छौं,’ उनले भने, ‘अहिले हामी ७० प्रतिशत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ल्यान्डफिल साइट खोज्न मै लगाएका छौं ।’

विमानस्थल

कास्की क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य विद्या भट्टराई पोखराको समन्यायिक विकासका लागि आफू लागिपर्ने बताइन् । उनले कुनै एउटा राजनीतिज्ञ एउटा भूगोल र एउटा समस्यासँगमात्रै नजोडिने भएकाले सबै क्षेत्रको विकास समान रुपमा अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

सांसद भट्टराईले पोखरा देशकै सचेत नागरिकको बसोबास गर्ने भए पनि सामाजिक आन्दोलनमा पछाडि परेको सुनाइन् । कुनै पनि सहरको विकास हुँदै गर्दा सामाजिक आन्दोलन पनि तात्दै जाने तर, पोखराले भने नेतृत्व लिन नसकेको उनको दाबी थियो ।

‘सहरको विकाससँगै विभिन्न सामाजिक आन्दोलन सुरु हुन्छ । तर, त्यो आन्दोलन काठमाडौंमा सीमित भएका छौं, काठमाडौंको सिको गर्नेमात्रै भएको छ,’ सांसद भट्टराईले भनिन्, ‘पोखराले आफैं सुरु गरेको छैन । पोखरा मृत सहर हो भन्ने म मान्दिनँ । यो सचेत नागरिक बस्ने सहर हो ।’

भट्टराईले पोखराको परिचय पर्यटनबाहेक हुन नसक्ने बताइन् । उनले पोखराको दक्षिणी भेगलाई पनि यातायात, शिक्षाको विकास गरेर पर्यटनको विकास गर्न सुझाव राखिन् । उनले ती क्षेत्रमा आफूले मेट्रो रेलको परिकल्पना गरेको सुनाउँदै भनिन्, ‘एउटा राजनीतिज्ञले परिकल्पना गरेन भने परिवर्तन हुँदैन । त्यसैले हरेक नेताले सपना देख्नुपर्छ ।’

नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले काठमाडौंबाट पोखरा ल्याइएका १ सय ५० जनाबाट सुरु भएको पोखरा निर्माण आज महानगरसम्म पुगेको स्मरण गरे । उनले निजी क्षेत्रले नै पोखरा बनाएकाले उनीहरुलाई समेटेर विकासको खाका तयार पार्नुपर्ने बताए ।

मुल्मीले अहिले पोखरा विकासको नयाँ अध्यायका लागि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको संघारमा रहे पनि त्यो अपुरो रहेको बताए । ‘आज सबै पोखरेलीको पुरानो सपना पूरा हुनेबेला आएको छ । तर, त्यो अपूर्ण भएर आएको छ,’ मुल्मीले भने, ‘अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन ३ हजार मिटर रनवे चाहिन्छ । त्यो नहुँदासम्म पोखरा अन्तर्राष्ट्रियसँग जोडिँदैन ।’

पोखरा जीवन्त सहरका रुपमा कायम रहनु नै सबै पोखरेलीको परिकल्पना रहेको मुल्मीले बताए । ‘यो सहर जीवन्त रहनका लागि जीवनस्तरमा गुणात्मक सुधारको अपेक्षा राख्दछौं । त्यो भनेको हाम्रो आर्थिक क्रियाकलापसँग जोडिएको कुरा हो,’ उनले भने ।

मेयर आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुरुआत भएसँगै पोखरामा ट्राफिक जामको समस्या समाधान गर्न आफूहरुले वैकल्पिक रुटको व्यवस्था गरेको जानकारी दिए । एअरपोर्टदेखि वीरेन्द्रचोक, आरटीओ रोड हुँदै लेकसाइडसम्म आउन ४ वटा नियमित गाडीको व्यवस्था गरी पाहुनालाई सिधै लेकसाइड लैजाने अल्पकालीन व्यवस्थापन गरेको उनको भनाइ थियो ।

१० गतेदेखि सडक पार्किङ निशुल्क

महानगर मेयर धनराज आचार्यले आइतबारदेखि पोखराका सडकमा पार्किङ गरेवापत शुल्क तिर्नु नपर्ने बताएका छन् ।

उनले ठेकेदार कम्पनीले नियमित रुपमा किस्ता नतिरेकाले ठेक्का रद्द गरिएको जानकारी दिए ।

‘भोलि, पर्सिसम्म उठाउलान् । १० गतेदेखि सडकमा शुल्क तिर्नुपर्दैन,’ उनले भने, ‘चैत २७ गतेसम्म सडक पार्किङ शुल्क उठाउने जिम्मा लिएर ठेक्का लिनु भएको उहाँहरुले पैसा बुझाउन सक्नु भएन । तिर्नुपर्ने र्पैसा बढी भएपछि ठेक्का हामीले तोडेका छौं ।’

पोखरा महानगरले सडक पार्किङ शुल्क उठाउन जेभीसँग ०७७ मंसिर १४ गते सम्झौता गरेको थियो । महानगरले जेभीसँग २ वर्षका लागि ३ करोड १६ लाख ७० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । जसअनुसार प्रत्येक किस्तामा महानगरले ६३ लाख ३४ हजार रुपैयाँ पाउने उल्लेख छ ।

सम्झौताअनुसार मंसिर २७ गते नै ठेकेदार कम्पनीसँग गरेको सम्झौता सकिइसकेको छ । तर, निवर्तमान मेयर मानबहादुर जिसीले कार्यकाल सकिनुअगावै वैशाखमा सम्झौता गरी चैत मसान्तसम्मका लागि सम्झौता थप गरिदिएको खुलेको थियो ।

‘अक न्युरोड क्षेत्रका मुल सडक पार्किङ फ्रि हुन्छन् । त्यहाँका अन्डरग्राउन्डमै पार्किङ गर्ने व्यवस्था गर्छौं,’ मेयर आचार्यले भने, ‘लेकसाइड क्षेत्रमा हामीलाई अलि समस्या हो । तर, यहाँ पनि नेपाल ट्रष्टसँग जग्गा लिजमा मागिराखेका छौं । पोखराको पार्किङ छिट्टै व्यवस्थित भएको देख्न सक्नुहुन्छ ।’

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?