+
+

निराश रामचन्द्र

सागर चन्द सागर चन्द
२०७९ पुष १० गते १९:३०

१० पुस, काठमाडौं । ‘हाम्रो हातबाट सबैथोक जान्छ कि भन्ने डर छ, के हुन्छ यो देशको अवस्था मलाई चिन्ता छ’ आइतबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निस्केर हिंडेपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले यस्तो टिप्पणी गरेका थिए ।

त्यो बेला कांग्रेसका अरु नेताहरु प्रचण्ड फेरि बालुवाटार नै फर्कने टिप्पणी गर्दै थिए । तर केही घण्टा नबित्दै राजनीतिक समीकरण रामचन्द्रले टिप्पणी गरेजस्तै भयो । एमालेको साथ पाएर प्रचण्ड प्रधानमन्त्री नियुक्त भए ।

संघीय सरकारसहित सातै प्रदेशमा कांग्रेस प्रतिपक्षी बेञ्चमा धकेलिएको छ । तर रामचन्द्रले गरेको टिप्पणीको अन्तर्य चाहिं मुलुक र कांग्रेस भन्दा पनि स्वयं उनकै राजनीतिक संभावना सकिन लागेको प्रति थियो ।

किनकि कांग्रेसले सत्ता मात्रै गुमाएको छैन, रामचन्द्रले राष्ट्रपति बन्ने संभावना पनि गुमाएका छन् । त्यसैले नजिक आइसकेको राष्ट्रपति पद गुमाउनुको पीडा रामचन्द्रले फरक भाषामा प्रकट गरेका थिए ।

कांग्रेसभित्र उनी राष्ट्रपतिको स्वाभाविक दाबेदार हुन् । माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको गठबन्धन निर्माणदेखि चुनावी अभियानको कमाण्डर समेत पौडेल नै थिए ।

चुनावी परिणामपछि पौडेलले आफूलाई प्रधानमन्त्रीको उम्मेदवार भनेका थिए । तर संसदीय दलको चुनाव हुँदा शेरबहादुर देउवालाई समर्थन गरेर पौडेलले राष्ट्रपतिमा बलियो दावेदारका रुपमा प्रोजेक्ट गरे । तर डेढ वर्षभित्रै गठबन्धन भत्किंदा पौडेलको सबै सम्भावना सकिएको छ । ‘संसदीय गणित र राजनीतिको साटो ज्योतिषको भर परेपछि राजनीतिक दुर्घटना भयो’, पौडेल निकटका एक नेता भन्छन् ।

कुनैबेला पार्टी नेतृत्वकै सम्भावित नेताका रुपमा हेरिने पौडेलको त्यो सम्भावना गएको वर्ष मंसिरमा सम्पन्न १४औं महाधिवेशनबाटै टुंगिएको थियो ।

२०७२ मा सुशील कोइरालाको निधनपछि कार्यवाहक सभापति बनेका पौडेल १३औं महाधिवेशनमा देउवासँग पराजित भए । १४औं महाधिवेशनमा आफ्नै गुटका नेताहरुको साथ नपाएपछि सभापतिको उम्मेदवार समेत बनेनन् । उनले महाधिवेशनमा मतदान नै गरेनन् ।

कुनै समय देउवाका कटु आलोचक मानिने पौडेल आफ्नो राजनीतिक जीवनको सफल अवतरणका लागि १४औं महाधिवेशन यता देउवालाई सघाइरहेका थिए । त्यसको मूल कारण पार्टी र सरकारको नेतृत्व गर्न नपाए पनि राष्ट्रपति बन्नु नै थियो ।

तर २०५१ मै सभामुख बनिसकेका पौडेलको पार्टी र सरकारको नेतृत्व गर्ने अवसर नजिक पुगेर बाहिरिएजस्तै नियति यसपटक पनि दोहोरिएको छ ।

पार्टी र सरकारको नेतृत्व गर्ने अवसर पौडेलले लगभग एउटै समयमा गुमाएका थिए । २०६४ मा कांग्रेस संसदीय दलको नेता रहेका पौडेलले २०६७ मा १७ पटकसम्म प्रधानमन्त्रीको उम्मेदवार बन्दा पनि बहुमत पाउन सकेका थिएनन् ।

तर बदलिएको कांग्रेस राजनीतिका कारण सभापति र प्रधानमन्त्री हुन नपाएका पौडेललाई यसपटक प्रचण्डले समेत राष्ट्रपतिमा सहयोग गर्ने आश्वासन दिएका थिए । ‘तपाईंको तल बसेर काम गर्दा मलाई पनि अनर फिल हुन्छ भन्नुभएको थियो’, प्रचण्डको भनाइ उद्धृत गर्दै पौडेल भन्छन् ।

तर, कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छोड्न नमानेपछि प्रचण्डको आश्वासनले समेत कुनै काम गरेन । त्यही कारण पौडेलको टिप्पणी छ, ‘आलोपालो नगर्ने भएपछि प्रचण्डलाई धोका भयो नि।’

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?