+
+

वुस्टर लगाउने निर्णय गरेको सरकारसँग छैन खोप

४० लाख डोज सिनोफार्म खोप प्रयोगहीन, अनुदानमा दिने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ८ गते १९:४६

८ पुस, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कोरोनाविरुद्धको खोप लगाउन पुग्नेहरुको संख्या बढ्दो छ । केही समयअघि दैनिक १०–१५ जनाले लगाउने गरेकोमा आजभोलि संख्या करिब सय जना पुगिसकेको छ ।

‘चीनमा संक्रमण फैलिएसँगै अहिले खोप लगाउने संख्यामा पनि विस्तारै चाप बढ्दै गएको छ,’ टेकु अस्पतालका सूचना अधिकारी नवराज गौतम भन्छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि जेष्ठ नागरिक, दीर्घरोगी र जोखिममा भएका व्यक्तिलाई चौथो डोज दिने निर्णय गरेको छ । राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले १७ कात्तिकमै दोस्रो बुस्टर डोज दिने मन्त्रीस्तरीय निर्णय गरेको थियो । त्यसअनुसार परिवार कल्याण महाशाखाले प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालयहरुलाई परिपत्र गरेको छ ।

राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष डा. रमेशकान्त अधिकारी भन्छन्, ‘अन्य देशमा पनि संक्रमण बढ्दै गएकाले सबैले बुस्टर डोज लगाउनुपर्ने देखिन्छ ।’

सरकारसँग भने पर्याप्त खोप छैन । भएको ४० लाख डोज सिनोफार्मको खोप भने व्यवस्थापकीय कमजोरीका कारण प्रयोग नै गर्न नमिल्ने अवस्थामा छ ।

सरकारसँग केन्द्रीय भण्डारण केन्द्र, प्रदेश, जिल्ला स्थानीय खोप केन्द्रसम्म ४७ लाख ६८ हजार खोप भण्डारणमा रहेको स्वास्थ्य सेवा विभाग अन्तरगतको व्यवस्थापन महाशाखाको तथ्यांक छ । जसमध्ये ४० लाख सिनोफार्म, २ लाख ८० हजार भेरोसेल, फाइजर ४ लाख ८० (बालबालिका लागि) छ ।

सरकारसँग सबभन्दा धेरै स्टक भएको सिनोफार्म खोप प्रयोग गर्न नसक्ने अवस्था छ । नेपालमा खोप लगाउने योग्य सबैजसो नागरिकले पहिलो डोज लगाइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार लक्षित जनसंख्याको २ करोड २३ लाख ८ हजार ४८३ एक मात्रा, २ करोड २३ लाख २४ हजार ९३३ पूर्ण मात्रा र ७९ लाख ७२ हजार ७९१ ले बुस्टर डोज लगाएका छन् ।

उनीहरुमध्ये कसैले पनि सिनोफार्मकै खोप नलगाएकाले अहिले बुस्टरका रुपमा दिन सक्ने अवस्था छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी भन्छन्, ‘पहिलो–दोस्रो डोज सिनोफार्मकै खोप लगाएकाहरुलाई बुस्टर डोजको रुपमा प्रयोग गर्न सकिन्छ । तर हामी कहाँ यो खोप प्रयोग नै नभएकाले बुस्ट डोजका रुपमा प्रयोग सकिएन ।’

राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष डा. रमेशकान्त अधिकारीका अनुसार अन्य खोपभन्दा सिनोफार्म कम प्रभावकारिता भएको पाइएको छ । ‘अहिलेसम्मको अध्ययन, अनुसन्धानको रिर्पोट हेर्दा अन्य खोप लगाएका मानिसले बुस्टरको रूपमा प्रयोग नगर्न भनिएको छ,’ डा. अधिकारी भन्छन् ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार सिनोफार्म खोप ल्याउने बेलामा नै उपयोग हुन नसक्ने जानकारी गराइएको थियो । तर शेरबहादुर देउवा प्रधानमन्त्री भए लगतै घोषणा गरेको सहयोग भन्दै सरकारले स्वीकार गर्न दबाव थियो । ‘नेपालमा सिनोफाम खोप आवश्यक छैन भनेर पटक पटक जवाफ पठायौं । तर राजनीतिक दबाव थेग्न सकिएन,’ ती अधिकारी भन्छन् ।

खोप ल्याएपछि पनि विवरण प्रणाली व्यवस्थित बनाउन नसक्दा प्रयोग नभएको विभागकै कर्मचारी बताउँछन् । ‘हामीलाई कुन खोप कति चाहिन्छ ? कुन खोपको प्रभावकारी कस्तो छ ? कसरी खपत गर्न सकिन्छ भन्ने बिषयमा कुनै योजना बन्न सकेन,’ ती कर्मचारीले भने, ‘मनलाग्दी रूपमा खोप लिँदा प्रयोग गर्न सकिएन ।’

स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाका प्रमुख डा.सुरेन्द्र चौरासिया भने आवश्यकता हेरेरै खोपको लिइएको दाबी गर्छन् । ‘त्यसबेला खोपको लगाउने मानिसको चाप बढी थियो । तर कोभिसिल्ड, एष्टेजेनिका, मार्डना खोपको म्याद कम रहेकाले पहिला प्रयोग गरियो,’ भन्छन्, ‘प्रभावकारिताको हिसाबले मानिसले कोभिडसिल्ड, मोर्डना जस्ता खोप लगाउन थालेपछि सिनोफार्मको खपत हुन सकेन ।’

अन्य देशलाई अनुदानमा दिने तयारी

स्वास्थ्य मन्त्रालयले अहिले प्रयोगहीन बनेको ४० लाख डोज खोप अन्य देशलाई अनुदानमा दिने तयारी बढाएको छ । ‘चीन सरकारसँग पनि समवन्य भइरहेको छ ।

विज्ञको सल्लाह अनुसार नै अन्य देशलाई अनुदानमा दिने मन्त्रालयमा एक चरणको छलफल भएको छ,’ मन्त्रालयका एक उच्च कर्मचारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?