+
+

सकियो चीन जोड्ने प्रसारणलाइनको अध्ययन, निर्माणबारे छलफल हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १० गते २२:१०

१० पुस, काठमाडौं । चीन जोड्ने ४ सय केभीको रातमाटे–रसुवागढी–केरुङ प्रसारणलाइनको विस्तृत सम्भाव्यता अध्ययनको काम सकिएको छ । नेपाल विद्युत प्राधिकरणले चीन जोड्ने प्रसारणलाइनको नेपालतर्फको भू–भागमा इन्जिनियरिङ डिजाइनसहितको अध्ययन लगभग सकाएको हो ।

प्राधिकरणले लामटाङ राष्ट्रिय निकुञ्ज बाहिर र निकुञ्जभित्रबाट जाने दुई वैकल्पिक रुटको सम्भाव्यता अध्ययन गरेको छ । सकेसम्म निकुञ्ज छलेर नै करिब ७० किलोमिटरको प्रसारणलाइन बनाउने सरकारी योजना छ ।

प्राधिकरणका अनुसार आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) बनाउने काम भइरहेको छ । ईआईए तयार भएपछि परियोजना निर्माणको काम अघि बढाउन बाटो खुल्ने छ ।

रातमाटे–रसुवागढी–केरुङ ४ सय केभी प्रसारणलाइन आयोजनाका प्रमुख कोमलनाथ आत्रेयका अनुसार वातावरणीय प्रभाव मूल्यांकनका लागि केही दिनमा सार्वजनिक सूचना प्रकाशित हुँदैछ ।

२०७६ पुसमा बसेको नेपाल–चीनबीचको संयुक्त ऊर्जा सम्बद्ध प्राविधिक समिति बैठकमा आ–आफ्नोतर्फका भू–भागमा पर्ने प्रसारणलाइनको निर्माणको लागि विस्तृत अध्ययन अघि बढाउने निर्णय भएको थियो । परियोजनाको संयुक्त प्राविधिक स्तरमा विस्तृत अध्ययन गर्ने विषयमा प्राधिकरण र स्टेट ग्रिड कर्पोरेसन अफ चाइनाबीच सहमति भएको थियो ।

नुवाकोटको रातमाटेबाट चीनको रसुवागढीसम्म पुग्ने प्रसारणलाइन निर्माणका लागि प्राधिकरणले करिब ६ वर्षअघि नै अध्ययन अघि बढाउने निर्णय गरेको थियो । सन् २०१६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा चीनसँग अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने समझदारी भएको थियो । सम्भाव्यता अध्ययन गर्नुअघि नै चीनले प्रसारणलाइन निर्माणका लागि लगानी मोडालिटी टुंग्याउन प्रस्ताव गर्दै आएको थियो । चीनले उच्च क्षमताको अन्तरदेशीय प्रसारणलाइन पूर्ण अनुदानमा बनाउन नसकिने बताएपछि अध्ययन प्रक्रिया समेत लामो समय अल्झिन पुगेको थियो ।

तर, अध्ययनको मोडालिटीमा गाँठो फुकाएर काम थालेको करिब तीन वर्षमा प्राधिकरणले अध्ययन सकाएर थप प्रक्रिया अघि बढाएको छ ।

विद्युत व्यापारको ढोका खोल्ने महत्वपूर्ण अन्तरदेशीय प्रसारणलाइनको निर्माण सुरु गर्न ढिलाइ गर्न नहुने पक्षमा प्राधिकरण छ ।

परियोजना प्रमुख आत्रेयका अनुसार केरुङ नाकादेखि ७९ किलोमिटर पर जिलोङमा चीनले आफ्नो ४ सय केभीको सबस्टेसन तयार गरिसकेको छ । सोही सबस्टेसनमा लगेर यो लाइनलाई जोड्ने योजना छ । यसका लागि चीनले केरुङ नाकादेखि जिलोङसम्मको प्रसारणलाइन बनाउनुपर्ने छ ।

नेपालमा भने एमसीसी परियोजना अन्तरगत नै रातमोटेमा ४ सय केभीको सबस्टेसन बनिरहेको छ । सोही सबस्टेसनबाट चीनतर्फको प्रसारणलाइन जोडिनेछ ।

यो प्रसारणलाइन बनेपछि नेपाल–चीनबीच विद्युत व्यापार सुरु हुन सक्छ भने चीनले नेपालसहित अन्य दक्षिण एसियाली देशहरुसँग पनि बिजुली किन्न/बेच्न सक्ने आयोजनाका अधिकारीहरु बताउँछन् ।

चीनसँग प्रसारणलाइन बनाउन परियोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययनअनुसार चीनतर्फ ५ सय केभीको लाइन हुनेछ भने नेपालतर्फ ४ सय केभीको । बीचमा कन्भर्टर स्टेसन राखेर व्यवस्थापन गर्ने योजना छ । तर, चीनतर्फको परियोजनामा भइरहेको प्रगतिबारे प्राधिकरण पूर्ण जानकार छैन ।

आयोजना प्रमुख आत्रेयका अनुसार परियाजनाबारे केही समयभित्रै चीनसँग द्विपक्षीय बैठक बस्नेछ । ‘तेस्रो बैठक बेइजिङमा बस्नुपर्ने हुन्छ, तर कोरोनामा महामारीका कारण समस्या भएको छ,’ उनले भने, ‘नयाँ वर्षमा चीनको नाकाबाट आवातजावत खुला भएन भने नेपालमै बैठक बसेर भएपनि परियोजनालाई अघि बढाउनेबारे चीनसँग छलफल हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?