काठमाडौं । २०८१ को दशैं आउन दुई साता बाँकी थियो । चितवनका सुजन सुवेदीले युक्रेनबाट बुबा खड्गबहादुर सुवेदीलाई फोनमा भनेका थिए, ‘बाबा, नेपाल फर्किने चाँजोपाँजो हुँदैछ । अब चाँडै फर्किन्छु । मेरो चिन्ता नगर्नुहोला । बरु आफ्नो ख्याल राख्नुहोला ।’
सुजनले परिवारसँग सम्पर्क गरेको त्यो नै अन्तिम पटक थियो । दुवै मिर्गौला फेल भएका ६१ वर्षीय खड्गबहादुर चितवन खैरहनी नगरपालिका–३ मा ऐलानी जग्गामा रहेको आफ्नो घरमा छोराको प्रतीक्षामा थिए ।
लामो समयपछि छोरासँग बोल्न पाएका बुबा खड्गबहादुरको स्वास्थ्य भने जटिल बन्दै थियो । छोरा फर्किने आशामा त्यही दशैंको तेस्रो खड्गबहादुरले आफ्नो प्राण त्यागे ।
बुबा परलोक भएको १४ महिना बित्यो, तर त्यो खबर सुजनले अझै पाएका छैनन् । ऐलानी जग्गामा बनेको त्यो घरमा अहिले सुजनका दाजु सुमन र आमा मात्र छन् । युद्धबन्दीको रूपमा सुजन युक्रेन बसेको अढाइ वर्ष बित्यो ।
युक्रेनबाट नेपाल फर्काउन सुवेदी परिवारले के मात्र गरेन । नेताको घरदेखि सिंहदरबारसम्म धायो । केही पार नलागेपछि दाजु सुमन र भाइ सौजनले मिडिया र सामाजिक सञ्जालमार्फत सुजनलाई फर्काउन गुहार मागेका छन् ।
वैदेशिक रोजगारीका क्रममा जापानमा रहेका सौजनले हामीलाई भिडियो सन्देश पठाएर दाजु सुजनको मुक्तिको लागि पहल गरिदिन अनुरोध गरेका छन् । राज्य कमजोर भएका कारण आफ्नो दाजुको रिहाइमा ढिलाइ भएको गुनासो सौजनको छ ।
अन्य देशका नागरिकलाई तत्तत् देशले पहिले नै उद्धार गरिसकेको प्रसंग सौजनले सुनाएका छन् । दाइ सुजनको २ वर्षअघि युक्रेनमा युद्धबन्दीकै रूपमा खिचिएको भिडियो पोस्ट गर्दै सौजनले दाजुलाई मुक्त गराउन आफू र आफ्नो परिवारले अहिलेसम्म गरेका प्रयासहरूको बारेमा बताएका छन् ।

सुजन सुवेदी पहिलोपटक विद्यार्थी भिसामा रुस पुगेका थिए । त्यहाँ उनी पढ्दै, काम गर्दै थिए । तर युद्ध चर्किँदै गएपछि रोजगारी ठप्प हुँदै गयो । सोही समयमा पारिवारको आर्थिक अवस्था र मिर्गौला फेल भएका बुवाको अवस्था सम्झिएर सुजन रुसी सेनामा भर्ती भएका थिए ।
सौजनका अनुसार, सुजनले बाध्यताका कारण रुसी सेनामा भर्ती हुने निर्णय गरेका थिए । परिवारका कसैले पनि सैनिकमा प्रवेश गर्न उनको लागि दबाब दिएको थिएन । सुजनले सुरुमा नियमित सम्पर्क गरिरहे पनि करिब ५–६ महिनापछि उनी युद्धमै खटिएको कारणले सम्पर्क टुटेको सौजनले बताएका छन् ।
त्यसपछि करिब दुई महिनापछि एक युक्रेनी पत्रकारले ह्वाट्सएपमार्फत उनीहरूका बुबालाई फोन गर्दै सुजनको अवस्थाबारे जानकारी दिएका थिए । यिनै पत्रकारमार्फत नै पछि सुजनको भिडियोहरू परिवारलाई पठाइएको थियो ।
सुजनलाई फर्काउनका लागि नेपाल सरकारसँग वार्ता गर्न युक्रेन तयार रहेको ती पत्रकारले परिवारजनलाई बताएको सौजनको पोस्टमा उल्लेख छ ।
भाइ सौजनले हामीलाई लिखित सन्देश पठाउँदै भनेका छन्, ‘मेरो दाइ पहिले विद्यार्थी भिसामा रुस जानुभएको थियो । दाइ त्यहाँ पढ्दै र काम गर्दै हुनुहुन्थ्यो । विस्तारै युद्ध बढ्दै गयो र उहाँको काम रोकियो । उहाँले धेरै ठाउँमा काम गर्नुभयो । तर २/३ दिनमै पटकपटक कामबाट निकालियो ।’
सबै ठाउँमा काम बन्द भएपछि सुजनलाई घर फर्किनै पर्ने स्थिति आइपरेको भाइ सौजनले उल्लेख गरेका छन् ।
‘जब सबै ठाउँमा काम बन्द हुन थाल्यो, दाइ नेपाल फर्कनैपर्ने स्थिति आयो । तर लिएको ऋण र घरमा बिरामी बाबुको कारणले गर्दा उहाँले रुसको सैनिकमा भर्ना हुने सोच बनाउनुभयो । परिवारका कसैले पनि उहाँलाई रुसी सेनामा जागिर खान भनेको थिएन । आर्थिक दबाबका कारण दाइ बाध्य भएर रुसी सैनिकमा भर्ती हुनुभयो,’ सौजनले भनेका छन् ।
रुसी सेनामा भर्ती भइसकेपछि पनि सुरुसुरुमा भाइको फोन आउने गरेको सौजनले बताएका छन् । सौजनले भनेका छन्, ‘सुरुसुरुमा दाइले हामीलाई फोन गर्नुहुन्थ्यो । पछि ५/६ महिनापछि दाइ युद्धमा जानुपर्ने भएकाले फोन गर्न छाड्नुभयो । त्यसपछि करिब दुई महिनापछि एक जना युक्रेनी पत्रकारले बुबाको फोनमा ह्वाट्सएपमार्फत फोन गरे । त्यसपछि मेरो दाइको भिडियोहरू आउन थाल्यो । उनीहरूले नेपाल सरकारसँग दाइलाई फर्काउने विषयमा वार्ता गर्न तयार भएको बताउँदै सन्देश पठाए ।’
त्यसपछि दाइ सुजनको रिहाइका लागि आफू विभिन्न निकायमा धाएको सौजनले बताएका छन् । उनले भनेका छन्, ‘त्यसपछि म सहयोगको लागि जहाँजहाँ सकिन्छ सबै ठाउँ पुगें । विभिन्न कार्यालयहरू, नेताहरूका घर, सिंहदरबार, बालुवाटार पनि । तर अढाइ वर्ष बितिसक्दा पनि उनीहरू मेरो दाइलाई फर्काउन सकेका छैनन् र दाइको विषयमा कसैले पनि औपचारिक सूचना दिन पनि सकेका छैनन् ।’
रुसी सेनामा भर्ती भएर युद्ध क्षेत्रमा खटिएका बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन, मकवानपुरका ईश्वर लामिछाने, चितवनका सुजन सुवेदी र गोरखाका मदन कुमाल हाल युक्रेनी सेनाको नियन्त्रणमा छन् ।
सबै फोटोहरु सौजन सुवेदी
प्रतिक्रिया 4