+
+

चिसो बढेपछि मनाङमा विकास निर्माणका काम ठप्प

रासस रासस
२०७९ पुष ९ गते १७:००

९ पुस, मनाङ । चिसो बढ्दै गएपछि हिमाली जिल्ला मनाङमा विकास निर्माणका कार्यमा समस्या भएको छ । चिसो बढेसँगै माथिल्लो मनाङको विभिन्न पूर्वाधार निर्माणमा बाधा पुगेको हो ।

गत वर्ष निरन्तरको वर्षाले क्षति पुर्‍याएको भौतिक संरचना निर्माणका कार्य रोकिएको पूर्वाधार कार्यालयले जनाएको छ । विशेषगरी माथिल्लो मनाङको सडक, पुल, जलविद्युत्लगायत विकास निर्माणका काम रोकिएका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । ‘सदरमुकाम चामे, नासों गाउँपालिका क्षेत्रमा केही निर्माण भइरहेको छ । तर ङिस्याङ र नार्पाभूमि गाउँपालिकामा विकास निर्माण तथा पूर्वाधारको कार्य रोकिएको छ’, उनले भने ।

चिसोका कारण अहिले जिल्लाका चामे, नासों, नार्पाभूमि र ङिस्याङ गाउँपालिकामा विकास निर्माणका काम गर्न नसकिएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर जय विष्टले बताए । ‘हिउँका कारण माथिल्लो मनाङतर्फको पूर्वाधार निर्माणका काम गर्न कठिन छ । यहाँको काम वर्षमा जम्माजम्मी तीन महिना मात्रै हुन्छ’, उनले भने ।

मनाङको मेरुदण्डका रुपमा रहेको चामे–बेँसीसहर सडक खण्डको निर्माण कार्य पनि मौसम प्रतिकूलताका कारण रोकिएको उनले बताए । प्रायःजसो मनाङको विकास निर्माणको काम गर्न सकिने अवस्था नरहेको इन्जिनियर विष्टले बताए ।

उक्त सडक खण्ड निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत वार्षिक रुपमा बजेट विनियोजन हुँदै आएको छ । मनाङको सहज यातायातका लागि सरकारले विशेष रुपमा सडक निर्माण तथा विकास निर्माणका लागि बजेट विनीयोजन गर्दै आएको छ ।

विपद्ग्रस्त जिल्लालाई समावेश गरेर सङ्घ सरकारमार्फत विपद् व्यवस्थापन विभागबाट तीन करोड १४ लाख रुपैयाँ विनियोजन भएपछि तालगाउँको संरक्षणका लागि तटबन्धन निर्माणको काम भइरहेको पूर्वाधार कार्यालयले जनाएको छ । मनाङको तिमाङमा रु २२ करोडको लागतमा सडक ढलानको काम अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य सकिने अवस्थामा चिसो सुरु भएपछि केही ढिलाइ हुने भएको छ ।

सडक खण्डअन्तर्गतको जोखिम क्षेत्रको मर्मतसम्भारका लागि रु छ÷छ करोडमा नाना कन्सल्टेन्सीले ठेक्का लिएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।

आगामी पाँच वर्षको अवधिमा डुम्रे–बेंसीसहर–चामे सडकखण्डलाई चौडा, कालोपत्र, पक्की नालासहित सुरक्षित बनाउने योजनासहित बजेट विनियोजन भएको डुम्रे–बेंसीसहर–चामे सडक योजना रहेको कार्यालयले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?