+
+

महोत्तरीमा चरम यातना दिएर श्रमिकको हत्या

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०७९ पुष १० गते १८:०६
खुर्सैदलाई चरम यातना दिँदै अब्दुल सलाम ।

१० पुस, जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिकामा एक जना श्रमिकको हत्या भएको छ । हत्या हुनेमा सम्सी गाउँपालिका २ पर्सादेवाडका ४९ वर्षीय मोहम्मद खुर्सैद अन्सारी छन् ।

अन्सारीको हत्याको आरोपमा प्रहरीले पर्सादेवाडकै ३५ वर्षीय मो. अब्दुल सलामलाई पक्रेको छ ।

सलामले खुर्सैदलाई चरम यातना दिएर हत्या गरेको प्रहरीले जनाएको छ । सलामले यातना दिँदै गरेको भिडियोसमेत प्रहरीले फेला पारेको छ ।

मृतक खुर्सैदका भाइ मो. समजन अन्सारीका अनुसार बुधबार बिहानै ६ खुर्सैदलाई घरको काम गर्न भनि अब्दुलले बोलाएर लगेका थिए । चारदिन अघि मात्र १५ हजार रुपैयाँ मासिक तलब पाउने गरी खुर्सैदले अब्दुलको घरमा काम समातेका थिए ।

बुधबार दिउँसो ३ बजे खुर्सैदलाई अर्ध नग्न एवं गम्भीर अवस्थामा घरबाहिर दैलोमा फालेपछि स्थानीयबासिन्दाले थाहा पाएका थिए । खुर्सैदलाई तत्कालै आफन्तजनले उपचारको लागि अस्पताल लगेका थिए । खुर्सैदको जनकपुरको जानकी हेल्थकेयरमा उपचारकै क्रममा आइतबार मृत्यु भएको छ ।

प्रहरीले घटना भएकै दिन घटनास्थल पुगेर मो.अब्दुललाई नियन्त्रणमा लियो । नशामा लठ्ठ भएका कारण उनलाई नियन्त्रणमा लिन पनि प्रहरीलाई हम्मे हम्मे परेको थियो । उनले लठ्ठी, मुका, लात लगायतले कुटपिट गरेका थिए भने पेट्रोल खन्याएर मलद्वारमा आगो लगाएका थिए ।

उनलाई सोही दिन इलाका प्रहरी कार्यालय गौशालाले पक्राउ गरेको महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए ।

‘घटनाकै दिन अब्दुललाई पक्राउ गरेका छौं । भिडियो हामी पनि हेर्‍यौं । नशामा एकदमै बर्बयातना दिएर खुर्सैदको हत्या गरेका छन्’, एसपी पंगेनीले अनलाइनखबरसँग भने, ‘त्यही दिन उनीमाथि ज्यानमार्ने उद्योग मुद्दा दर्ता गरेर कारबाही अघि बढाएका थियौं । अब कर्तव्य ज्यान मुद्दामा कारबाही चलाउँछौं ।’

अब्दुल यसअघि पनि दुईपटक लागूऔषध मुद्दामा पक्राउ परेर छुटेको स्थानीय बताउँछन् । पहिलाको मुद्दा विषयमा सुनेको तथ्य खोजिरहेको एसपी पंगेनीले बताए । पहिला नै प्रहरीले पैसा खाएर अपराधी अब्दुललाई पटक पटक छाडेको कारण यस्तो जघन्य अपराध गरेको स्थानीयबासिन्दाको आरोप छ ।

मृतक खुर्सैदको घरको आर्थिक अवस्था कमजोर रहेकाले आफ्नो थोरैखेतीपाती र ज्यालादारी गर्दै आएका थिए । उनका चार छोरी र दुई छोरासहित ६ सन्तान छन् ।

मृतकका भाई समजद अन्सारीले दोषीमाथि कडा कारबाही हुनु पर्ने र क्षतिपुर्ति पाउनु पर्ने माग गरे । ‘दाइको यसरी चरम यातना दिएर हत्या भयो । दाइको ६ जना छोराछोरी छन् । उनीहरुको जीवन यापन कसरी चल्छ ?’ उनले भने, ‘उनलाई कडा कारबाही हुनुपर्छ । घटनामा अन्य दुई तीनजनाको संलग्नता छ । उनीहरुलाई पक्राउ गरी कडा कारबाही हुनुपर्छ ।’

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?