+
+
कविता :

फगत एक श्रमजीवी

सागर तिवारी सागर तिवारी
२०७९ पुष १२ गते १३:५६
Photo Credit : Pixabay

ऊ मेरो आदर्श, मेरो नेता, मेरो भरोसा,
कुद्छु दिनभरी उसकै पछि म
ऊ भन्छ लोकतन्त्र, जिन्दावाद भन्छु,
लुरुक्क पछि लाग्छु म
ऊ भन्छ समाजवाद, जिन्दावाद भन्छु,
बुरुक्क उफ्रिन्छु म
उसलाई चाहियो पहिचान सही हो भन्छु,
उसलाई चाहियो समानता त्यही हो भन्छु म ।

प्यारो छ उसलाई उसको धर्म,
म नि उही धर्मावलम्बी
उसलाई प्यारो छ आफ्नो सम्प्रदाय
म उसकै सम्प्रदायी
लाग्छ प्यारो उसलाई परम्परा,
मेरो नि परम्परा उही
ऊ राष्ट्रवादी, प्राण भन्दा लाग्छ प्यारो मलाई नि
ऊ विकासवादी, पसिना चुहाउन तयार छु म पनि
ऊ जानकार, ऊ विज्ञ,
उसकै कुरा सुन्छु म दिनभरी ।
राजावाद, जनवाद, बहुलवाद अनेक वाद उपवाद
उसकै वादहरूकाका पछि नतमस्तक भएर लाग्छु म ।

सागर तिवारी

ऊ गर्छ कुरा जलवायु परिवर्तनका,
सिँचिदो हो पाखो बेलैमा परे पानी
ऊ गर्छ देशमै रोजगारीका कुरा,
मसँगै हुँदा हुन् सन्तान मेरा नि ।
ऊ भ्रष्टाचार विरोधी, म उसकै अनुयायी
ऊ सदाचारी, म उसकै सहयोगी ।

खुसी छु आज अचम्मै म,
उसको छ जित जो भएको
पुग्नु छ अझ माथि,
नेता बन्नु छ उसलाई,
गुट अनि देशको ।
गर्छ औधी माया ऊ नि मलाई, मेरो खुसी देख्ने,
मसँगै रमाउने उसको नि चाहना
तर फुर्सद छैन उसलाई मेरा कुरा सुन्ने,
किनकि उसलाई त छ देश जो बनाउन ।
चाहना एक मात्र मेरो,
स्वाभिमानी भएर बाँच्ने आफ्नै श्रमपसिना
सक्तिनँ सुनाउन म नाथेका स्वार्थी कुरा,
महान लक्ष्यबाट उसलाई विचलित गराउन ।

हल्का थकित छु, दिनभर रमाएँ
उसको जो विजय उत्सवमा
चुहिएको छानो, भिजेको चुलो सक्दिनँ बाल्न म ।
टाल्नु छानो भन्दा उत्तम,
हिंड्छु उसकै महान अभियानमा
छ आफ्नो घाउ आफैसँग,
फेर्न नि सक्तिनँ कोल्टे म ।
उपचार अभावमा अस्ताएकी उनीसँग
अनन्त मिलनको रमाइलो कल्पनामा
पिउछु आँसु, तृप्तिन्छु म,
निदाईदिन्छु सदाका लागि चिर निद्रामा !
फगत एक श्रमजीवी !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?