+
+

ठमेल क्षेत्रका बिजुलीको पोलमा झुन्ड्याइएका अव्यवस्थित तार धमाधम हटाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते १५:२०

१३ पुस, काठमाडौं । काठमाडौंको ठमेल क्षेत्रमा बिजुलीका पोलमा अव्यवस्थित रुपले झुन्ड्याइएका केबल टेलिभिजन, इन्टरनेट, टेलिफोन लगायतका तार तथा उपकरणहरुलाई व्यवस्थित गर्ने अभियान सुरु गरिएको छ ।

ठमेल पर्यटन विकास परिषद्को सक्रियता, नेपाल विद्युत प्राधिकरण र केबल तथा इन्टरनेट सेवा प्रदायकहरुको सहभागितामा ठमेल क्षेत्रलाई सुन्दर बनाउन अव्यवस्थित रहेका तारहरुलाई हटाउने र व्यवस्थापन गर्ने काम अभियानकै रुपमा सञ्चाालन गरिएको हो ।

विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, केबल पोलमा जथाभावी झुण्डयाइएका उपकरणहरुका कारण पर्यटकीय क्षेत्र ठमेल कुरुप बनेको थियो ।

प्राधिकरणले गत कात्तिकमा आगलागी लगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन र शहरी सुन्दरता समेत कायम राख्न दूरसञ्चार, केबल टिभी र इन्टरनेट सेवा प्रदायकहरुलाई आफ्नो संरचना निर्माण/व्यवस्थापन गर्न ४५ दिने समयसीमा दिएको थियो ।

सोही अन्तर्गत ठमेल क्षेत्रका अव्यवस्थित तार तथा उपकरणहरु हटाउन सुरु गरिएको हो । ठमेल क्षेत्रमा लाइन सफा गर्ने सिलसिलामा ४८ ट्रक अव्यवस्थित र काम नलाग्ने तार तथा उपकरणहरु निकालिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मालगायत सम्मिलित उच्चस्तरीय टोलीले बुधबार ठमेल क्षेत्रमा तार व्यवस्थापनका लागि भइरहेको कामको अनुगमन गरेको छ ।

घिसिङले विद्युतको नाङ्गो तारलाई फेर्ने, बाङ्गो र मक्किएका पोलहरु हटाएर राम्रा पोलहरु राखी पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउने अभियानमा साथ दिइने बताए ।

‘अव्यवस्थित तारको गुजुल्टोको कारण सहर कुरुप बनेको छ, आगलागी भई धनजनको क्षति भएको छ, हाम्रो सेवा पनि प्रभावित भएको छ, सहरी सौन्दर्यता कायम गर्न विद्युतीय दुर्घटनालाई न्यूनीकरणका लागि हाम्रा संरचनामा राखिने विभिन्न सेवा प्रदायकका तार तथा उपकरणहरुका लागि मापदण्ड तयार गरी व्यवस्थापन गर्न लागिएको हो,’ घिसिङले भने, ‘मुख्य शहरी क्षेत्रको सौन्दर्यता कायम गर्न अव्यस्थित तारलाई व्यवस्थित बनाउने काम देशभरी नै सञ्चालन गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?